पोखरा/नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न टोकन प्रणाली लागु गर्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बुधबार निर्देशन दिएपछि कार्यालयले सेवा सुधारको योजना बनाएको हो ।
मन्त्री केसी बुधबार यातायात व्यवस्था कार्यालयको निरीक्षणमा पुगेका थिए । त्यहाँ सेवाग्राहीले हरेक कामलाई लाइन बस्नुपर्ने झन्झट भएको गुनासो गरे । त्यसपछि मन्त्री केसीले कार्यालयका निमित्त प्रमुख सुरेश जैसवाललाई दुई दिन तयारी गरेर टोकन प्रणालीको सुरुवात गर्न निर्देशन दिए । निमित्त प्रमुख जैसवालले आवश्यक तयारी गरेर निर्देशनअनुसार काम गर्ने बताएका थिए ।
केसीले यातायात कार्यालयका सेवा प्रवाहको अवस्था, कार्यालयको समस्याको विषयमा कर्मचारीसँग जानकारी लिए । निमित्त प्रमुख जैसवालले लाइसेन्स सम्बन्धी सम्पूर्ण सिस्टम यातायात व्यवस्था विभागमा रहेको र सच्याउने अधिकार पनि नभएको गुनासो गरे । ‘कहिलेकाहीँ केही विवरण बिग्रियो भने सच्याउनु पर्छ । तर हामीले विवरण अपडेट गरेपछि हाम्रो हातमा केही हुँदैन’ उनले भने ।
कहिलेकाहीँ विभागको सिस्टम नचल्दा सेवाग्राहीले गुनासो पोख्ने र चाप बढ्ने गरेको जैसवालले बताए । मन्त्री केसीले सर्भरको समस्या देशव्यापी भएको तर विभागीय मन्त्रीको हैसियतले यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराउने बताए ।





