पृष्ठभूमि
पोखरा महानगरपालिका भौगोलिक हिसावले मुलुककै ठुलो महानगर, गण्डकी प्रदेशकाे राजधानी, कास्की जिल्लाकाे सदरमुकाम, पर्टयटकीय राजधानी र गण्डकी प्रदेशको एक महत्वपूर्ण आर्थिक केन्द्रको रूपमा रहेको छ।
पोखरा महानगरपालिकाको बर्तमान क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. छ I पोखरा महानगरको भू-उपयोगको दृष्टिले कृषि र वनले क्रमश: ४१.०५% र ४२.३०% भू-भाग ओगोटेको छ भने बाँकी भागमा जलक्षेत्र (४.२७%), ब्यबसायीक क्षेत्र (१.२%), आवास क्षेत्र (६.२९%), तथा सार्बजनिक उपयोग र अन्य क्षेत्र (४.८%) रहेको छ ( पोमनपा भू-उपयोग गणना, २०७८) ।
राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको कुल जनसंख्या ५१३,५०४ रहेको तर करीव सवा लाख मानिस पोखरा बाहिर रहेको अनुमान गरिन्छ । साथै पोखरामा वार्षिक रूपमा करिव ६ लाख आन्तरिक र ५ लाख बाह्य गरी ११ लाख पर्यटक आउने बताइन्छ (पोमनपा आर्थिक बिकास शाखा, २०८०) । तसर्थ पोखरा मनपाले बार्षिक करिव १५ लाख मानिसका लागि सार्बजनिक बस्तु तथा सेवा प्रबाहको प्रबन्ध गर्नु पर्ने अवस्था देखिन्छ। यो भनेको कृषि उपज देखि यातायात, स्थानीय घरेलु र औधोगिक उत्पादनका बस्तु र आतिथ्य सेवाको माग हो । यी मध्ये स्थानीय स्तरमा उत्पादित कृषि उपजको उपलब्धता प्रमुख हो। तर के पोखरा उपत्यका भित्र कै कृषि उत्पादनले यहाँको माग आपूर्ति गर्न सकेको छ त ? यसको विश्लेषण गर्न जरूरी छ । यस लेखमा पोखरा महानगरपालिकाको कृषि उत्पादन र यससंग जोडिएका बिषय बस्तुको मोटामोटी चर्चा गरिएको छ ।
पोखरा महानगरपालिकामा कृषिको बर्तमान भू-उपयोगको अवस्था
बि.सं. २०७८ को कृषि गणना अनुसार पोखरा मनपामा कुल ३७,१५६ कृषक परिवार रहेका छन् । कुल ११,१४५ हेक्टर जमिन उपयोग गरिएको मध्ये खेतीयोग्य जमिन ८,९७४ हेक्टर रहेको छ । यसमध्ये ८,३९५ हे. जमिनमा बार्षिक मौसमी बालीहरू (जस्तै धान, मकै, कोदो, गहुँ, तरकारी आदि) लगाइन्छ भने ७८५ हे. मा फलफूल जस्ता स्थायी प्रकारका बालीहरू लगाइएको छ I स्थायी चरिचरन, निजी वन, पोखरी आदि १,३८७ हे. छन् भने अन्य बिभिन्न प्रकारका खेती गरिएका जमिन ५७८ हे. रहेको छ (पोमनपा आर्थिक बिकास शाखा, २०८०) । बि.सं. २०७७ यता बिभिन्न समयमा भू-उपग्रहले गरेको फोटोहरूका बिश्लेषण अनुसार पोखरा मनपाको मूल सहरी क्षेत्रका १० वटा वडाहरू बाहेक अन्य वडाहरूमा कृषि र बनमा आधारित उद्यम ब्यबसायको निम्ति प्रसस्त सम्भावना देखिन्छ । भू-बनोट, हावापानी र सिंचाई उपलब्धताका कारण यहाँको कृषि उत्पादकत्व सन्तोषजनक नै देखिन्छ । तर पोखरा उपत्यकाको समथर फाँटहरूमा जग्गा प्लटिंग भई जमिन खण्डिकरण हुँदै गएको छ I यसका साथै नेपाल सरकारले जारी गरेको भू-उपयोग नियमावली २०७९ अनुसार पोखरा महानागरपालिकाले जमिनको कृषि र गैर-कृषि गरी दुई समुहमा बर्गिकरण गरे पछि यहाँको उर्बर कृषि योग्य जमिनका धेरै भाग गैर-कृषि बर्गमा राखिएकाले यहाँको कृषिको क्षेत्र करिब २०-२५% ले घट्दै गई रहेको अनुमान गरिएको छ I तसर्थ पोखरा उपत्यका भित्र कृषिको निम्ति यो एक गम्भीर चुनौती रहेको छ ।
पोखरा मनपामा बिभिन्न बालीको उत्पादन स्थिति
पोखरा उपत्यका परम्परागत रूपमा एक कृषि भूमि हो । यहाँका फाँटहरूमा बिभिन्न रैथाने जातका धान खेती गरिने गरिन्थ्यो । यहाँका जेठोबुढो, पहेंले, झिनुवा, गुर्दी, अनदी, समुद्रफिंज जस्ता धान र अन्य धेरै थरीका धानका जातहरू लगाइने गरिन्थे । बर्तमानमा अधिकांश रैथाने धानहरू लोप भए वा लोप हुने क्रममा छन् । यहाँको प्रख्यात धान जेठोबुढो अहिले पनि प्रख्यात छ र यसको केहि गुण सुधारिएको जातको खेती बिस्तारै बढ्दो छ । त्यस्तै यहाँ अन्य बालीहरू जस्तै स्थानीय मकै, कोदो, काउनो, काँक्रा, घेरौंला, पिंडालु लगायत अन्य बालीका धेरै प्रकारहरु लगाइन्छन् । पछिल्लो ३-४ दशक देखि बिभिन्न बालीका उन्नत जातहरू, हाइब्रिड आदिको खेतीको बिस्तार हुने क्रम बढेको छ । फलफूलमा यहाँको सुन्तला पनि प्रख्यात नै हो । हाल बिभिन्न प्रकारका फलफूलहरुको खेती पनि बढेको छ । बिभिन्न प्रकारका मौसमी र बेमौसमी तरकारी खेती पनि बढ्दो छ । प्लास्टिक टनेल र हाई-टेक प्रविधिबाट तरकारी खेती गर्न पनि सुरू भै सकेको अवस्था छ । पोखराका तालतलैयामा बिभिन्न प्रकारका माछापालन र बिशेष गरी केहि सिमित स्थानका चिसो बग्दो पानीमा ट्राउट माछापालन पनि प्रख्यात भै सकेको छ । तर यहाँका शहर र अन्य स्थानीय रैथाने जातका माछाहरु बिस्तारै लोप हुने क्रममा छन् ।
हाल पोखरा महानगरपालिका भित्र लगाइने बिभिन्न कृषि बस्तुको क्षेत्रफल, उत्पादकत्व र उत्पादन २०७९/८० आबको तथ्यांक अनुसार निम्नानुसार रहेको छ :

पोखरा महानगरमा सिंचाई प्रणाली :
कृषिका लागि सिंचाइ प्रयासहरुको इतिहास केलाउँदा नेपालको सवैभन्दा पुरानो नहरका रुपमा वि.सं. १९८५ मा बनेको चन्द्र नहरलाई मानेको पाइन्छ । तर पोखरामा स्थानीय समुदायको पहलमा चौरासी विरुवामा त्यो भन्दा करिव ढेड सयवर्ष अगाडी अर्थात् बि.सं. १८४१ मा नै फेवामा बाँध हालेर नहर बनाइएर खेतमा सिंचाई गरिएको तथ्य पनि छ । यो हिसावले ज्ञात इतिहासमा नेपालको जेठो नहरका रुपमा पोखराको चौरासी विरुवाको नहर ऐतिहासिक मान्नुपर्ने हुन्छ । पोखराका यस्ता ऐतिहासिक र अन्य किसिमका सिंचाई प्रणालीहरू पर्यटकीय सहर पोखरामा भ्रमणमा आउने कृषकहरूलाई कृषि पर्यटनको रूपमा अवलोकन गर्ने स्थानको विकास गर्न लघुसिंचार्ईका विभिन्न नमुना सहित “सिंचार्ई सङ्ग्रहालय” निर्माण गर्ने नयाँ प्रेरणाको विषय स्थापित हुन सक्छ । नेपालको धेरै पानी पर्ने पोखरामा २०१२ सालमा मर्मत गरिएको विजयपुर नहर तथा २०१७ सालमा बनेको हेम्जा सुइंखेतको चौरासी कुलो पनि ऐतिहासिक कृषि सम्पदा हुन पुगेका छन् ।
पोखरा महानगरपालिकाका ३३ वडाहरूमा साना ठुला गरी कुल ५० बटा सिंचाई प्रणालीहरू छन् । तर ती मध्ये कृषि उत्पादनमा सक्रिय भएका वडाहरूमा सिंचाई प्रणाली सक्रिय देखिन्छन् भने उपभोक्ता केन्द्रित बजार क्षेत्रका सिंचाई अभ्यासहरू निष्क्रिय हुँदै गरेका छन् (Subedi, et.al. 2022) ।
पोखरा उपत्यकाका मैदानी क्षेत्रमा नदी तथा खोला र तालहरुको श्रोतबाट सिंचाइ कुलो प्रणाली संचालन हुँदै आएका छन् भने घारी क्षेत्रहरुमा नदी प्रणालीबाट बाँध बनाएर, वर्षाकालको मुल र जरुवाबाट संकलन गरेर घारीहरुमा सिंचाइ गर्ने प्रणाली छ । यसैगरि लेकाली बारी र टारीहरुमा वर्षाकालमा पलाएको मुलको पानी, वर्षाको भल छोपुवा र पोखरीमा संकलीत पानीबाट सिंचाइ हुदै आएको पाइन्छ । तर यहाँका सिंचाई प्रणालीहरूमा बिभिन्न चुनातिहरू रहेका छन् । प्रमुख चुनौतीहरू यस प्रकारका छन् : (क) मर्मतको समस्या; (ख) बजेटको श्रोतको अभाव; (ग) जल उपयोग द्वन्द व्यवस्थापनको नीति नहुनु; (घ) कुलोदर्ता गर्न कठिनाइ हुनु; (ङ) नहर मिचेर बाटो—घडेरी बनाउने क्रम नरोकिनु; (च) पानीको उचित बाँडफाँड नीति नहुनाले तल्लो तटीय सिंचाईको हित व्यवस्थापन गर्न चुनौती; (छ) पानी पोत व्यवस्थापनमा चुनौति; (ज) नहरमा ढल मिसिनु, प्लास्टीकजन्य फोहर प्रदुषण बढनु; (झ) सहर भित्रबाट हिडने नहरका खेत गोड्न कृषकका लागि लागत बढ्नु आदि ।
पोखराको कृषि योग्य जमिन तथा करेसावारी सिंचाइका लागि केही सम्भावनाहरू
क. लिफ्टिङ्ग प्रणाली : खेत, टारी, पाखावारी क्षेत्रमा धान, हिउँदेबाली र तरकारी खेतिका लागि
ख. पाइपलाइन र डुढ प्रणाली : खेत, टारी क्षेत्रमा धान, हिउँदेबालीका लागि
ग. लघु सिंचाइ (थोपा सिंचाइ) प्रणाली : तरकारी खेति योग्य करेसाबारी तथा कौसी खेतिका लागि
घ. सडक किनार कुलो÷नाली प्रणाली : भलपानीलाई रिचार्जमा रुपान्तरण गर्नका लागि
ङ. परम्परागत कुलो—कुवा पुनरुत्थान प्रणाली : पानी भकारी पुनरभरणका लागि
च. आधुनीक नहर प्रणालीको उपयोग बढाउन लिफिटीङ्ग गरी कौसी, करेसा सिंचाइमा प्रेरित गर्ने,
र भुमि रिचार्ज बढाउने
छ. जलाधार तथा सिमसार प्रणालीमा बोरिङ्ग फिट गरेर धुम्ती सिंचाइ प्रणाली बढाउने
ज. जलाशय पुनरभरण प्रणाली : पानी भकारी पुनरभरण र साना मुल तथा लघु सिंचाइ दिगो बनाउनका
लागि
झ. भूमिगत जलसिंचाइ प्रणाली : सतही सिंचाइको खर्च न्युनिकरण र साना सिंचाइ दिगो बनाउनका
लागि
ञ. आकासेपानी संचयन प्रणाली : पानी भकारी पुनरभरण र साना मुल तथा लघु सिंचाइ दिगो बनाउनका
लागि
उपरोक्त सम्भावनाहरूलाई कार्यान्वयनमा ल्याउन सके पोखरा उपत्यका भित्र बर्षको अधिकांश अवधि कृषिका लागि सिंचाई उपलब्ध हुने र यहाँको कृषिमा उत्पादकत्व र उत्पादन बढ्ने प्रसस्त सम्भावना रहेको छ ।
पोखरा महानगरपालिकामा कृषि बस्तुको आवश्यकता र उत्पादनको आधारमा उपलब्धता

उपरोक्त तथ्यांकबाट यो पृष्ठ हुन्छ की पोखराको ५ लाख १३ हजार जनसंख्या मध्ये यदि १ लाख १३ हजार व्यक्ति पोखरा बाहिर रहेको अनुमान गरिएको खण्डमा बाँकी ४ लाख व्यक्तिका लागि तरकारी र यहीं उत्पादन हुने फलफूल बाहेक अन्य प्रमुख खाध्यान्न अपुग हुने देखिन्छ ।
त्यस्तै यदि पोखरा भ्रमण गर्न आउने ११ लाख आन्तरिक र बाह्य पर्यटकहरू समेत गरी कुल १५ लाख मानिसका लागि हिसाब गर्दा तरकारी बाहेक अन्य सबै खाध्यान्न र फलफूलमा पोखरालाई यहींको उत्पादनबाट धेरै नै अपुग हुन्छ । त्यसैले पोखरामा देश भित्र र बाहिरबाट प्रसस्त खाद्यान्न आयात हुनु स्वाभाविक मान्न सकिन्छ। तर यहि भित्र तरकारीको उत्पादन आवश्यकता भन्दा बढी उत्पादन हुने भए तापनि पोखरा उपत्यकाका कृषकहरूको तरकारी न त बजारमा पूर्णरूपमा बिक्रि हुन्छ न त उनीहरूले उचित मूल्य पाउने गरेका छन् । यसको मुख्य कारण तरकारी र फलफूल व्यापारमा बिचौलियाहरू र भारतबाट आयात गरिने तरकारी तुलनात्मक रूपमा पोखरा कै उत्पादन भन्दा सस्तो मूल्यमा बिक्रि हुनु हो । यसबाट यहाँका साना किसानहरू निरुत्साहित बन्ने गरेका छन्। तर पोखरा महानगरपालिकाले बजार मूल्य भन्दा कम मूल्य पाएको खण्डमा केहि कृषि उत्पादन बस्तुको न्युनतम समर्थन मूल्य तोकी त्यस्ता कृषकहरूलाई फरक मूल्य दिने नीति ल्याएकोले कृषकहरूलाई केहि हद सम्म भए पनि राहत महसूस भएको पाइन्छ ।
पोखरा महानगरपालिका भित्र कृषिका थप सम्भावनाहरू
१ जैविक/प्राङ्गारिक खेति (Organic Farming)
जैविक/प्राङ्गारिक खेति भनेको कुनै पनि प्रकारका रासायनिक मल, बिषाधि (कीटनाशक, ढुसीनाशक, रोगनाशक औषधिहरू, रङ्गहरू), आनुवंशिक रूपमा परिमार्जित गरिएका बीउहरू (Genetically Modified Organisms – GMOs) र अन्य कुनै पनि प्रकारका रासायनहरूको प्रयोग बिना खेति गरिने एक दिगो कृषि प्रणालीमा जोड दिइने कृषि उत्पादन बिधि हो । यस विधिबाट उत्पादित कृषि बस्तुहरू स्वस्थ्यकर हुन्छन् । यस विधिमा माटोको स्वास्थ्य कायम राख्न, कम्पोष्टिङ र जैविक विविधता बढाउन र पौष्टिक खाद्य उत्पादन गर्न बालीचक्र, हरियो मल र जैविक कीट/औषधि द्वारा रोगकीराको नियन्त्रण गर्ने जस्ता प्राकृतिक विधिहरू प्रयोग गरिन्छ । जैविक खेति दिगो कृषिको लागि महत्त्वपूर्ण छ किनभने यसमा वातावरण मैत्री, सामाजिक रूपमा समतामूलक, र आर्थिक रूपमा व्यावहारिक खाद्य प्रणाली सिर्जना गर्ने क्षमता छ । जैविक / प्राङ्गारिक खेतीले प्राकृतिक रूपमा कीरा र रोगहरू नियन्त्रण गरेर माटोको स्वास्थ्यलाई बढावा दिन्छ र माटोको उर्वरता र संरचनालाई कायम राख्न मद्दत गर्दछ । यसबाट माटोमा जैविक पदार्थ बढाउँछ, जसले सूक्ष्मजीवहरूको समृद्ध पर्यावरणलाई बृद्धि गर्दछ । यस विधिले जैविक विविधतामा बृद्धि गर्छ, लाभदायक कीरा र सूक्ष्मजीवहरूको संरक्षण गर्छ र पारिस्थितिक सन्तुलन कायम राख्न मद्दत गर्दछ । यसबाट पानीको गुणस्तरमा सुधार हुन्छ । रसायनको प्रयोग नगर्दा वायु र जल प्रदूषण तथा वातावरणमा नकारात्मक प्रभावमा न्यूनीकरण गर्दछ ।
पोखरा सहर एक प्रमुख कृषि उपजको उपभोक्ता केन्द्र हो । पोखरा भित्रका सहरी बासिन्दाका लागि मात्र नभई यहाँका सयौँ ठूला होटलहरूमा बस्न आउने लाखौँ पर्यटकहरूका लागि बिभिन्न प्रकारका ताजा तरकारीहरू आवश्यक पर्दछन् । यसका लागि हाल देश भित्र र छिमेकी देश भारतबाट ठुलो मात्रामा तरकारी आयात हुने गरेको छ । अधिकांश त्यस्ता तरकारीहरू त्यति स्वस्थ्यकर पाइन्दैनन् I पोखरा र देशका अन्य क्षेत्रमै पनि तरकारी वालीमा बिषादीको प्रयोग हुने गरेको छ I यस्ता तरकारी बारे अधिकांश उपभोक्ताहरू सचेत भएका छन्। त्यसैले पोखरा उपत्यका भित्र जैविक/ प्राङ्गारिक तरकारी उत्पादन र बजारको उच्च माग छ । हाल पोखरा उपत्यकामा केहि सिमित रूपमा लगाइने प्राङ्गारिक तरकारी खेतीलाई विभिन्न प्रकारका मौसमी र बेमौसमी तरकारी खेति विस्तार गर्ने प्रचूर सम्भावना छ । कृषकहरूलाई उच्च मूल्यको तरकारी बालीहरू जस्तै बेबीकर्न, ब्रोकाउली, कुरिलो, हरियो केराउ, सिमी, जुकिनी,स्थानीय जातका काँक्रा,शिताके च्याउ, मूला,गाजर,बिभिन्न प्रकारका हरियो सागहरू, हरियो सलादहरू (सेलरी, लेटुस आदि) जस्ता उत्पादन गर्न प्रोत्साहन गरिनु पर्दछ ।
२ फलफूल खेती
पोखरा उपत्यका भित्र भौगोलिक उँचाइ र शुक्ष्म जलवायुमा विविधताका कारण यस क्षेत्रमा विभिन्न प्रकारका फलफूल खेति गरि तुलनात्मक लाभ लिन सकिन्छ । यहाँ केहि क्षेत्रमा पहिले देखि नै सुन्तला, कागती खेती गरिएका छन् I यसका साथै यहाँ अन्य प्रकारका फलफूल खेती जस्तै एभोकाडो र ड्र्यागन फ्रुट जस्ता नयाँ प्रकारका फलफूलको पनि खेति सुरू भै सकेको छ I साथै यहाँ किवी खेती र अन्य प्रकारका फलफूल खेति गर्न सकिने सम्भावना रहेका छन् । तथापि खेति गरिएका र अन्य केहि फलफूल खेति सम्बन्धि तल केहि थप जानकारी दिने प्रयास गरिएको छ I
१. अमिलो बर्गका फलफूल खेती (Citrus Fruit Cultivation) र सिट्रस जेस्ट उत्पादन
कास्की जिल्लामा सुन्त्तला खेतिको इतिहासै छ I कुनै बेला पोखराको बाटुलेचौरको सुन्तला नेपाल मै प्रसिद्ध थियो I तर यहाँका सुन्तलाका रूखहरूमा रोगका कारण पुरै सुन्तला बगैंचा सखाप भयो I हाल केहि दशक देखि कास्की जिल्लाका अन्य ठाउँहरूमा सुन्तला खेतिको पुन: सुरूवात भएको छ र राम्रै उत्पादन हुने गरेको छ I केहि समय देखि यहाँ सुन्तला, कागती र अरू अमिलो बर्गका फलफूलहरू लगाउने कार्य भएको छ I केहि पकेट क्षेत्रमा यसको व्यावसायिक/अर्धव्यावसायिक रूपमा खेती गरिदै आएको छ । यो खेती कृषकहरूको आम्दानीको एक मुख्य स्रोत पनि बनेको छ । कास्की जिल्लाका बिभिन्न क्षेत्रमा सुन्तला, कागती, निबुवा लगायत अन्य अमिलो बर्गका फलफूल खेती बिस्तार गर्न सम्भावना रहेको छ ।
अमिलो जातका फलफूल, बिशेष गरी सुन्तला र कागती, प्रशस्त उत्पादन हुने भएकाले पोखरा उपत्यकामा यी फलका बोक्राबाट जेस्ट (Zest) उत्पादन गर्न सकिने सम्भावना देखिन्छ । प्रयोग गरिएका सुन्तला र कागतीका बोक्रा संकलन गरी माइक्रो स्केल प्रशोधन बिधि द्वारा जेस्ट बनाउन सकिन्छ । जेस्ट अमिलो जातको फलको बोक्राको बाहिरी रङको भाग हो, र यो एक उत्कृष्ट स्वादयुक्त बस्तु हो । यसलाई प्राय: केक र सलाद ड्रेसिङमा प्रयोग गरिन्छ ।
२. किवी खेती:
किवी एक उच्च पौष्टिक र औषधिय गुण भएको फलफूल बाली हो, जुन समुद्र सतहबाट १,००० मिटर देखि २,५०० मिटर सम्मको उँचाइमा ढलान जमिनमा अंगूरको बोटहरू जस्तै लहरामा फल्दछ । किवी फलहरू ताजा खान वा सलाद र डी डिजर्टहरूमा पनि प्रयोग गर्ने गरिन्छ । नेपालको मध्य पहाडी क्षेत्रमा किवी खेती हालैको अभ्यास हो । यो फल बिस्तारै प्रमुख बजारमा उपलब्ध हुन थालेको छ । यो उच्च मूल्यको नगदे बाली हो I यो फल सर्बत (Squash) र वाइन बनाउन पनि प्रयोग गर्न सकिने भएकाले पोखरा उपत्यका वरिपरिका डाँडाका भेकहरूमा केहि भिरालो जमिनमा यसको खेती गर्न सकिने छ । लुम्ले कृषि अनुसन्धान केन्द्रले यस खेतीको सफलताका साथ परिक्षण गरेको छ I यो स्थानीय कृषकका लागि आय मूलक फलफूल बाली हुनेछ ।
३. एभोकाडो खेती
एभोकाडो, जसलाई बटरफ्रुट (Butter Fruit) पनि भन्ने गरिन्छ, एक उष्ण/अर्ध-उष्णकटिबंधीय फल हो, जुन ७०० मिटर देखि १,५०० मिटरको उँचाइमा हुने गर्दछ । यो स्वस्थ्यकर र विभिन्न प्रकारका पोषक तत्वहरू भएको फल हो । यो सामान्यतया ताजा उपयोग गरिन्छ, तर सलाद र स्यान्डविच फिलिंग (Sandwich Filling) को रूपमा पनि प्रयोग गर्न सकिन्छ। नेपालका बिभिन्न भागमा यसको खेति सफलाताका साथ गरिएको पाइन्छ I पोखरामा पनि यो फलको ब्यबसायिक खेति गर्न राम्रो सम्भावना छ I
४. ड्र्यागन फल खेती
ड्र्यागन फल एक उष्णकटिबंधीय प्रकारको फल हो, जसलाई कम पानी, सुख्खा माटो र तातो तापक्रम चाहिन्छ । धेरै पानी जम्ने ठाउँमा यसको खेती गर्न राम्रो हुँदैन । यो उत्कृष्ट स्वास्थ्यकर गुणहरूले भरिएको फल हो र यसको खेतिले राम्रो आम्दानी दिने गर्छ ।
नेपालमा पछिल्लो दशक देशका धेरै स्थानमा ड्र्यागन फ्रुटको खेति सुरु भएको छ । नेपालमा यसको दिगो रूपमा बजार मागको मूल्याङ्कन हुन बाँकी रहे पनि पोखरा उपत्यका भित्र पनि यसको खेती गर्ने प्रचलन सुरू भै सकेको छ । यसको कौसी खेतीको रूपमा र पाखाबारीहरूमा बिस्तार गर्न सकिने प्रशस्त सम्भावना छ । तर यसको खेति नेपालमा अझै प्रारम्भिक अवस्थामा छ र यसको दिर्घकालिन सफल व्यावसायिक खेतिको रूपमा अझै ‘पर्ख र हेर’को अवस्था छ ।
५. पुष्पखेति (Floriculture)
कृषि कै एक भागको रूपमा मानिने पुष्पखेति एक महत्त्वपूर्ण व्यवसाय उन्मुख उद्यम हो । पोखरा उपत्यकामा ब्यबसायिक पुष्पखेतिको प्रचलन बढ्दै गएको छ र बिभिन्न प्रकारका कट फ्लावर (Cut-flower) सजावट, उपहार आदि प्रयोजनका लागि यसको माग बढ्दै छ । यदि पोखरा अन्तर्राष्ट्रिय बिमान स्थलबाट छिमेकी राष्ट्रहरूमा उडान भर्न सुरू भएमा स्थानीय सुनाखरी (Orchid) को उत्पादनका साथै अन्य बिभिन्न प्रकारका फूलको उत्पादन गरी निर्यात गर्न सकिने सम्भावना पनि रहेको छ । यसबाट रोजगारी सृजना हुने र नगद ब्यापार पनि हुने भएकाले यो एक आकर्षक कृषि उद्यम हुनेछ ।
६. जडिबुटी र औषधिय वनस्पति खेति (Medicinal Plant Cultivation) :
नेपालमा सदियौं देखि जडिबुटी र औषधिजन्य बनस्पतिहरू उपयोग गरिदै आइएकोछ । स्थानीय ज्ञानद्वारा तिनको पहिचान, सङ्कलन, स्थानीय तवरले प्रशोधन र उपयोग गरिदै आएको छ, र अझै पनि ग्रामीण र शहरी क्षेत्रका धेरै मानिसहरूले यिनका प्रयोग गरिरहेका छन् । साथै यो एक आयमूलक स्रोत पनि भएको छ I जडिबुटी र औषधिय बनस्पतिको प्रसस्त स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रसस्त माग पनि छ । त्यस्ता बनस्पतिले स्थानीय जीविकोपार्जन र आय आर्जनमा महत्त्वपूर्ण स्थान ओगोटेका छन् ।
पोखरा उपत्यका भित्र अनेकौं प्रकारका जडिबुटीहरू पाइन्छन् । आइयुसिएन (IUCN) द्वारा तयार पारिएको साबिक‘लेखनाथ नगरपालिकाको संरक्षण र बिकास योजना’नामक पुस्तकमा पोखराको पूर्वी भागमा प्रसस्त जडिबुटी बनस्पतिहरू पाइने उल्लेख छ (ओली,१९९९) । अनिषा ढकाल र उनका टोलीले पोखरा वडा नं ६, १६ र २३ मा गरेको एक अध्ययन अनुसार पोखराका ती भेकमा स्थानीय समुदायले ८३ प्रकारका बनस्पतिहरू जडिबुटीका रूपमा प्रयोग गर्ने बताएका छन् (Dhakal, A. et al,२०२३)। यसरी नै बिष्णुप्रसाद पराजुली र सुभाषचन्द्र बाँस्तोलाले सन् २०१९ मा पोखरा वडा नं ३० र २६ मा बसोबास गर्ने कुमाल समुदायमा गरेको एक अध्ययनले त्यस क्षेत्रका कुमाल समुदायले बिभिन्न २० प्रकारका जडीबुटीहरू औषधिका रूपमा प्रयोग गर्ने गरेका छन् (Parajuli, B. P., & Bastola, S. C., 2019). । नारायणप्रसाद बस्ताकोटीले पोखरा वडा नं १६, २५, २६, २७,२९ र ३२ मा गरेको एक अर्को अध्ययनले त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूले बिभिन्न ८० प्रकारका जडीबुटीहरू प्रगोग गर्ने गरेको बताएका छन् (Bastakoti,N. D.2019) ।
भौगोलिक उचाई र हावापानीमा बिबिधताका कारण विभिन्न प्रकारका जडिबुटी तथा औषधिजन्य वनस्पतिको पोखरा उपत्यका भित्रका बाँझो जमिन र बन पाखामा ब्यबसायिक खेति गर्न सकिने उच्च सम्भावना रहेको छ । प्रदेश सरकारको वन महाशाखाको सहयोगमा गैर-काष्ठ वन उत्पादन (NTFPs) को रूपमा जडिबुटी र औषधिजन्य बनस्पतिहरूको दिगो खेति, उत्पादन, बजारीकरण र दिगो ब्यबस्थापनका लागि निजि उद्यमी, सामुदायिक वन उपभोक्ता समितिहरूसँग सहकार्य गर्न सकिने सम्भावना रहन सक्छ । यिनको प्रशोधन / अर्ध-प्रशोधन गर्न सकिएमा बजारमा उच्च मूल्य प्राप्त हुने छ ।
७. बाँझो जग्गाको उपयोग (Utilization of Fallow Land)
अधिकांश युवाहरू विदेश पलायन भएका र खेतीयोग्य मजदुरको कमिका कारण कृषि जनशक्तिको अभाव बढ्दो छ I यहि कारणले खेतीयोग्य जमिन खेतिविहीन बनि उत्पादनमा पनि ह्रास आएको छ । संघिय सरकारले भूमि बैंकिङ विधेयक पारित गरेको छ भने गण्डकी प्रदेशले करार खेती सम्बन्धि विधेयक तयार गरेको छ । पोखरा महानगरपालिकाले पनि भूमि बैंकको अवधारणा ल्याएको छ र बाँझो खेति योग्य जमिनलाई बिभिन्न कृषि र पशुपालन कार्यमा उपयोग गर्ने नीति लिएको छ । यी नीतिहरू अन्तर्गत पोखरा महानगरपालिका भित्र यस्ता जमिनमा व्यावसायिक र अर्ध-व्यावसायिक खेती (तरकारी, जडीबुटी, नगदे बाली, फलफूल, पशुपालन आदि) का लागि प्रभावकारी ढंगले उपयोग गर्न सकेको खण्डमा कृषि उत्पादन र बजारिकरणबाट बेरोजगार युवा, सीमान्तकृत र भूमिहीन परिवारहरू लाभान्वित हुनेछन् र समग्र पोखराको आर्थिक बिकासमा टेवा पुग्नेछ ।
८. पशुपालन (Livestock)
पशुपालन नेपाली कृषिको महत्वपूर्ण र अभिन्न अंग हो । पोखरा उपत्यकामा पनि परम्परागत रूपमा यहाँका कृषकहरूले गाई, भैँसी, बाख्रा,सुँगुर/बंगुर,कुखुरा आदि पाल्दै आएका छन् । पोखरा महानगरपालिकाका अधिकांश वडाहरू ग्रामिण भेकमा छन् । यहाँ प्रसस्त बनजंगल र चरन क्षेत्र पनि रहेकाले पशुपालनका लागि उपयुक्त क्षेत्रहरू पनि रहेका छन् ।
८.१ दुग्ध उद्यम
गाई र भैंसीको दूध उत्पादन अधिकांश कृषकहरूको आय आर्जन गर्ने महत्त्वपूर्ण स्रोत रहेको छ । हाल यहाँ उत्पादित ताजा दूध स्थानीय बजारमा बिक्रि गरिने वा पोखरा स्थित डेरी उद्योगहरूमा व्यक्तिगत रूपमा वा दुग्ध सहकारीहरू द्वारा संकलन र बिक्रि गर्ने गरिएको छ । पनीर, तोफु, आइसक्रिम, दहि, मोही, घिउ जस्ता नरम दुग्धजन्य पदार्थ उत्पादन गर्न निजी उद्यमीहरूसँग मिलेर साना डेरी प्लान्ट स्थापना गर्ने किसान सहकारीको राम्रो अवसर देखिन्छ ।
८.२ बाख्रापालन र चिज उत्पादन
पोखराको स्थानीय बजारमा बाख्राको मासुको उच्च माग रहेको छ । हाल पोखरा उपत्यकामा बाख्रापालन र बाख्राको मासुको उत्पादन पर्याप्त नभएकाले बिभिन्न जिल्ला र भारतबाट ठूलो संख्यामा बाख्रा आयात भइरहेको छ । यहाँ केहि कृषकहरूले बाख्रापालन गरिरहेका छन् I तर अझै ब्यबसायिक रूपमा फस्टाउन सकेको छैन I पोखरा महानगरपालिकाका ग्रामिण वडाहरूमा पोखरा बजारका लागि बाख्रापालन कृषकको संख्या बढाई ब्यबसायिक बाख्रापालन गर्न सक्ने अवसर छ ।
बाख्राको दुधबाट चिज उत्पादन
उच्च आम्दानीका लागि बाख्रापालनबाट नेपालमा लगभग अस्तित्वमा नभएको चीज उत्पादनको उच्च सम्भावना छ । नेपालको प्रमुख सहरहरू, बिशेष गरी काठमाडौमा बाख्राको चीजको प्रसस्त माग छ । गुणस्तरका आधारमा काठमाडौंको बजारमा बाख्राको चीज प्रतिकिलो २,५०० देखि ३,५०० रुपैयाँमा बिक्रि भइरहेको छ । यसबाट कृषकको आय आर्जनमा मात्रै नभई युवा रोजगारीका अवसरहरूका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।
पोखरा महानगरपालिकाका ग्रामिण वडाहरूमा बाख्रापालन गरी चीज उत्पादन गर्ने सम्भावना देखिन्छ । यस उद्यममा किसान, बेरोजगार युवा वा स्थानीय स्तरमा आधारित निजी क्षेत्रको समूहलाई संलग्न गराउन सकिन्छ । यद्यपि चीज उत्पादनको लागि बाख्राको सानेन प्रजाति उपयुक्त हुन्छ । सानेन जातको बाख्रा, स्विट्जरल्याण्डको साने उपत्यकामा उत्पत्ति भएको स्विस प्रजातीको दुधका लागि पालिने बाख्रा हो I यस प्रजातीका बाख्राहरूले धेरै दूध दिने गर्छन्। यसको दूध सबै प्रकारका डेयरी वा दुग्धजन्य पदार्थहरू बनाउनका लागि धेरै उपयुक्त हुन्छ । नेपालमा करिब दुई दशक अघि सुरु भएको सानेन प्रजातीका बाख्रापाल अहिले देशका विभिन्न भागमा स्थानीय परिस्थिति अनुकूल पालिने गरेको पाइएको छ । यसका बर्णशंकर पाठापाठीहरू कृषकहरूलाई पनि वितरण गर्ने गरिएको छ । कृषकहरूलाई सानेन प्रजातीका बाख्रापालनका तरिका, व्यवस्थापन, दूध र चीज उत्पादन र बिक्रि वितरण सम्बन्धि तालिम र सानो प्रशोधन केन्द्र स्थापना गर्न सहयोग गरेको खण्डमा यो एक राम्रो ब्यबसाय हुन सक्ने छ ।
८.३ पोल्ट्रीपालन (कुखुरा, हाँस, कालिज, बटेर)
पोखरा महानगरपालिकाको केहि स्थानमा केहि ब्यबसायिक कुखुरा र कालिजका फार्महरू संचालनमा छन् । पोखरामा स्वास्थ्य पोल्ट्री मासु र अण्डाको माग बढ्दो छ । पोखरामा तालतलैया पोखरीहरू पनि भएका कारण ब्यबसायिक हाँसपालनको पनि राम्रो सम्भावना छ । ह्याचरी सहित बिभिन्न पोल्ट्री पालनमा सहयोग हुन सके यसमा रोजगार सृजनाका साथै राम्रो आयमुलक ब्यबसाय हुन सक्ने अवसर रहेको छ ।
९. कृषि प्रशोधन उद्यम
लघु, साना र मझौला कृषि प्रशोधन उद्यमहरूले रोजगारी सृजना गर्न र गरिबी निवारणमा योगदान पुर्याउन सक्छन् किनभने यसबाट स्थानीयस्तरमा उत्पादित बस्तुहरूको प्रशोधन/अर्ध-प्रशोधन र बजारीकरण गरी कृषक वा सम्बन्धित ब्यबसायीहरूको राम्रो आम्दानीको श्रोत सृजना गर्न सक्छ । इच्छुक कृषकसमूह वा उद्दमीहरूलाई उपयुक्त प्रविधि उपलब्ध गराई त्यस्ता उद्यम र बजारको पहिचान गरी रोजगारी सृजना गरी कृषिमा आधारित सूक्ष्म, साना र मझौला उद्यमहरू (SMEs) स्थापनाका अवसरहरू देखिन्छन् ।
१०. कफी उत्पादन र प्रशोधन
नेपालमा कफी उत्पादन गर्ने जिल्लाहरू मध्ये कास्की एक प्रमुख जिल्ला हो । कास्कीका बिभिन्न भेगमा गुणस्तरीयकफी उत्पादन हुने गरेको छ I कास्कीमा निजी उद्यमी र केहि कफी सहकारीले कफी प्रशोधन, प्याकेजिङ र मार्केटिङ कार्य गरेका छन् । यहाँका कफी उत्पादक र उद्यमीहरूलाई थप प्रोत्साहन गरी उत्पादन क्षेत्र बृद्धि, गुणस्तरीय प्रशोधन र बाह्य बजारीकरणमा सहयोग गर्न सके यो एक थप आकर्षक कृषि ब्यबसाय हुनेछ ।
कृषि बजारको बिस्तार र ब्यबस्था
भरपर्दो बजार पहुँच र सुनिश्चितताले कृषिमा रोजगार, उत्पादन र आम्दानि बढाउँछ र खाद्य सुरक्षामा टेवा पुर्याउँछ । बजार जोखिम र असमान बजार शक्तिलाई कम गर्न उपयुक्त उपायहरू अपनाइयो भने उत्पादन गर्ने कृषक परिवार र कृषि समुदायको आर्थिक बिकास गर्न योगदान दिन्छ । साना किसानहरूको प्राय: बजारमा पहुँचको अभाव, उच्च यातायात लागत, सीमित प्राबिधिक ज्ञान र व्यापार कौशलतामा कमी हुनाले बिचौलियाले बढी लाभ उठाउने गरेका छन् । पोखराका ग्रामिण वडाका कृषकहरूले पनि यस्तै अवस्था भोगिरहेका छन् । तसर्थ, पूर्वाधार बिकास, कृषक बजारको स्थापना र ब्यबस्थापन, व्यापारिक ज्ञान, सीप र बजार संयन्त्र जस्ता बिषयमा कृषकहरूलाई सहयोग दिन आवश्यक छ ।
यस सन्दर्भमा पोखरा महानगरपालिकाले कृषि उपज बिक्रीका लागि किसान बजारको थालनी गरेको छ I साना किसानको हितमा यो एक राम्रो पहल मान्न सकिन्छ । तर यसलाई ब्यबस्थित गरिनु पर्ने, ब्यापक सूचना प्रवाह गरिनु पर्ने, बढी भन्दा बढी साना कृषकलाई समाबेश गरिनु पर्ने, उपभोक्ताको चाहना र मागका आधारमा उत्पादन गराइनु पर्ने, कृषक संजाललाई बजारमा सक्रिय बनाइनु पर्ने, कृषि उपज संकलन र भण्डारणको बिस्तार र ब्यबस्थापन गरिनु पर्ने, कृषकहरूलाई उत्पादन सामग्री, मार्केटिङ ज्ञान, सीप र मूल्य सम्बन्धि जानकारीका साथै मूल्य निर्धारण नीतिमा थप सहयोग गर्न आवश्यक छ । कृषकहरूको उत्पादन बजार सम्म ढुवानी गर्न पोमनापाले कृषि एम्बुलेन्सको ब्यबस्था गरेको छ तर अझै पनि सबै कृषक बीच पुग्न नसकेको अवस्था छ I यी पक्षहरूलाई ध्यानमा राखी उपयुक्त कार्यक्रम तर्जुमा गर्नुका साथै कार्यान्वयन गरिनु पर्दछ I पोखराका छिमेकी गाउँपालिकाहरू पनि प्राय: कृषि मै आधारित क्षेत्र भएकाले त्यस क्षेत्रका धेरै भन्दा धेरै कृषकहरूबाट कृषि उत्पादन संकलन, भण्डारण, र बजारका लागि पोखरा महानगरपालिका र छिमेकी गाउँपालिकाहरू बीच अन्तर-पालिका समन्वय र सहकार्यलाई प्राथमिकता दिईनु राम्रो हुनेछ । हाट बजार र होल सेल बजारमा एकाधिकार बनाएका बिचौलियालाई निरुत्साहित गरिनु जरूरी छ ।
कृषि पर्यटन तथा घरबास कार्यक्रम
कृषि पर्यटन एक प्रकारको ग्रामिण व्यावसायिक उद्यम हो, जसले स्थानीय रहनसहन,कला संस्कृति, खानपान,कृषि उत्पादन स्थानीय प्रशोधन प्रबिधि, स्थानीय ऐतिहासिक, धार्मिक स्थलको अवलोकन आदिलाई ग्रामिण पर्यटनसंग जोडी आन्तरिक र बैह्य पर्यटनका लागि मनोरंजन र शिक्षामूलक कृ्याकलाप प्रभावकारी ढंगले संचालन हुने गर्दछ । यसमा पर्यटकलाई स्थानीय कृषि गतिविधिहरूमा संलघ्न गराउन सकिन्छ । जस्तै: पशुलाई घाँस, दानापानी दिने, दुध दुहुने, मोही पार्ने, तरकारी लगाउने वा टिप्ने, बाली काट्ने, वृक्षारोपण गर्ने, घाँस काट्ने/बोक्ने, प्रांगारिक मल बनाउने, अन्य खेतिपाति कार्यमा सम्लघ्न गराउने आदि । पोखरा महानगरपालिका भित्रका केहि ग्रामिण वडा र वरपरका गाउँमा घरबास (होमस्टे) संचालनमा आएका छन् भने अन्य केहि गाउँहरूमा थप संचालन हुने क्रममा छन् । तर तिनको घरबासका सिद्धान्त र उद्येश्य अनुरूप संचालन हुन नसकेको अवस्था छ । यदि घरबासको मूल सिद्धान्त, उद्येश्य र मर्म अनुरूप संचालन गर्न सके र ब्यापक प्रचार प्रसार हुन सके कृषि पर्यटन र घरबास कार्यक्रम एक प्रभावकारी कृषि पर्यटन प्रणालीमा बिकास हुन सक्छ छ र सम्बन्धित परिवारको आय आर्जन र ग्रामिण अर्थतन्त्रमा टेवा पुग्ने छ ।
पोखरा महानगरपालिकामा कृषि बिकासका प्रमुख चुनौतीहरू
कृषि श्रम र युवा जनशक्तिको अभाव
बढ्दो बाँझो जमिन
कृषि योग्य जमिनको खण्डिकरण र प्लाटिंग
उपयुक्त प्रविधिको अभाव
जलवायु परिवर्तनका कारण कृषिमा नकारात्मक प्रभाव
स्थानीय / रैथाने प्रजातिका बालीहरुको क्रमिक ह्रास, तिनको संरक्षण र बजारीकरणमा कमि
बिषाधिको अधिक प्रयोग
बाँदरको समस्या*
उपयुक्त कृषि सामाग्रीको उपयुक्त मुल्यर सर्वसुलभ रूपमा उपलब्धताको अभाव
कृषि उपज संकलन, बिक्रि केन्द्र र शीतगृहको अभाव
कृषि उपजको बजार पहुँच र बजारीकरण फितलो
नविन खेति र कृषि उत्पादन प्रबिधिमा प्राबिधिक ज्ञान र तालिममा कमि
सिंचाई ब्यबस्थापन र सुधारको अभाव
*नोट: बाँदरको समस्या केहि हद सम्म न्यूनीकरण गर्न बाँदरले मन नपराउने वा नखाने प्रकारका खेति गरिनु पर्दछ I उदाहरणका निम्ति बाँदरले मन नपराउने/नखाने तर कृषकका लागि फाइदाजनक हुने कृषि बालीहरूमा: लसुन, अदुवा, हलेदो/बेसार, करेला, खुर्सानी, प्याज, हरियो धनिया, गिठा, भ्याकुर, तरूल, टिमुर, अमिलो जातका फलफूलहरू (कागती, निबुवा), भुँईकटहर आदि र जडिबुटी बनस्पतिहरूमा तुलसी, सर्पगन्धा, घिउकुमारी लगायत अन्य धेरै प्रकारका जडिबुटी/औषधिजन्य बनस्पतिहरू पर्दछन् I यी बालीहरू सुरूमा परिक्षणका रूपमा लगाउने र प्रभावकारी देखिएमा तिनलाई बिस्तार गर्न सकिन्छ I तर कृषकहरूले उत्पादन गर्ने यी बालीहरूको बजार ब्यबस्था र बिक्रीवितरणको सुनिश्चितता हुन जरूरी छ I
उपसंहार
पारम्परिक रूपमा पोखरा उपत्यका एक कृषि भूमि हो I यहाँका बिभिन्न रैथाने बालीहरूमा प्रसस्त बिबिधता पाइने गरिन्थ्यो I यहाँको उत्पादनले यहाँका बासिन्दालाई खान पुग्दथ्यो I तर सन् १९७० को दशक देखि यहाँ सहरीकरण हुँदै गयो र पछिल्ला तीन दशक देखि यहाँका उर्बर खेति योग्य जमिन प्लाटिंग गरिंदै खण्डिकरण हुँदै गयो I यहाँको कृषि भूमि संकुचित हुँदै गएकोले कृषि उत्पादनले यहाँको बढ्दो जनसंख्या र लाखौँ पर्यटकहरूका लागि यहाँको उत्पादन नपुग हुँदै गएको छ I अधिकांश खाद्यान्न बाहिरबाट आयात गरिनु पर्दछ I यहीं उत्पादित कृषि उपजको पनि सहि मूल्य र बजार पाउन नसकेको अवस्था छ I तर पनि यहाँ अझै बाँकी बचेका कृषि भूमिमा उत्पादकत्व र उत्पादन बढाउन सकिन सम्भावनाहरू छन् I
पोखरा उपत्यकाको कृषिको उत्पादन र उत्पादकत्व बढाई बजारीकरण नगरे सम्म यहाँका कृषकहरूको आर्थिक उन्नति सम्भव छैन I यहाँका बिपन्न परिवार र बैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई ज्ञान र सीप प्रदान गरि बजारमुखी ब्यबसायिक कृषि, पशुपालन र यिनमा आधारित लघु उद्यममा प्राथमिकता दिइनु पर्दछ I यसका लागि पोखरा महानगरपालिका, कृषि महाशाखा, कृषि ज्ञान केन्द्र, अन्य सरकारी निकाय, उद्योगी ब्यापारी र अन्य ब्यबसायीहरूको कृषिमा संलघ्नता, लगानी र कृषकलाई प्रोत्साहन, सहयोग, उचित कृषि र पशु बीमा र सम्मानको आवश्यकता पर्दछ I




