बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८१, बिहिबार

लमजुङ / लमजुङको दूधपोखरी गाउँपालिका-२, बिचौरबाट प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दूधपोखरी गाउँपालिका-१, कल्लाबारीकी २७ वर्षीया पृथीमाया गुरुङ सुत्केरी व्यथाले आत्तिएपछि बुधबार गण्डकी स्वास्थ्य मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बिचौर स्वास्थ्य चौकीकी अनमि सविना मरहट्टाका अनुसार बुधबार अपरान्ह ४ बजेतिर गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरेर पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको हो ।

उनका अनुसार गुरुङलाई मंगलबार साँझ ८ बजेतिरबाट सुत्केरी व्यथा लागेको थियो । राति ३ बजे बिचौर स्वास्थ्य चौकीमा ल्याइएकी गुरुङको स्वास्थ्य स्थिति सुरुमा सामान्य थियो । बुधबार बिहान ९ बजे पूरै घर खुले पनि सुत्केरी हुन सकेकी थिइनन् ।

‘पछि सुत्केरीलाई असहज हुन थाल्यो । सदरमुकाम बेंसीसहर लैजान पनि टाढा भयो,’ अनमि सविना मरहट्टाले भनिन्, ‘डाक्टरसँग भिडियो कुराकानीपछि हामीले रिफर गरेका हौं ।’ सुत्केरी व्यथा लागेको करिब २० घण्टापछि उनको उद्धार भएको उनले बताइन् ।

दूधपोखरी गाउँपालिका-१ का वडाध्यक्ष दुर्गामान गुरुङले गर्भवती महिला सुत्केरी हुन नसकेपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले सुत्केरी हुन नसकेपछिको जटिल अवस्थालाई मध्यनजर राखेर सबैको सहयोगबाट प्रसव पीडामा रहेकी महिलाको उद्धार गर्न सफल भएको बताए । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->