बागलुङ/पत्रकार महासंघ बागलुङमा सर्वसम्मत नेतृत्वका लागि प्रेस सेन्टर बागलुङले पहल गर्ने भएको छ ।
प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बागलुङको बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनमा बागलुङमा सर्वसम्मत नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको हो ।
अध्यक्ष थम्मन थापाको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्रियाशील चार पत्रकार संगठनहरुबीच अघिल्लो निर्वाचनका बेला भएको लिखित सहमतिलाई कार्यान्वयन गरी सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण गर्न सम्बद्ध सबै पक्षलाई आव्हान गर्ने निर्णय गरेको सचिव अनिष खातीले जानकारी दिए ।
२०७७ मा चारवटै पत्रकार संगठनहरुबीच आठौँ अधिवेशनमा प्रेस सेन्टरको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्ने लिखित सहमति गरिएको थियो । यसअघि २०७७ चैतमा सम्पन्न सातौँ र २०७३ मा भएको छैठौँ जिल्ला अधिवेशनमा पनि सहमहितका आधारमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
बैठकले अन्य संगठनहरुसँग छलफल र वार्ताका लागि अध्यक्ष थापाको नेतृत्वमा पाँच सदस्यीय समन्वय समितिसमेत गठन गरेको छ । समितिको सदस्यमा राजेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, अनिष खाती र निर्मलबहादुर श्रेष्ठ रहेका छन् । पत्रकार सम्बद्ध संगठनहरुबीच आपसी एकता र सहकार्यमा जोड दिँदै महासंघको गरिमालाई थप उच्च राख्न सेन्टरले आवश्यक भूमिका निर्वाह गर्ने अध्यक्ष थापाले बताए ।
यस्तै बैठकले सेन्टरको छैठौँ जिल्ला अधिवेशनलाई केन्द्रीय समितिको परिपत्र अनुसार निर्धारित समयभित्रै सम्पन्न गर्न आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ । बैठकले सेन्टरको जिल्ला समन्वय समितिको सदस्य पदमा पत्रकार विनोद थापा ‘प्रतिक’, दिलिप पर्तेल र दिनेश जिसीलाई मनोनित गरेको छ ।





