आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

झिँगाको मस्तिष्कले मानव सोच प्रक्रियामा पारेको प्रकाश

झिँगाको मस्तिष्कले मानव सोच प्रक्रियामा पारेको प्रकाश

उनीहरू हिँड्न सक्छन्, हावामा तैरिरहन सक्छन् र उनका भालेले पोथीलाई फकाउन प्रेमगीत समेत गाउँछन् – यी सबै तिनको सानो मस्तिष्कको कमाल हो ।


  • पल्लव घोष
  • कार्तिक १४ २०८१, बुधबार

अब पहिलोपटक झिँगाको मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूले त्यहाँ भएका सम्पूर्ण १३०,००० कोष तथा ५ करोड सम्पर्क सञ्जालको स्थिति, आकार एवं सम्पर्क पहिचान गरेका छन् ।
कुनै वयस्क जनावरको मस्तिष्कको यति विस्तृत विश्लेषण गरिएको यो पहिलो हो ।
अध्ययनमा संलग्न नभएका एकजना अग्रणी मस्तिष्क विशेषज्ञले यसको नतीजालाई हाम्रो आफ्नै मस्तिष्कबारे बुझ्ने सन्दर्भमा ‘ठूलो प्रगति’ भनेका छन् ।
अध्ययनमा संलग्न भएका एकजना अनुसन्धाताले चाहिँ पछिल्ला नतिजाले मस्तिष्कको ‘सोच्ने संयन्त्र’मा नौलो प्रकाश पार्ने बताए ।
क्याम्ब्रिजको मेडिकल रिसर्च काउन्सिलको ल्याब अफ मलिक्यूलर बायोलजी (एलएमबी)का डा. ग्रेगरी जेफ्रिसले बीबीसी न्यूजसँग बोल्दै हाल हाम्रा मस्तिष्कभित्रका कोष तथा सञ्जालले कसरी हामीलाई एकअर्काबीच अनि बाँकी विश्वसँग अन्तरक्रिया गर्न सक्षम गराउँछन् भन्ने थाहा नभएको बताए ।
उनले भने, “ती कस्ता सम्पर्क सञ्जाल हुन् ? कसरी तपाईँको अनुहार चिन्न र मेरो आवाज तपाईँले सुनेर ती ध्वनि संकेतलाई विद्युतीय संकेतमा बदल्ने काम हुन्छ ?”
“झिँगाको मस्तिष्कको नक्साङ्कन साँच्चिकै गजबको छ र यसले हामीलाई हाम्रै मस्तिष्क कसरी काम गर्छन् भनेर पनि बुझ्न सघाउँछ ।”
अध्ययन गरिएको फ्रुट फ्लाइको मस्तिष्कको तुलनामा मानव मस्तिष्कमा दश लाख गुना धेरै कोष वा न्यूरोन हुन्छन् । उसोभए उक्त किराको मस्तिष्कभित्रको कोषहरूको सञ्जालको अध्ययनले हाम्रो सोच प्रक्रिया बुझ्न कसरी सघाउँछ ?
नेचर जर्नलमा प्रकाशित वैज्ञानिकहरूले उतारेको चित्रले झिँगाको मस्तिष्कभित्र रहेको सञ्जाल जति सुन्दर उति नै जटिल रहेको देखाएको छ ।
यसको आकार र संरचनाले त्यति सानो जीवले कसरी कैयन् शक्तिशाली कम्प्युटेशनल कार्यहरू गर्न सक्छ भन्ने जबाफ दिन्छ । उक्त किराले जत्तिकै काम गर्न सक्ने त्यति सानो आकारको कम्प्युटर बनाउन आधुनिक विज्ञान सक्षम छैन ।
प्रिन्सटन युनिभर्सिटीमा कार्यरत तथा उक्त अध्ययन कार्यकी अर्की सह–नेता डा. माला मूर्तिले नयाँ सञ्जाल चित्र, जसको वैज्ञानिक नाम कनेक्टोम हो, ‘स्नायु वैज्ञानिकहरूका निम्ति परिवर्तनकारी’ हुने बताइन् ।
“यसले अनुसन्धानकर्ताहरूलाई एउटा स्वस्थ्य मस्तिष्कले कसरी काम गर्छ भनेर बुझ्न सघाउँछ । भविष्यमा हामीले मस्तिष्कमा गडबड भए के के हुन सक्छ भनेर पत्ता लगाउन सक्ने आशा राखेका छौँ ।”
उक्त दृष्टिकोणलाई लन्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिट्यूटमा मस्तिष्क अनुसन्धान गर्ने समूहकी अगुवा डा. लुसिया प्रियटो गोडोले समर्थन गरिन् ।
“अनुसन्धानकर्ताहरूले जम्मा ३०० सम्पर्क सञ्जाल भएको एउटा साधारण जीव तथा ३००० भएका म्यागटको कनेक्टोम त बनाएका थिए तर यो त १३०,००० सम्पर्क सञ्जाल भएको झिँगाको कनेक्टोम हो जो आफैँमा गजबको प्राविधिक उपलब्धि हो । यसले थप ठूला मस्तिष्क जस्तो मुसाको कनेक्टोम बनाउन वा केही दशकभित्र मानिसकै कनेक्टोम बनाउने बाटो खोल्छ ।”
अनुसन्धानकर्ताहरूले विशिष्ट कार्यहरूका निम्ति प्रयोग हुने भिन्नाभिन्नै सम्पर्क सर्किटको पहिचान अनि ती कसरी जोडिएका छन् भनेर पत्ता लगाएका छन् ।
चालसम्बन्धी कार्य मस्तिष्कको मुन्तिर रहेको सञ्जालले नियन्त्रण गर्ने अनि दृष्टिसम्बन्धी कार्य छेउपट्टि रहेका सञ्जालले नियन्त्रण गर्ने उनीहरूले पत्ता लगाए । साथै दृष्टिसम्बन्धी कार्यमा निकै धेरै न्यूरोनहरू संलग्न रहेको पाइयो किनकी त्यसमा धेरै कम्प्युटेशनल क्षमता आवश्यक हुन्छ ।
छुट्टाछुट्टै सर्किट हुन्छन् भनेर त वैज्ञानिकहरूलाई पहिला पनि थाहा थियो तर उनीहरूलाई ती सर्किट एक आपसमा कसरी गाँसिएका हुन्छन् भन्ने थाहा थिएन ।

झिँगा धपाउन किन गाह्रो हुन्छ ?
अरू अनुसन्धानकर्ताहरूले यी नक्साङ्कन हेरेर किन झिँगा धपाउन हामीलाई गाह्रो हुने गर्छ भन्नेबारे अध्ययन गर्न थालिसके ।
दृष्टिसम्बन्धी सर्किटले तपाईँले अखबार रोल गरेर कतापट्टिबाट हिर्काउन लाग्नु भयो भन्ने सूचना झिँगाको खुट्टालाई दिइहाल्छ ।
अझ महत्वपूर्ण के भने सञ्जालले तिनलाई तत्कालै दिशा बदलिहाल्ने निर्देशन दिन्छ । अर्थात् सोच्दा पनि नसोच्दै ती झिँगा अन्यत्र मोडिइन्छन् – सोच्ने गतिमा तीव्र रफ्तारमा ।
यसबाट मानिसले किन विरलै झिँगालाई धपाउन सक्छन् भन्ने बुझ्न सकिन्छ ।
झिँगाको मस्तिष्कको नक्साङ्कन गर्न एउटा सूक्ष्म चक्कुको प्रयोग गरियो जसले ७ हजार स्लाइस वा टुक्रामा मस्तिष्कलाई काट्यो र त्यसलाई डिजिटलरूपमा सँगै राखेर अध्ययन गरियो ।
प्रिन्सटन युनिभर्सिटीका टोलीले आर्टिफिशल इन्टलिजेन्सको समेत प्रयोग गरेर ती न्युरोनको अध्ययन ग¥यो । तर एआईले गरेको काममा गल्ती भएपछि मानिसहरू नै लागिपरेर त्यो सच्च्याएका थिए ।
“तर त्यो नक्सा केवल कुनै सादा गुगल नक्सा जस्तो मात्र थियो । जबकी न्युरोनको कामको व्याख्या गर्नु भनेको चाहिँ त्यसमा ठाउँको नाम, सम्पर्क ठेगाना र नम्बर एवं समीक्षा थप्ने काम जस्तो रह्यो । यी दुवै काम भएपछि मात्र अर्थपूर्ण हुन्छ,” एलएमबीका डा. फिलिप स्लेगलले भने ।
झिँगाको कनेक्टोम जोसुकै वैज्ञानिकको पहुँचमा हुने र तिनले तिनको अध्ययनमा प्रयोग गर्न सक्ने गरी उपलब्ध गराइएको छ ।
डा. स्लेगलको विश्वास छ यसले स्नायु विज्ञानको क्षेत्रमा ‘आगामी केही वर्षहरूमा थुप्रै नयाँ अन्वेषणहरू हुनेछन् ।’
तर अनुसन्धानकर्ताहरू ठान्छन् ३० वर्ष जतिमा मानिसको मस्तिष्कको कनेक्टोम पनि बनाउन सकिनेछ । झिँगाको मस्तिष्कले हाम्रा मस्तिष्क कसरी काम गर्छन् भन्ने बारे नयाँ, गहिरा बुझाइको सुरुवात गर्ने उनीहरू ठान्छन् ।
यो अनुसन्धान फ्लाइवायर कन्सोर्सियम भनिने अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एक विशाल सहकार्यबाट गरिएको थियो ।
–बीबीसीबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->