कुनै बेलाको युवा ‘विश्व मान्छे’ को उमेरजस्तै क्रमशः बुढो हुँदै गएको छ । यसको अर्थ विश्वका मानिस तन्नेरीवयबाट क्रमश बुढ्यौलीतर्फ लाग्दै छन् । मानिस जन्मने, युवा हुने र बुढो हुँदै मृत्युवरण गर्नु संसारको रीत नै हो । समयक्रममा अहिले विश्वकै उमेर ढल्कँदो छ ।
‘वर्ल्ड पपुलेसन डाटा सिट’ (डब्लूपीडीएस) २०२४ का अनुसार विश्व जनसंख्याको मध्यम उमेर (मिडियन एज) ३१ वर्ष हो । सबैभन्दा बुढो महादेश युरोप हो । जहाँको मध्यम उमेर ४४.५ वर्ष रहेको छ । यसको अर्थ आधा युरोपियन ४४.५ वर्षभन्दा माथि उमेरका छन् । आधा त्यसभन्दा तलको उमेका छन् ।
सबैभन्दा तरुनो उमेरको अफ्रिका महादेश हो, जहाँको औसत उमेर १९.२ वर्ष छ । विश्वको सबैभन्दा बढी जनसंख्याको बसोबास गर्ने एसिया महादेशको मिडियन एज ३२.१ वर्ष रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालीको मिडियन एज २६ वर्ष छ । वि.सं. १९६८ को जनगणनादेखि २०६८ को जनगणनासम्म नेपालीको मिडियन एज हरेक दशकमा २ वर्षका दरले बढी रहेको थियो । तर २०६८-२०७८ को दशकमा एकैपटक नेपालीको मिडियन एज चार वर्ष बढ्यो ।
विश्व कसरी बुढो हुँदै गयो भन्ने प्रश्नको उत्तर पनि सजिलो छ । किनकि यहाँ युवा र बालबालिकाको जनसंख्या कम भयो र बुढ्यौली उमेरका मानिसको बढी भयो । बालबालिकाको जनसंख्या घट्नु भनेको दम्पतीले बालबच्चा जन्माउने क्रम घटाउनु हो । त्यसको पछिल्लो उदाहरण नेपाल नै हो । जहाँ तीन दशकअघिसम्म सरदर चार जना बच्चा जन्माउने नेपाली दम्पतीले अहिले दुईभन्दा कम बच्चा जन्माउन थालेका छन् । प्रजनन दरमा आएको उच्च गिरावटका कारण युवा र
बुढ्यौली उमेरका मानिसको जनसंख्याको बाहुल्य बढ्दै गएको देखियो । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार २०६८-०७८ को दशकमा नेपालमा १२ लाख बालबालिकाको जनसंख्या घटेको छ ।
पहिला बेबी बुम, पछि पपुलेसन बम
पहिलो र दोस्रो विश्वयुद्धले लामो समयसम्म परिवार बिथोलिए । युद्धकै कारण विश्वले आफ्नो ध्यान नागरिकको स्वास्थ्य, शिक्षा तथा गुणस्तरीय जीवनका अन्य क्षेत्रतिर मोड्न पाएनन् । लडाइँका मुख्य पक्ष र सहायक राष्ट्रहरूले पनि युद्ध सामग्रीको खरिदमै धेरै स्रोतसाधन खर्च गरे । यही कारण त्यसबेला सानासाना महामारीले पनि विश्वमा धेरै मानिसको ज्यान गयो ।
अर्कोतिर युद्धका कारण पनि लाखौं मानिस मरेरमारिए । जसले गर्दा विश्वको जनसंख्या खासै बढेन र भएको जनसंख्याको औसत आयु पनि ६४.८ वर्ष मात्र थियो । जब सन् १९४५ मा शक्ति राष्ट्रहरूले हतियार बिसाएर युद्धको समापन भयो । त्यसपछि मानिस
आफ्नो सहज दैनिकीमा फर्के । मार्न र मर्न तयार भएर युद्धमा होमिएका सैनिक जवान आआफ्ना घरतिर लागे । यस क्रममा सन् १९४६ तिर करिब २ लाख नेपाली युवा युद्ध मैदानबाट घर फर्केको अनुमान गरिन्छ । छुट्टिएका दम्पती भेट भए ।
अविवाहित युवाले विवाह गरे । सन् १८४८ देखि संसारभर यति धेरै बालबालिका जन्मिए कि जुन यसअघि कहिल्यै जन्मेका थिएनन् । जनसंख्याशास्त्रीहरूले अधिक बच्चा जन्मिन थालेको यो घटनालाई ‘बेबी बुम’ को उपमा दिए । यो क्रम करिब १२ वर्ष अर्थात् सन् १९६० सम्म रह्यो ।
बेबी बुम खासगरी अहिलेका विकसित देश युरोप, अमेरिका, जापान, कोरियाजस्ता पूर्व युद्धग्रस्त क्षेत्रमा सबैभन्दा धेरै थियो । बेबी बुमका कारण जनसंख्याको आकार सोचेभन्दा कैयौं गुणा बढेपछि विश्व नै चकित मात्र होइन त्रसित भयो । त्यसपछि उनीहरूले बेबी बुमलाई ‘पपुलेसन बम’ को उपमा दिन थाले ।
बेबी बुमको प्रारम्भिक चरणमा नै सन् १९५४ मा रोममा भएको पहिलो जनसंख्या सम्मेलनमा जसले विश्वको बढ्दो प्रजनन दरतर्फ नजर लगायो र यसलाई न्यून गर्ने उपाय सोच्नुपर्नेतर्फ ध्यानाकर्षण गरायो । त्यसपछिका सम्मेलनमा यो विषय ‘हट केक’ का रूपमा उठाइयो । सन् १९६८ मा भएको बेलग्रेड सम्मेलनपछि पपुलेसन बमलाई निस्तेज पार्न विश्वभर परिवार नियोजनका कार्यक्रम रफ्तारमा अघि बढाइए । विभिन्न देशले आफ्ना जनसंख्या नीतिमा व्यापक फेरबदल गरे ।
बेबी बुमको चपेटामा परेको छिमेकी चीनले सन् १९७१ देखि एक दम्पती स् एक बच्चा नीति ९वान चाइल्ड पोलिसी० लागू गर्यो । युरोप र अमेरिका जस्ता महाद्वीपमा चीनमा जस्तो कडाइ नगरे पनि मानिसलाई सन्तान जन्माउने क्रम घटाउन अनेक उपाय लगाइयो । यसका लागि सरकारहरूले महिला शिक्षा, रोजगारी, महिला सशक्तीकरण आदि विषयलाई प्राथमिकतामा राखे ।
ती देशमा प्रजनन अधिकार महिलामा निहित हुने जस्ता विषयले महिलालाई सन्तान उत्पादनमा निरुत्साहित गर्दै आत्मनिर्भरतामा केन्द्रित गरे । फलतः ती देशको प्रजनन दर एक–दुई दशकमा नै ओरालो लाग्यो । तर हिजो बेबी बुमको समयमा जन्मिएका बालबालिका आज जवान भएका थिए । पश्चिमा देश सन् १९६०-७० को दशकमा नै जनसांख्यिक लाभांश अर्थात् सक्रिय उमेरको जनसांख्यिक बाहुल्य भएको अवस्थामा प्रवेश गरे ।
कुनै पनि देशका लागि विकास र समृद्धिका लागि अति महत्त्वपूर्ण मानिएको जनसांख्यिक लाभलाई ती देशले भरपूर उपयोग गरे । गाँस, बास, कपास जस्ता आधारभूत विषयमा उनीहरू अल्झिएनन् । युद्धको घाउबाट पाठ सिक्दै राजनीतिक स्थिरता, पारदर्शिता र सुशासन कायम गरे । त्यहाँ बच्चा जन्मने क्रम न्यून हुँदै गयो ।

लेखक चेतन अधिकारी
युवायुवतीहरू ढिलो विवाहतर्फ आकर्षित भए । विवाह गरे पनि बच्चा नजन्माउनेतर्फ उनीहरू प्रतिबद्ध हुँदै गएका छन् । खासगरी महिलाहरू ‘माई बडी, माई च्वाइस’ अवधारणामा अघि बढेका छन् । यसले उनीहरू विवाह नै नगर्नेतर्फ केन्द्रित हुँदै छन् । त्यसैले सन्तान उत्पादनको क्रम घटेपछि बालबच्चाको जनसंख्या घट्यो । बालबच्चा घटेपछि युवा घट्दै गए ।
बेबी बुमको समयका बालबालिका आज वृद्धावस्थामा छन् । उनीहरूको उन्नत स्वास्थ्य सेवा, समृद्ध र सुखी जीवनशैली, बलियो सामाजिक सुरक्षा प्रबन्धले औसत आयु पनि करिब ८५ देखि ९० वर्षको हाराहारीमा छ । जनसंख्याको यो हिस्सा उच्च हुँदा ती देश बुढो हुँदै गएका हुन् । अफ्रिका र एसिया महादेशबाहेकका देशको चिन्ता अब जनसंख्या कसरी बढाउने भन्ने हो । साढे छ दशकअघिसम्म जनसंख्याको ठूलो आकारलाई समस्या देख्ने विश्व अहिले जनसंख्याको घट्दो आकार र बढ्दो बुढ्यौली उमेरलाई समस्याका रूपमा लिइरहेको छ ।
विश्वमा हाल ८.१ बिलियन जनसंख्या छ । जनसांख्यिक वितरणको दृष्टिले पाँचवटा महादेशमध्ये एसिया भूगोलमा जस्तै जनसंख्यामा पनि ठूलो महादेश हो । वर्ल्ड पपुलेसन डाटा सिट २०२४ का अनुसार विश्वको जनसंख्याको ५९ प्रतिशत हिस्सा एसिया महादेशले ओगटेको छ । यहाँ करिब ४.८ बिलियन मानिस बस्छन् ।
दोस्रो अफ्रिका महादेशमा १.५ बिलियन, अमेरिकामा १ बिलियन, युरोपमा ७४७ मिलियन र ओसेनियामा ४६ मिलियन मानिसको बसोबास छ । पाँच महादेशमध्ये सन् २०५० मा नकारात्मक वृद्धिदर हुने महादेश युरोप हो । यहाँ आधाभन्दा बढी देशको जनसंख्या वृद्धिदर ऋणात्मक छ । यहाँ जन्मनेभन्दा मर्ने मानिसको संख्या बढी छ । विश्वको कुल प्रजनन दर २।२ प्रति महिला हुँदा युरोपको १।३ मात्र छ । यही कारण सन् २०५० सम्म युरोपको जनसंख्या घटेर ७४७ मिलियनबाट ७३३ मिलियन पुग्ने प्रक्षेपण गरिएको छ ।
एसिया र नेपालको सन्दर्भ
विश्वको ५९ प्रतिशत जनसंख्या बसोबास गर्ने एसियाले जनसंख्याकै बलमा शक्ति क्रमशः आफूतिर खिचिरहेको छ । यसको मुख्य कारण यस महादेशमा रहेका दुई घना जनसंख्या भएका देश भारत र चीन नै हुन् । एसियाको आधाभन्दा बढी जनसंख्या यी दुई देशमा छ । नेपालको छिमेकी देश भारत जो विश्वको सर्वाधिक जनसंख्या भएको देश हो ।
सन् २०२४ मा भारतको जनसंख्या १ अर्ब ४४ करोड ९१।४ बिलियन० छ । उत्तरी छिमेकी चीनमा १ अर्ब ४० करोड ९१.४ बिलियन० छ । विश्वमा नै जनसंख्या कम भएर चिन्ता बढिरहेका बेला एसियामा विद्यमान रहेको यो मानव स्रोत निश्चय नै सबैका लागि चासो र लोभलाग्दो विषय हो । तर एसियामा पनि सबैतिर जनसंख्याको स्वरूप, वितरण र उमेर संरचना उस्तै छैन ।
एसियाका केही देश युरोप जस्तो बुढो हुँदै गएका छन् । डब्लूपीडीएसको ताजा तथ्यांकअनुसार एसियामा जनसंख्याको बढोत्तरी हुने क्रम रोकिएको छैन । यहाँको प्रजनन दर औसतमा सन्तोषजनक नै छ ।
सन् २०५० सम्म हालको जनसंख्याभन्दा १० प्रतिशत बढ्ने प्रक्षेपण गरिएको छ । त्यसबेला एसियाको जनसंख्या ५.३० बिलियन हुने अनुमान गरिएको छ । विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश चीनले वान चाइल्ड पोलिसीबाट मुक्त हुन अनेक प्रयास जारी राखेको छ । सन् २०१५ मा टु चाइल्ड पोलिसी घोषणा गरेको चीन सरकारले अहिले तीन वा सो भन्दा बढी बच्चा जन्माउने दम्पतीलाई विविध प्रकारका सुविधा दिने घोषणा गरेको छ ।
सन् २०५० सम्मको अवधिमा पूर्वी एसियाका चीन, जापान, कोरिया, ताइवानलगायतका देशमा हालको जनसंख्याभन्दा ११ प्रतिशत घट्ने देखिन्छ । पश्चिम एसियाली देशहरू टर्की, सिरिया, इजरायल, साउदी अरेबिया आदिमा हालको जनसंख्याभन्दा ४० प्रतिशत जनसंख्या वृद्धि हुने देखिन्छ ।
एसियाको कुल प्रजनन दर हाल २.१ रहे पनि सन् २०५० सम्ममा १.८ मा झर्ने अनुमान गरिएको छ । तर मध्यपूर्वी एसियाका साउदी अरब, कुवेतलगायतका देशमा यो दर सहजै घट्ने देखिँदैन । त्यहाँको कुल प्रजनन दर अहिले पनि ३.२ छ । सन् २०५० मा पूर्वी एसिया धेरै बुढो भएको हुनेछ । त्यसबेला त्यहाँको जनसंख्यामा १७ प्रतिशत वृद्धवृद्धा हुनेछन् ।
जनसांख्यिक हब
एसियालाई ‘पपुलेसन हब’ पनि भनिन्छ । किनकि युरोप तथा अमेरिकालगायतका महादेशले जनसांख्यिक संकट टार्नका लागि एसियाली देशबाट ठूलो संख्यामा युवालाई आफूतिर आकर्षित गराइरहेका छन् । अमेरिकाले जारी गर्ने डाइभरसिटी भिजा ९डीभी० होस् वा युरोपले दिने अस्थायी बसोबास कार्ड (टीआर) वा स्थायी बसोबास कार्ड (पीआर) नै किन नहोस् । उनीहरूले जनसांख्यिक सन्तुलन कायम गर्न र त्यहाँको
घट्दो प्रजनन दरका कारण उत्पन्न मानव स्रोतको अभाव टार्न यस प्रकारको स्किम एसियाली देशमा बढी फाल्ने गरेका छन् । विश्वका सबैभन्दा बढी जनसंख्याको बसोबास गर्ने देशमध्ये भारतको आर्थिक वृद्धिदर वार्षिक ८ प्रतिशत छ । यो आर्थिक वृद्धिदरले के देखाउँछ भने ठूलो जनसंख्या समस्या होइन रहेछ । छोटो समयमा चामत्कारिक आर्थिक प्रगति गरेको चीनको जनसंख्याको स्थिरता र बढ्दो बुढ्यौली जनसंख्याका कारण उसको आर्थिक उन्नतिमा ब्रेक लाग्न सक्ला कि भन्ने चिन्ता सबैतिर छ ।
जनगणना २०७८ को तथ्यांक विश्लेषणका क्रममा रहेको नेपाललाई आफ्नै आँगनमा भइरहेको एसियाली जनसंख्या सम्मेलनले धेरै कुरा सिकाउनेछ । मंसिर १२ मा सुरु छैटौं एसियाली जनसंख्या सम्मेलन मंसिर १२ देखि १५ गतेसम्म चल्नेछ । विभिन्न विधाका क्षेत्रीय सम्मेलन बेलाबेला नेपालमा हुने गरे पनि अन्तर्राष्ट्रिय जनसंख्या सम्मेलन भएको यो पहिलो पटक हो । त्यसैले यस सम्मेलनबाट नेपालले एसियालाई के सन्देश दिन्छ र आफूले के सन्देश लिन्छ भन्ने महत्त्वपूर्ण छ ।
जनसांख्यिक संक्रमणको चरणमा रहेको नेपालका लागि यस्तो संक्रमण पार लगाइसकेका विकसित देशका अनुभवबाट विद्यमान जनसंख्या समस्यालाई व्यवस्थापन गर्ने उपाय ग्रहण गर्ने यो अवसर पनि हो । नेपाल के कस्ता जनसांख्यिक आँधीहुरी बेहोरेर यो चरणमा आइपुग्यो भनेर एसियाली जनतालाई सुनाउने उपयुक्त अवसरका रूपमा पनि यो सम्मेलनलाई लिन सकिन्छ ।
सम्मेलनमा प्रस्तुत हुने १७ विषयका ४०० भन्दा बढी कार्यपत्रले नेपालले विश्व समुदायबाट जनसांख्यिक संक्रमण पार लगाउन सिक्नुपर्ने अनेकन विषय उठ्नेछन् । जस्तो कि जापान, कोरिया, चीन, भारत जस्ता देशले जनसंख्या व्यवस्थापनमा के कस्ता अभ्यास गरेका छन् भन्ने कुरालाई नेपालले ग्रहण गर्नुपर्नेछ । हाल मस्यौदाका रूपमा रहेको जनसंख्या नीति बनाउन पनि यो सम्मेलनले ठूलो भूमिका निर्वाह गर्नेछ ।
छलफलका क्रममा रहेको जनसंख्या नीतिका लागि आवश्यक पृष्ठपोषण सम्मेलनबाट प्राप्त हुन सक्छ । स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत आयोजक रहेको सम्मेलन नेपालको जनसांख्यिक मुद्दालाई विश्व समुदायमा परिचित गराउने उपयुक्त मौका पनि हो ।
बसाइँ सराइका कारण नेपालका रित्तिँदा पहाड, हिमाल, अवसरको खोजीका कारण रित्तिँदा गाउँ र भरिँदा सहर अनि आकर्षक रोजगारी र गुणस्तरीय शिक्षाका नाममा विदेशिइरहेका युवाका चाहनालाई स्वदेशमै कसरी सम्बोधन गर्ने भन्नेतर्फ पनि सम्मेलनमा प्रशस्त बहस हुनुपर्नेछ ।
हुन त बसाइँ सराइ रोकिँदैन र यसलाई रोक्न खोज्नु पनि मूर्खता हुन्छ । तर मानिसलाई जीवन गुजारा नहुने स्थिति सिर्जना भएर बसाइँ हिँड्नुचाहिँ दुःखदायी हो । यो कुराको अन्त्यका लागि छिमेकी चीन, भारत तथा कोरिया, जापानका अभ्यास हाम्रा लागि उदाहरणीय हुन सक्ने देखिन्छ ।
जलवायु परिवर्तनले ल्याएको तापमानका कारण तराईमा थुप्रिएको जनसंख्या उकुसमुकुसको अवस्थामा छ । मानिस फेरि ‘रिभर्स माइग्रेसन’ को बाटोमा लाग्न थालेका छन् । तराईको गर्मी खेप्न नसकेर पूर्वी तराईका परिवार पुनः पहाडतर्फ उक्लिन थालेका उदाहरण भेटिन्छन् ।
सन् १९९४ को जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी) विश्वको जनसंख्या व्यवस्थापन, प्रजनन अधिकार, विकासमा जनसंख्याको महत्त्व आदि विषयलाई मुख्य मुद्दा बनाउन कोसेढुंगा साबित भएको मानिन्छ, त्यसैगरी एसियाली जनसंख्याको उचित उपयोग गरेर यो महाद्वीप जनसांख्यिक शक्तिलाई कायम गर्नेतर्फ सम्मेलनमा बहस हुनुपर्छ । आयोजक राष्ट्रको हैसियतले नेपालले केही हैरानी बेहोरे पनि देशका नीति निर्मातालाई एसियाका जनसांख्यिक मुद्दा सुनाउने र बुझाउने उपयुक्त अवसरमा रूपमा लिनुपर्छ ।





