काठमाडौं/रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३ हजार ६ सय २७ मत ल्याउँदा एमालेकी तुलाचनले २ हजार १ सय २८ मतमा चित्त बुझाउनु पर्यो ।
एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर चुनावी प्रतिस्पर्धामा थिइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् ।
बागुलुङमा भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रासँगै वडानम्बर २ का वडाध्यक्ष जयबहादुर सीर्पालीको पनि निधन भएको थियो । वडाध्यक्षको उपनिर्वाचनमा भने माओवादीकै जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।





