बागलुङ/आगामी पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने अभियानको थालनी भएको छ । बिहिबार सिगाना मावि लामीचौरले बालमैत्री विद्यालय घोषणा गरेर यो अभियानको थालनी गरेको हो ।
नगर प्रमुख बसन्तकुमार श्रेष्ठ सहितको जनप्रतिनिधिले निर्वाचित भएको पहिलो निणर्यको रुपमा बालमैत्री नगर बनाउने घोषणा गरेको थियो । उक्त निर्णयपछि आवस्यक पर्ने ५१ सूचक पुरा गर्ने अभियान चलिरहेको छ । अधिकांस वडा तहमा सूचक पुरा भएका छन् । केही बाँकी रहेका कार्यक्रम सकेर नगरपालिकाले आगामी पुस मसान्तमा बालमैत्री नगर घोषणा गर्नेछ ।
सिगाना मावि लामिचौरलाई बालमैत्री विद्यालय घोषणा गरिएको हो । यो विद्यालयमा पनि सबै सूचक पुरा भएको घोषणा गरिएको हो । त्यसका लागि नगर स्तरीय अनुगमन समितिले अनुगमन गरेपछि उपयुक्त ठहर गरेको थियो । शुद्द खानेपानीको प्रबन्ध, धाराहरु बालमैत्री, छात्राछात्राको छुट्टाछुट्टै शौचालय, छात्राको शौचालयमा सेनिटरी प्याडको व्यवस्थापन, अपांगमैत्री भवन, बालमैत्री कक्षाकोठा र पढाइ समेतको व्यवस्था गरिएको छ ।
त्यस बाहेक घरघरमा पनि बालमैत्री व्यवहार गर्न थालिएको हो । अभिभावक पनि बालमैत्री व्यवहारका लागि तयार भइसकेपछि यो विद्यालय पहिलो बालमैत्री बनेको हो । नगरपालिकाका कावा प्रमुख राजु खड्काले विद्यालयलाई बालमैत्री विद्यालयको प्रमाणपत्र प्रदान गरे । साथै, उनले विद्यालयलाई ४५ हजार रुपैयाँ पुरस्कार दिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले बालमैत्री विद्यालय जस्तै वडा र नगर तथा जिल्ला नै बालमैत्री, अपांगमैत्री र सबैखालका लक्षित वर्गको अधिकार प्राप्त भएको बनाउने सपना पुरा गर्न सबैको साथ चाहिएको बताए ।
उनले आधारभूत शिक्षा र स्वास्थ्यलाई ग्रामीण जनताको अधिकारको रुपमा स्थापित गर्न सकेमा युवा पलायन रोकिने, रोजगारीको व्यवस्थापन हुने तथा आन्तरिक बसाइसराइ पनि रोकिने बताए । उनले राज्यको साधन श्रोतलाई समानुपातिक रुपमा वितरण गर्ने काममा संसदको नाताले पहल गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षता, शिक्षकहरु भुपेन्द्र कार्की र लोकबहादुर खड्काको संचालन तथा प्रधानाध्यापक लोकबहादुर खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बालमैत्री नगरले शिक्षाको गुणस्तर र स्वास्थ्य सेवाको सुनिश्चितामा योगदान पुग्ने बताए । साथै, भौतिक निर्माण तथा आम नागरिकको व्यवहारमा पनि सुधार आउने बताए ।
उक्त अवसरमा वडा अध्यक्ष झमबहादुर कार्की, शिक्षाविद गोपाल कुमार शर्मा, बालमैत्री फोकल पर्सन तिलक आचार्यले मन्तव्य राखेका थिए । उक्त अवसरमा आचार्यले विद्यालयमा सरसफाइको साथै कुहिने र नकुहिने फोहोरलाई उचित व्यवस्थापन गरिएको, बालबालिकाले रमाएर सिक्ने अवसर मिलेको, विद्यालयको वरपर मध्यपान र धुम्रपान निषेध भएको, समावेशी बालक्लब बनेको विषयले सबैको मन छोएको जानकारी गराएका थिए ।





