बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हुन्छ, बाल क्यान्सरको निशुल्क उपचार

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हुन्छ, बाल क्यान्सरको निशुल्क उपचार


  • लालप्रसाद शर्मा
  • कार्तिक ३० २०८१, शुक्रबार

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेशकै ठूलो अस्पताल हो । यहाँ प्रदेशबासीमात्र होइन, देशभरीकै बिरामीले उपचार सेवा लिइरहेका छन् । प्राय अधिकांश रोगको उपचार यस अस्पतालमा हुन्छ ।

अस्पतालले ३ वर्षदेखि बालबालिकाहरुमा लाग्ने क्यान्सर रोगको उपचार पनि गर्दै आएको छ । त्यो पनि निशुल्क । तर, प्रचार नभएका कारण सेवाग्राहीले यो उपचार सेवाबारे खासै थाहा भने पाएका छैनन् । काठमाडौंस्थित कान्ति बाल अस्पतालसंग सम्झौता गरेर अस्पतालले २०७८ पुस ९ गतेदेखि बालबालिकाहरुको क्यान्सर उपचार सेवा सुरु गरेको हो । यस अवधिमा १० बालबालिका उपचारका लागि आएकोमा एक ३ वर्षीया बालिकाको मृत्यु भएको र ९ जनाको सफल उपचार भएको अस्पतालले जनाएको छ । उनीहरु ३ देखि ६ वर्ष उमेर समुहका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विभाग प्रमुख डा.रामचन्द्र बास्तोलाले बाल क्यान्सरको सबै उपचार र औषधी निशुल्क हुने बताए । गण्डकी प्रदेशमा बाल क्यान्सर रोगको उपचार हुने एकमात्र क्षेत्रीय अस्पताल रहेको उनले जनाए ।

बाल क्यान्सर रोग लागेका बालबालिकाको पहिचान गरी पोखराबाट कान्तिमा पठाइन्छ । कान्तिमा पहिलो चरणको अर्थात् ६ महिनाको जटील उपचार (जुन प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्छ) हुन्छ । त्यसपछि पोखरा पायक पर्ने बिरामीलाई यता पठाइन्छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले उताबाट (कान्ति) पोखरा आएका बिरामीको नियमित र निरन्तर उपचार गर्छ । ‘यसले बिरामी सामान्य फ्लोअपका लागि काठमाडौं धाउनु पर्दैन’ डा.बास्तोलाले भने, ‘समय र पैसाको बचत हुने भयो ।’ उनका अनुसार पोखरामा बाल क्यान्सर रोग पत्ता लागेमा पहिलो चरणको उपचारका लागि कान्तिमा पठाउने गरिन्छ । ‘धेरै जनालाई पोखरामा बाल क्यान्सर रोगको उपचार हुन्छ भन्ने थाहा नभएको पाइएको छ’, बास्तोलाले भने, ‘व्यापक प्रचारप्रसार गर्नुपर्ने देखियो ।’

कान्ति अस्पतालले प्रतिष्ठानलाई बाल क्यान्सर रोग उपचार सम्बन्धि तालिम, मानव संसाधन पुनर्ताजगी र औषधी साथै विरामीलक्षित विभिन्न पूस्तिकाहरु उपलब्ध गराउँदै आएको छ । यसै सन्दर्भमा विहीबार र शुक्रबार कान्तिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ९ जना बालरोग विशेषज्ञ र १३ जना नर्सलाई फ्लोअप तालिम दिएको छ । ३ वर्षदेखि सुरु गरेको सेवा कसरी चलिरहेको छ, समस्या केके छन, थप सहयोग के गर्न सकिन्छ भन्ने विषयमा जानकारी पनि लिइएको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा.सनि सिपाईले बताए । आवस्यकतानुसार यस्तो तालिम दिइदै आएको उनले जनाए । डा.सिपाइले पोखराबाट सेवा प्रवाह राम्रो भइरहेको पाइएको बताए । सेवा प्रवाहलाई अझै बिस्तारको प्रयास गरेको भन्दै उनले अस्पतालमा एउटा जैवीक सुरक्षात्मक कक्ष आवस्यक भने देखिएको उल्लेख गरे । यो कक्ष बनाउन प्रतिष्ठानले आवस्यक पहल गरिरहेको बास्तोलाले बताए भने कान्ति बाल अस्पतालले पनि सघाउने प्रतिवद्धता सिपाईको थियो ।

अस्पतालमा अन्य पूर्वाधार भए पनि दक्ष तालिमप्राप्त स्टाफ नर्सको अभाव रहेको विभागीय प्रमुख बास्तोलले सुनाए । अब कान्ति बाल अस्पतालमा गरिने पहिलो चरणको ६ महिने उपचार पनि पोखरामै गर्न पाए सबैलाई राहत मिल्ने उनको भनाई छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्राडा श्रीकृष्ण श्रेष्ठ र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले सेवा बिस्तारमा लागिपरेको बताए ।

नेपालमा कति बालबालिकालाई क्यान्सर रोग लाग्छ भन्ने यकिन तथ्यांक छैन । तर पनि वर्षेनी १२ सय देखि १५ सय जनासम्म विभिन्न क्यान्सरबाट पीडित हुने अनुमान गरिएको डा.सिपाईले बताए । जन्मेदेखि १४ वर्षसम्मका बालबालिकामध्ये यो संख्या क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरिएको र कहिलेकाँही १९ वर्ष सम्मको पनि क्यान्सरबाट पीडित हुने उनको भनाई थियो । बालबालिकामा बढीजसो रक्त क्यान्सर बढी देखिने उनले बताए ।

बाल क्यान्सर रोगको उपचारमा १५ देखि २० लाख रुपैयाँसम्म खर्च लाग्छ । संघ र प्रदेश सरकारले १÷१ लाख रुपैयाँ आर्थिक सहयोग गर्छन । बिमा गरेको बाहेक अन्य उपचार खर्च अस्पतालले निशुल्क गर्दै आएको छ । कतिपय सहयोगी दाताहरुबाट सहयोग प्राप्त हुने पनि डा.सिपाईले बताए । बाल क्यान्सर उपचार सेवा गण्डकीसहित ५ वटा प्रदेशमा बिस्तार भइसकेको छ । एक दुई दिनमै कर्णालीको सुर्खेत र २/३ महिनाभित्र मधेश प्रदेशमा सेवा बिस्तार गर्ने योजना कान्ति बाल अस्पतालको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->