बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पुस तेस्रो साता २० औं लेखनाथ महोत्सव हुने

पुस तेस्रो साता २० औं लेखनाथ महोत्सव हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८१, सोमबार

पोखरा/पोखराको सबैभन्दा ठूलो महोत्सवको रुपमा चिनिन थालेको लेखनाथ महोत्सवको २० औं संस्करण पुसको तेस्रो सातादेखी हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुँदै आएको महोत्सवको २० औं संस्करणका लागि लेउवासंघ तयारीमा जुटेको छ ।
सोमबार संघको सभाहलमा पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने आयोजित पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी गराइएको छ । संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलेहरेक पटक सफलता हात पारेको सुनाए । समयानुकुल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, लेखनाथमा रहेका तालहरुको प्रवद्र्धनसँगै स्थानीय उत्पादनलाई जोड दिदैँ आइरहेको सुनाए । संघकी महासचिव एवं महोत्सवका प्रचार प्रसार संयोजक जानुका पराजुलीले महोत्सवको मुख्य आकर्षणको रुपमा सांस्कृतिक गतिविधि, खुल्ला युगल जोडि नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायत रहेको सुनाइन । उनका अनुसार महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि महिला समूहहरुबिच हाजिरि जवाफ प्रतियोगिताको आयोजना हुनेछ । महोत्सवको थप आकर्षणको रुपमा यो वर्ष गौतम बुद्धको प्रतिमा राखिने र सो प्रतिमालाई महोत्सव पश्चात लेखनाथको उचित स्थानमा राखिने छ । महोत्सवको बचतवाट प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकासलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सीनाले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्राण्डिङ गरिनुपर्ने बताउँदै अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरेका थिए । महोत्सवको मुख्य प्रायोजक रहेको राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका प्रमुख पुष्पचन्द्र थापाले संस्थाको सामाजिक उत्तरदायित्वसँगै स्थानिय मेला महोत्सवको प्रर्वद्धन गरि यस क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उद्धेश्यले सहकार्य गरेको बताए।संघका बरिष्ठ उपाध्यक्ष एवंम महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुर्ण भूमिका खेलेको दाबी गरेका थिए । पुसको १८ गते देखि माघ १ गते सम्म पोखरा २७ को तालचोकमा हुने महोत्सवमा कुल ३३६ स्टल रहने छ।अटो प्रदर्शनी स्टल ६, शैक्षिक÷ग्रामिण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहने छन् । संघका सदस्यहरुलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ सोमबार देखि नै खुल्ला गरिएको छ भने अन्य व्यवसायीहरुका लागि मंसिर २४ गते देखि बुकिङ खुल्ला गरिने र सदस्य स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप दुई हजार रूपैयाँ उपलव्ध गराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->