गुल्मी/मुसिकोट नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदका लागि मतदान जारी छ । ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको उप–निर्वाचनमा अहिलेसम्म एक हजार २ सय ८० मतदाताले मतदान गरेका छन् ।
४ हजार ५१ जना मतदाता रहेको वडामा वडा अध्यक्ष पदका लागि ५ जना राजनीतिक दलबाट र ३ जना स्वतन्त्र गरी जम्मा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बिहान ७ बजेदेखि तोकिएकै समयमा मतदान सुरु भएको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए ।
वडाध्यक्षको लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री उम्मेदवार छन् । यसैगरी स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताए ।
त्यस वडामा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन गरिएको हो । मतदान सकेलगत्तै मतगणना पनि वडामै हुने घिमिरेको भनाई छ । त्यसका लागि मतगणनास्थल तयार गरिसकिएको छ ।





