पाेखरा/ संंचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सरकारी संचार माध्ययममले मात्र संघीयता कार्यान्वयन गरेको बताएका छन् । अन्य क्षेत्रमा भने संघीयता कार्यान्वयन हुन नसकेको उनको भनाई थियो ।
रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समितिको पुर्नसंरचनाको काम भइरहेको उनले बताए । संचार क्षेत्र पुरानै नीति र कानुनमा चलिरहेको भन्दै अव त्यसलाई पुनरावलोकन गरी नीतिगत व्यवस्थापन गर्न लागिएको उनको भनाई थियो । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सिंहदरवारको आयोजनामा आज पोखरामा आयोजित राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रियाका प्रमुख अतिथि गुरुङले यस्तो बताएका हुन् ।
‘संचार क्षेत्र पुराना कानूनमा टेकेर आफु अनुकुल चलाउँदै आएको अवस्था रहेछ’ पोखरामा आज आयोजित उनले भने, ‘अव रेडियो नेपाल लगायत सार्वजनिक प्रसारण सेवालाई सबै नेपालीको पहुँचमा पुग्ने गरी बिस्तार गर्ने योजनामा छौ ।’ नेपाल टेलिभिजनलाई पनि सबै घरमा पुराउने र मोबाइलमा फोर जी एलटीई सेवालाई नेपालभरी पुराउने पनि उनले जनाए ।
सबै तहका सरकारले रेडियो नेपाललगायत सरकारी संचार माध्ययमलाई माया गर्नुपर्ने भन्दै उनले न्यायालयदेखि पालिकाहरुले पनि विज्ञापन दिएर सहयोग गर्नुपर्नेमा जोड दिए । अहिलेसम्म सरकारको अनुदानमा सेवा दिइरहेको भन्दै उनले अव आफै खुट्टामा उभिएर जनताको सेवामा लाग्नुपर्ने बताए । ‘सबैले आफ्नो रेडियो सम्झेर सहयोग गर्नुपर्ने सबै तहका सरकारको दायित्वभित्र पर्छ’ उनले भने । संचार क्षेत्र, प्रेस काउन्सीललाई व्यवस्थित बनाउन मिडिया काउन्सील विधेयक ल्याउन लागिएको उनले बताए । अहिले देशमा जातिय देखि भौगौलिक हिसावले अराजकता मच्चाउन खोजिएको भन्दै उनले यसलाई रोक्न संचारमाध्यमयको भूमिका महत्वपूर्ण हुने बताए । साथै राष्ट्र निर्माणमा पनि संचार क्षेत्रले सहयोग गर्नुपर्ने उनले बताए । निजामति, प्रहरी ऐन यही वर्ष ल्याइने दावी उनले गरे ।

कांग्रेस गण्डकी समितिका सभापति शुक्रराज शर्माले प्रजातन्त्रपछि नेपालीले पाएको रेडियो नेपाल रहेको प्रसंग निकाल्दै यसको संरक्षण र सम्बद्र्धनमा जोड दिए । साथै रेडियो नेपालले पनि समय सापेक्ष आफुलाई परिस्कृत गर्दै लैजानु पर्ने बताए ।
रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाको सभापतित्वमा भएको कार्यक्रममा निर्देशक पुस्करराज गौतमले स्वागत गर्दै समावेशी प्रसारणको क्षेत्रमा सातवटै प्रदेशबाट बोलिने भाषामा समाचार, कार्यक्रम प्रसारण गरी भाषा संरक्षमा योगदान पुराएको बताए । गीत, संगीत, विषयबस्तुको संरक्षण र सम्बद्र्धनमा पनि योगदान दिएका भन्दै उनले रेडियो नेपालको कदममा प्रदेश सरकारले पनि सहयोग गरोस् भन्ने उद्देश्य रहेको सुनाए । चालु वर्षभित्रै गोरखामा एउटा स्टेशन बनाएर रेडियो नेपाल सुन्न सकिने बनाउन लागिएको बताए ।
रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले समावेशी कार्यक्रम तथा समाचार प्रसारणबारे प्रस्तुति दिएका थिए । उनले २५ भाषामा समाचार र कार्यक्रम प्रसारण गर्दै आएको भन्दै रेडियो नेपालको प्राथमिकताका विषय, कार्यक्रममा समावेशिताको अवस्था, मिडियम वेभ र एफएम प्रसारण माध्ययमबारे जानकारी दिए । हाल नेपाल रेडियो नेपालका ३३ एफएम स्टेशन, अनलाईन, फेसबुक, एक्स, युट्युव च्यानल र मोबाइल एप पनि रहेको उनले जनाए ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराकी प्रमुख शान्ति गुरुङले २०५० चैत २० गतेदेखि पोखरामा क्षेत्रीय प्रसारण सेवा सुरु भएको र २०५३ चैत २० देखि गुरुङ र मगर भाषामा समाचार प्रसारण थालिएको बताईन् । साथै अहिले सातामा यी दुवै भाषाको २/२ वटा कार्यक्रम पनि प्रसारण हुदै आएको जनाइन् । शास्त्र हराए संस्कृति हराउँछ । संस्कृति हराए संस्कार हराउँछ । संस्कार हराए भाषा र व्यक्ति पनि हराउँछ भन्दै उनले राष्ट्रिय भाषालाई मात्र नभएर राष्ट्र भाषामा पनि सरकारले सहयोग गर्नुपर्ने बताईन् । प्रदेश सरकारले राष्ट्र भाषाको संरक्षण र सम्बद्र्धनमा चासो दिनुपर्नेमा उनले जोड दिइन् । उक्त अवसरमा गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार बिमला भण्डारीलगायत सहभागीले विभिन्न सुझाव दिएको थिए । कार्यक्रम रेडियो नेपाल पोखराका कार्यक्रम अधिकृत पुरुषोत्तम न्यौपानेले संचालन गरेका थिए ।





