बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रदेश सरकारलाई स्थानीयको प्रश्न, गाउँ युवाविहीन भयो रोक्ने योजना के छ ?

प्रदेश सरकारलाई स्थानीयको प्रश्न, गाउँ युवाविहीन भयो रोक्ने योजना के छ ?


  • लालप्रसाद शर्मा
  • मंसिर १३ २०८१, बिहिबार

कास्कीकोट (पोखरा)/ गाउँमा युवा पिंडी एक प्रतिशत पनि भेट्न गाह्रो भइसक्यो । बैदेशिक रोजगार, अध्ययन वा अन्य अवसरको खोजीमा युवा बिदेशिइरहेका छन् । यसले गाउँको बिकास कसरी हुन्छ ? समाजसेवी गंगा गिरीले प्रदेश सरकारलाई प्रश्न गरिन, ‘युवालाई बिदेशिनबाट रोकेर गाउँमै रोक्ने योजना के छ ?’

यसैगरी महिला स्वास्थ्यस्वयंसेवीका सुनकुमारी घर्तीले पनि गाउँमा युवा देख्नै गाह्रो भएको बताईन । आफुले ६१ घरमा सेवा पुराउनु पर्नेमा अहिले ४ घर खाली भइसकेको, १५ घरमा ४५ वर्षमाथिका बाआमा मात्रै बस्ने गरेको र बाँकी घरमा ३÷४ जना भन्दा बढी सदस्य नरहेको उनको भनाइ छ । ३ सय जनसंख्या मध्ये ११५ जना बाहिर गएको र १७ महिना अघि एउटा बच्चा जन्मिएको र अवको ४ महिनापछि अर्को एक बच्चामात्रै जन्मने तथ्यांक उनले प्रस्तुत गरिन् । ‘गाउँमा युवा देख्न गाह्रो भयो । जन्मदर पनि न्यून छ । यसले देशको अवस्था झल्किन्छ’ संसदीय पत्रकार मञ्चले विहीबार पोखरा महानगरपालिका–२४ कास्कीकोटस्थित वडा कार्यालयमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा उनले भनिन्, ‘आफु भन्दा सानो उमेरका व्यक्ति गाउँमा देख्न पाउ । मेरो लासले मेरो छोरालाई कुर्न नपरोस् । प्रदेश सरकारले यसतर्फ ध्यान दिओस् ।’

युएनडीपीको संसद सहयोग परियोजनाको सहकार्यमा भएको उक्त नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले आफ्ना गुनासा सुनाएका थिए । खानेपानी अभाव, नेपाल एकीकरणसंग जोडिएको कास्कीकोट, गुप्तकालीका मन्दिर, पर्यटकीय पदमार्ग, सडक, गुणस्तरीय शिक्षा, बाँदर आतंकलगायत विषय उनीहरुले उठाएका थिए । गुनासो सुन्नेमा थिए, गण्डकी प्रदेशसभामा अर्थ तथा बिकास समितिका सभापति भोजराज अर्याल, प्रदेश सांसद प्रकाश बराल र वडाध्यक्ष भरतबहादुर अधिकारी ।

सरकारले एक घर एक धारा भन्छ, तर पर्याप्त बजेट नदिने उनीहरुले बताए । संरचना पनि बन्छन तर, पानीको मुहान नभएकाले प्रदेश सरकारले पानीको मुहानको अपनत्व लिने गरी स्रोत खोजीदिनु पर्ने माग गिरीको थियो । साथै कास्कीकोट पर्यटकीयस्थल भए पनि पर्यटकीय गन्तव्यको रुपमा अझै बिकास गर्न नसकिएको भन्दै उनले कृषि र पर्यटनको क्षत्रेमा प्रदेशले योजना अघि सारिदिए भन्ने आफ्नो मनमा हुटहुटी रहेको सुनाइन् । गाउँका विद्यार्थी पढाउने योजना ल्याउन समेत उनले प्रदेश सरकारसमक्ष माग गरिन् । ईतिहास बोकेको कश्यप (ठूलीपोखरी) तालको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकीय गन्तव्य बनाउने प्रदेशको योजना के छ भन्दै उनले आगामी वर्षको बजेटमा यसलाई समेटिदिनु पनि माग गरिन् ।

घर्तीले स्वास्थ्य बिमा औषधोपचारमा जाँदा दुईदिन लाग्ने, सस्तो औषधीमात्र पाइने तर महंगो औषधी किन्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताईन् । खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर नेपालीले १५ सय घरमा पानी वितरण भइरहेको बिसौ वर्ष पुरानो योजना जीर्ण भएको बताए । ४० किलोमिटर टाढाको मुहानबाट पानी ल्याइएको र अहिले पाइप फुटे हैरानी खेप्नुपरेको गुनासो उनले राखे । टीकाराम त्रिपाठीले सामुदायिक विद्यालयमा ध्यान दिन जरुरी रहेको बताए । वडाका सहकारी, हुलाक सेवाको अवस्थाबारे जानकारी लिनुपर्ने भन्दै उनले ऐतिहासिक कास्कीकोट लगायत मठमन्दिरलाई आम्दानीको स्रोत बनाउनु पर्ने बताए । देउराली बोरिङ खानेपानी योजना अध्यक्ष पशुपति सुवेदीले मासिक १२ १५ सय शुल्क तिर्नुपर्ने मारमा उपभोक्ता रहेकाले यसलाई सम्बोधन गर्नुपर्ने माग गरे । वडा नम्बर २५, २४ र २३ जोड्नका लागि कनेक्टीभिटी बाटो भनिए पनि अहिलेसम्म काम नभएको उनले बताए ।

कालीका माविका प्राचार्य इश्वरीप्रसाद बस्ताकोटीले वडाको एकमात्र माविमा २०६६ देखि कम्प्युटर विषयमा पढाई हुँदै आए पनि कम्प्युटरलगायत अन्य विषयगत शिक्षकको अभाव रहेको बताए । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले माविमा विद्यार्थीलाई निशुल्क यातायात सेवा, पोशाक, पुस्तक उपलब्ध गराइएको र कुनै पनि शुल्क नलिइने र पढाई पनि गुणस्तरीय हुँदाहुँदै विद्यार्थी आउन छाडेको दुखेसो पोखे । स्थानीय महिला स्वास्थ्य स्वयंसेवीका रामकुमारी सुवेदीले वडा कार्यालय पुग्न ५ ६ वटा सडक भए सहज यातायातको व्यवस्था र सडकको अवस्था पनि नाजुक भएकाले पोखरा घुमेर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरिन् । पुष्पराज तिवारीले कास्कीकोट स्वास्थ्य चौकी पुग्ने सडक अप्ठेरो रहेको र पर्याप्त उपकरण नहुँदा सेवा प्रवाहमा समस्या भएको उल्लेख गरे । बुद्धि श्रेष्ठ र सिसम बस्ताकोटीले महानगरको एउटा वडा भए पनि फोहोर उठाउने गाडी नपठाउने भन्दै महिनामा २ पटक भए पनि फोहोर उठाउने गाडी पठाईदिन अनुरोध गरे । अर्का स्थानीय बुद्धिबहादुर बस्नेतले स्वास्थ्य विमाको उपचार झन्झटिलो भएको बताए ।

विष्णुहरी शर्माले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसावले अगाडि रहे पनि पछाडि परेको भन्दै पर्यटन प्रवद्र्धनमा जोड दिन प्रदेश सरकारसंग माग गरे । सराङकोट आउने पर्यटकलाई कास्कीकोट ल्याउन नसकिएको भन्दै उनले पर्यटन पदमार्ग बनाएर पर्यटक ल्याउन सकिने भन्दै प्रदेश सरकारले यसतर्फ ध्यान दिन अनुरोध गरे । शिक्षा स्वास्थ्य र रोजगारी नै बसाई सराईको कारण रहेको बताएका उनले गुप्तकालीका मन्दिरको गुठीको खोजी हुनुपर्ने जनाए । चित्रादेवी भट्टराई सुवेदीले किसानको पशुपंक्षी र बाली संरक्षणको बिमा प्रदेश सरकारले गर्नु पर्ने भन्दै बाँदरको आतंकबाट किसानलाई जोगाउने योजना पनि ल्याउन माग गरिन् । माओवादी केन्द्रका वडा अध्यक्ष बलराम गौतमले प्रदेश सांसद प्रकाश बराललाई ज्ञापनपत्रै बुझाएर विभिन्न माग राखे । वडाध्यक्ष भरतबहादुर अधिकारीले लिफ्टिङ खानेपानी योजना आगामी बैशाखमा सम्पन्न भएर समस्या समाधान हुने बताए । प्रदेश र संघ सरकारबाट सहयोग नपुगेसम्म वडा तहबाट मात्रै बाँदर नियन्त्रणलगायत अन्य समस्याको समाधान हुन नसक्ने उनको भनाई थियो ।

सांसद प्रकाश बरालले कुनै पनि योजनाका लागि बजेट अभाव नहुने बरु स्थानीयकै कारण कतिपय योजना कार्यान्वयनमा आउन नसकेको जिकीर गरे । नागरिकका तर्फबाट गर्नुपर्ने काम नहुँदा कतिपय स्थानमा समस्या आएको भन्दै उनले त्यसको मार राजनीतिक नेतृत्वमाथि पर्ने अवस्था रहेको बताए । उक्त वडा लगायत आफ्नो निर्वाचन क्षेत्रको बिकासमा आफ्नो तर्फबाट कुनै कसर बाँकी नरहने भन्दै उनले सवै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सभामा अर्थ तथा बिकास समितिका सभापति भोजराज अर्यालले समितिको जिम्मेवारीमा बजेट विनियोजन नपर्ने स्पष्ट पारे । उनले बजेट बिनियोजनको तलमाथि भएमा त्यसलाई नियन्त्रण गर्ने र जनमुखी बजेट निर्माणमा पहल गर्ने काम भने गर्ने उनले सुनाए । ‘शक्तिका आधारमा भन्दा पनि आवस्यकताका आधारमा योजना छनौट हुनुपर्नेमा त्यस्तो भएको छैन’, उनले भने, ‘स्थानीयले उठाएका विषयलाई प्रदेश सरकार समक्ष पुराउने प्रतिवद्धता जनाउँछु ।’ संघीय संरचनाको अभ्यास भए पनि अहिले केन्द्रीकृत मानसिकता हावी हुँदा संघले प्रदेशलाई कम बजेट दिने गरेको र यसले बिकास निर्माण लगायतका काममा असर पुगेको उनले बताए । आवस्यकता थुप्रै छन प्राथमिकताका आधारमा योजना छनौट गर्नुपर्ने भन्दै उनले केही गर्छु भन्ने युवालाई स्वदेशमै राख्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । संसदीय पत्रकार मञ्चका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम मञ्चका सदस्य पत्रकार प्रकाश ढकालले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->