बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पूरा भयो पोखराको खानेपानी योजना

पूरा भयो पोखराको खानेपानी योजना

कोलपाटनको ट्याङ्की भने जस्ताको त्यस्तै


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८१, बिहिबार

फाइल तस्बिर

पोखरा/मेलम्चीपछि दोस्रो ठूलो मानिएको पोखरा खानेपानी सुदृढीकरण परियोजना सकिएको छ । जापानी सहयोग जापानी सहयोग नियोग (जाइका) को करीब ४ अर्व ५२ लाखको सहयोगमा परियोजना सम्पन्न भएको हो । जाइकाले शुक्रबार यो परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्दैछ । खानेपानीमन्त्री प्रदीप यादवले परियोजनाको उद्घाटन गर्दैछन् ।
जाइका र अर्थमन्त्रालयबीच २०७४ साल फागुन ४ गते खानेपानी सुधार परियोजनाको सम्झौता भएको थियो । सम्झौता अनुसार जाइकाले नेपाललाई ४ अर्ब ८१ करोड १३ लाख जापानी यान प्रधान गरेको थियो । आठ वर्षभित्र पोखराका ४ लाख ५ हजार जनतालाई शुद्ध पानी उपलब्ध गराउने सो महत्वाकांक्षी परियोजनाको २०७५ साल जेठ २९ गते तत्कालीन खानेपानीमन्त्री विना मगरले उद्घाटन गरेकी थिइन् । जापानकै हाज्म एन्दो कर्पोरेसनले यो परियोजनाको निर्माण ठेक्का पाएको थियो । आयोजना सन् २०२५ मै सक्ने र ४ लाख ५ हजार ८८१ जनसंख्यालाई खानेपानी उपलब्ध गराउने लक्ष्य थियो । जापानी निर्माण कम्पनीले तोकिएकै समयमा परियोजना सम्पन्न गरेको छ । पयिोजनाअन्तर्गत ४१ एमएलडी क्षमताको प्रशोधन केन्द्रसहितपोखराको नगर क्षेत्रमा करिब १११ किलोमिटर लामो पाइपलाइन बिस्तार गरिएको छ । निर्माण कम्पनीले पाइललाइन बिस्तारको क्रममा खनेको सडक पनि आफैले मर्मत गरिदिएको छ । खानेपानी संस्थानका अनुसार विन्ध्यवासिनीदेखि जिरोकिलोमिटर हुँदै अमरसिंहचोकसम्म २० इञ्चको पाइप लाइन बिस्तार गरिएको छ भने अन्य ठाउँहरुमा आवश्यकता हेरी १० इञ्च र ६ इञ्चको पाइपलाइन बिस्तार भएको छ ।
खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी मुहानमै र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा आवश्यक प्रक्रियामा अपनाएर प्रशोधन गरिनेछ । पानी सफा बनाउन पुरन्चौरको मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेसन ट्याङ्की’ (ढुंगा, बालुवा हटाउने पोखरी) निर्माणको गरिएको छ भने प्रशोधित पानी दुई किलोमिटर यताको पुरन्चौरमा ल्याएर पुन ः बालुवामा हालेर पुनः प्रशोधन गरिने छ ।
त्यसका लागि चार वटा पानी थिग्ग्राउने ट्यांकी तथा छवटा पानी छान्ने फिल्टर, दुईवटा सफा पानी संकलन गर्ने ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको पनि उनले जानकारी दिए । प्रशोधित पानी त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा आउने छ ।पानी वितरणका लागि आयोजनाले फूलबारी र पस्र्याङमा २० लाख क्षमताको ट्यांकी बनाएको छ । पोखरा १५, कोलपाटनमा बनेको ट्यांकी चाहिँ नेपाल नागरिक उड्डयन प्राधिकरणले भत्काउनुपर्ने बताएपछि अलपत्र रहेको छ । पोखराका मेयर धनराज आचार्यका अनुसार नागरिक उड्डयन प्राधिकरणले ३१ मिटर अग्लो ट्याङ्की काटेर १५ मिटरमा झार्नुपर्ने अडान लिए पनि जाइकाले सो सर्त नमानेपछि परियोजना जे–जस्तो अवस्थामा छ, त्यस्तैमा हस्तान्तरण हुन लागेको हो । हवाइ उडानमा बाधा उत्पन्न हुने भन्दै नागरिक उड्डयन प्राधिकरणले सो ट्यांकी काट्न माग गरेको र त्यसको लागत नै ६४ करोड रुपैयाँभन्दा बढी हुने देखिएपछि जाइकाले सो माग अस्वीकार गरेको हो । कोलपाटनको ३१ दशमलव आठ मिटर अग्लो ओभरहेड ट्यांकीबाट ट्यांकीबाट पोखरा का १०, १४, १५ र १७ का करिब ३४ हजार जनसंख्यालाई खानेपानी वितरण गर्ने लक्ष्य थियो । २०७६ को कात्तिकतिर ट्यांकी निर्माण थालिएको थियो ।
परियोजना सम्पन्न भएसँगै अब पोखरेलीको धारामा विश्व स्वास्थ्य संगठन ( डब्लुटिओ) ले तोकेको मापडण्ड अनुसारको पानी झर्नेछ । खानेपानी संस्थानले पोखरेलीको धारामा आउने पानी प्रशोधित मिनिरल वाटरजस्तै हुने जिकिर गरेको छ ।खानेपानी शुद्ध गर्नको लागि जिवाणु मार्न औषधि हाल्ने,थिग्रयाउनेलगायतका सबै तरिकाहरु अवलम्बन गरिएको खानेपानी संस्थान पोखराका प्रमुख इञ्जिनियर आशिष कार्कीले बताए । उनका अनुसार त्यसका लागि रिजर्रभ्यायर ( पानी संकलन ट्याङ्की ) निर्माण, मुख्य पाइपलाइनसहित वितरण लाइनसम्मको ५६ किलोमिटर लामो पाइपलाइन बिस्तार भएको छ । यसअघि जापानी सहयोगबाटै मर्दीबाट विन्ध्यवासिनीसम्मको ११ किलोमिटर लामो पाइपलाइन बिस्तार भएको थियो ।
अहिले पोखरादेखि ११ किलोमिटर उत्तरतिर रहेको मर्दी खोलाबाट ल्याइएको पानी सोझै पोखरेलीको धारामा पुग्ने गरेको छ । खानेपानी संस्थान पोखराले यहाँको विन्ध्यवासिनीमा रहेको पानी संकलन केन्द्रमा क्लोरिन हालेर पानी शुद्धीकरणको औपचारिकता पूरा गर्ने गरेको छ । पानी शुद्धीकरणको यो सामान्य प्रक्रियाले बर्षायाममा धारामा धमिलो र लेदो मिसिएको पानी आउने गथ्र्यो । तर, अब यो समस्या निराकरण हुने पनि खानेपानी संस्थानले जनाएको छ ।
अहिले पोखरामा मर्दीखोलाबाट दैनिक ३ करोड लिटर, पोखराको पुरानो पानी आपूर्तिस्थल बालधाराबाट ४ लाख लिटर, भोटीखोलाबाट साढे २ लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । पोखरामा दैनिक साढे ४ करोेड लिटर पानीको माग छ । ४ करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आए पनि खानेपानी लाइनको बिस्तार हुन नसक्दा त्यो पानी विन्ध्यवासिनीमा रहेको ट्याङ्कीबाटै खेर जाने गरेको थियो । अहिले पोखरामा दैनिक करीब साढे ३ करोड लिटर पानी बितरण हुँदै आएको छ । मर्दीबाट चार भागको एक भाग मात्र पानी पोखरा ल्याइएकोले पोखरालाई पानीको स्रोतको भने अभाव छैन ।
पोखरामा १९७७ सालदेखि नै योजनावद्ध रुपले खानेपानी बितरणको थालनी भएको हो । पोखराका बडाहाकिम बवर समसेरले बाल्यकालमै बितेका आफ्ना छोरा बालसमसेरको सम्झनामा सराङकोटको पुछारमा रहेको मुलको पानी पोखराको विभिन्न ठाउँमा बितरण गरेका थिए ।
पोखरामा आधुनिक रुपले खानेपानी परियोजना भने २०४४ सालमा मर्दीबाट १६ इञ्चको पाइमा पानी ल्याएर सुरु भएको हो । जाइकाकै १३ करोड ५० लाखको सहयोगमा २०६८ सालमा १६ इञ्चको सट्टामा २० इञ्चको पाइप राखेर विन्ध्यवासिनीसम्म पानी ल्याइएको थियो । खानेपानी परियोजना सम्पन्न भए पनि साढे ४ करोड लिटर नै पानी आउनेमा भने आशंका व्यक्त गरिएको छ । खानेपानी संस्थान स्रोतका अनुसार हस्तान्तरण अघि गरिएको परीक्षणको क्रममा विन्ध्यवासिनीको ट्यांकीमा भनेजति पानी झरेन ।
खानेपानी संस्थानका अनुसार विन्ध्यवासिनीदेखि जिरोकिलोमिटर हुँदै अमरसिंहचोकसम्म २० इञ्चको पाइप लाइन बिस्तार गरिएको छ भने अन्य ठाउँहरुमा आवश्यकता हेरी १० इञ्च र ६ इञ्चको पाइपलाइन बिस्तार भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->