सिकलेस (कास्की)/ सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेको गाउँ हो, कास्कीको मादी गाउँपालिका–१ सिकलेस । अन्नपूर्ण हिमश्रृंखला र लमजुङ हिमालको काखमा, गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिकलेस सफा र चिरीच्याँट्ट छ ।
पर्यापर्यटनमा उत्कृष्ट, पर्यटकलाई गरिने आतिथ्यता, कला, संस्कृति, शान्त र जैविक विविधताले धनी छ गाउँ । यीबाहेक अर्को विशेषता पनि यहाँ पुग्नेले यतिबेला अवलोकन गर्न पाउँछन । त्यो हो भेंडीगोठ । झन्डै २ हजार मिटरको उचाईमा रहेको गाउँमा यतिबेला भेंडीगोठ देख्न सकिन्छ । चिसो मौसमसंगै भेंडीगोठ बेंशीतर्फ अर्थात गाउँ झारिएको हो । जाडो बढ्दै जाँदा अझै तल अर्थात पोखरा भन्दा केही माथिसम्म भेंडा झार्ने गरिन्छ । भेंडीगोठ भने पनि यहाँ भेंडामात्र हुदैनन्, बाख्रा पनि हुन्छन ।

फागुनसम्म बेंशीमा चराइने भेंडालाई चैत लागेपछि अर्थात् गर्मी सिजन सुरु हुनेबेला फेरी लेकतिर लगिन्छ । ३८ सय मिटर उचाईको कोरीमा वर्खायाममा भेंडी गोठ राखिन्छ । त्यहाँ भन्दामाथि ४२ सय मिटर उचाइसम्मका मद्मी र क्यूतमी भन्ने स्थानमा पनि पुराइने भेंडापालक यम गुरुङ बताउँछन । भान्जा पेउ गुरुङसंगको साझेदारीमा उनको गोंठमा अहिले ३ सय भन्दा बढी भेंडाबाख्रा छन् । ‘जिजुबाजेको पालादेखि भेंडीगोठ चलाइरहेकाले मैले पनि निरन्तरता दिएको हुँ’ यमले भने, ‘दुख भने बेसरी छ ।’

सिकलेसमा अहिले ५ वटा भेंडीगोठ छन् । भेंडाबाख्रा अधिकांश गाउँमै बिक्री हुन्छन् । पोखरा पनि पुराइन्छ । विभिन्न चाडपर्व, मेलामहोत्सव, भोजभतेरका कारण गाउँमा भेंडाबाख्रा बिक्री हुने गुरुङको भनाई छ । साथै पछिल्लो समय आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेकाले भेंडाबाख्राको बिक्री पनि बढ्दो छ । ‘बाह्रैमास किनबेच हुन्छ, कुनै हिसावकिता राखिदैन’ यमले भने, ‘जीविकोपार्जन सहजै रुपमा चलेको छ ।’

भेंडाबाख्रालाई दिउँसो चरन क्षेत्रमा चराइन्छ । राती भने कुकुरले पहरा दिएर हेर्छन् । हिउँचितुवा, चितुवासमेत कुकुरले भगाएर भेंडाबाख्राको सुरक्षा गर्ने अर्का भेंडीगोठका मालिक मौदासिंह गुरुङ बताउँछन । उनले पनि जिजुबाजेले गर्दै आएको पेशालाई आफुले छाड्न नसकेको बताए । एउटा भेंडाको साँढलाई ५० हजार रुपैयाँसम्ममा बिक्री गरेको अनुभव उनीहरुमा छ । प्रयाप्त चरन क्षेत्र, खर्क, लेक, वनजंगल भएकाले भेंडापालन फस्टाउँदो रहेको स्थानीय बताउँछन । स्थानीयले भेंडाको ऊनबाट राडीपाखीलगायत बुन्ने गर्छन ।

स्थानीय होटल व्यवसायी मुनिन्द्र गुरुङले भेंडीगोठ र भेंडाबाख्राका बथान देखेर पनि गाउँ आउने आन्तरिक र बाह्य पर्यटकले मनोरञ्जन लिने गर्छन । ‘पर्यटकका लागि भेंडीगोठ पनि आकर्षण बनेको छ,’ उनले भने । स्थानीयले म्याग्दीको गुर्जाघाट र उत्तरी गोरखासम्म पुगेर भेंडा ल्याउने गरेका छन् । तर कुन जातको भन्ने उनीहरुलाई थाहा छैन । मादी गाउँपालिका–१ मा खटिएका पशु सेवा प्राविधिक महेश वलीले सिकलेसका गोठमा कागे, बरुवाल र भ्याग्लुङ जातको क्रस भेंडा रहेको बताए ।













