पोखरा/शुक्रबार राती ७ बजेर १५ मिनेटमा घान्द्रुबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा ५५ वर्र्षीया धनकुमारी बुढाको मृत्यु भयो । जेब्रा क्रसबाट श्रीमानसँगै धनकुमारीले सडक काट्न लागेकी थिइन् । सिसिटिभी फुटेजमा देखिएअनुसार धनकुमार हतार गर्दै बाटो काट्छिन । उनको श्रीमान भने कुरेर बस्छन सोही क्रममा तीब्र गतिमा आएको ट्रकले ठक्कर दिन्छ । गम्भीर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।
यस्तै मंसिर ३ गते सोमबार मध्यराति २ स्कुटर दुर्घटना हुँदा कास्की नौडाँडाका २७ वर्षीय किरण अधिकारीको घटनास्थलमै ज्यान गयो । पोखरा ४ चिप्लेढुंगाको गाउँसहर दोहोरी साँझमा गीत गाउँदै आएका किरण ड्युटी सकिएपछि साथीलाई हेम्जा मिलनचोक छाडेर फर्कँदै गर्दा फलामेबारमा ठोक्किदा उनको मृत्यु भयो । यी उदाहरणमात्र हुन् । घट्टेखोलादेखि याम्दी पुलसम्म (हेम्जा एरिया) पोखरामा सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र हो । पोखरा–बागलुङ राजमार्गको यो क्षेत्रमा सडक निकै चाक्लो छ । बजार क्षेत्र भएतापनि त्यहा सवारी सिमित गतिभन्दा बढिमा हुइँकिन्छन् । माथिका यी दुई घटनाले निकै चर्चा पाए । कारण हो, धनकुमारी बुढा सामाजिक अभियन्ता तथा टिकटकर गिभिना मगरको आमा र किरण लोक गायक । धनकुमारीको मृत्यु हुँदा वियोगमा रहेका उनका छोराले आमाकै सलले आत्महत्या गरे । दुर्घटनाको मुख्य कारण तीब्र गति र अध्यारो हो । हेमजाको सो सडक खण्ड रातको समयमा निकै अध्यारो हुनेगरेको छ । पछिल्लो सयम त्यहाँका स्थानीयहरुले सडक अध्यारो भएकाले दुर्घटना हुने गरेको आक्रोश पोख्दै आइरहेका छन् । राजमार्ग भए पनि बस्ति आसपास सडक लाइट हुनुपर्नेमा त्यसो नभएको उनीहरु सुनाउछन् । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको आइतबारसम्ममा हेम्जा क्षेत्रमा मात्रै सात जनाको मृत्यु भइसकेको छ । प्रहरीको एक तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷०८१ मा ८ वटा गम्भिर प्रकृतिका दुर्घटना भए । जसमा दुई पुरुष र दुई महिलाको मृत्यु भयो । ११ जना घाइते भए । यस्तै आव ०८१÷०८२ मा ७ दुर्घटना हुँदा एक पुरुष र दुई महिलाको मृत्यु भयो भने ६ जना गम्भीर घाइते भए । स्थानीयले भाइरल नभइ दुर्घटना रोड भएको । मिलनचोकमा जस्तै अन्य क्षेत्रमा समेत लाइटको आवश्यकता रहेको स्थानीय बताउछन् । ट्राफिक प्रहरीको अनुसार शुक्रबारको घटनामा श्रीमान र श्रीमतिले सडक पार गर्न लागेको र श्रीमान कुरेर बस्दा श्रीमती भने सोझै बाटो काट्दा दुर्घटना भएको बताए । ट्राफिक प्रहरीको अनुसार समेत सो स्थानमा अध्यारो हुने गर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेयका अनुसार दुर्घटना हुनुको कारण सडक प्रयोगकर्ता नै हुन । पैदलयात्री र सवारी चालक दुवैले हतार गर्दा दुर्घटना हुने गरेको उनी सुनाउछिन् । ‘हाम्रो सजकताको कमीले दुर्घटना भएको देखिन्छ । पैदलयात्रीले पनि हतार गर्न भएन र चालकले पनि सिमित गतिमा सवारी चलाउनुपर्छ । यसमा हतार नै मुख्य कारण देख्छु म,’ उनले भनिन्, ‘पैदलयात्रीलाई बाटो काट्न हतार हुन्छ, चालकलाई तीव्र गतिमा जान । सबै सचेत छन तर सचेत बन्दिनु हुँदैन । हेम्जाको सडक स्मुथ सर्फेस छ, निकै राम्रो छ त्यहाँ स्पिडमा नै चलाउँछन् ।’ तीव्र गति नियन्त्रणका लागि राडर गनसहित जाँच गर्दै आइरहेको र गति सीमितका लागि समेत बोर्डहरु राखिएको छ । ट्राफिकले मात्रै नहुने र प्रविधिको प्रयोग गर्न अत्यावश्यक रहेको उनी सुनाउछिन् । यात्रा गर्दा सुरक्षित तरिकाले यात्रा गर्न अनुरोध गरिन् ।
वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले सडक लाइटबारेमा सडक विभागलाई बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको बताए । उनले पोखराको भाइरल रोडको नाममा चिनिन थालेको हेमजाको सडकमा दुर्घटना बढेपछि गतवर्ष मात्रै जेब्रा क्रस भएका ठाउँहरुमा सवारी क्रस गर्न नमिल्ने गरी बन्द गरिएको बताए । उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि रोड सेफ्टीका लागि हर प्रयास भएको छ । सडक चाक्लो भएकै कारण गति तीब्र गर्ने गरेको उनी सुनाउछन् । दिनको समयमा ट्राफिक प्रहरीले गति मापनसहितको चेकिङ गर्ने गर्दछ । हाल सो सडकमा लाइटको समस्या छ । ‘लाइट राख्ने जिम्मा सडक विभागको हो । हामीले उहाँहरुलाई बारम्बार यो बारेमा भन्ने गरे पनि उहाँहरुले अटेर गरेपनि महानगरले नै भएपनि राख्न पर्छ भनेर आवाज उठायौं तर राजमार्ग हाम्रो मातहातमा पर्दैन,’ उनले भने ।





