बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महानगरको विशेष नगरसभा २३ गते सम्मकालागि स्थगित

पोखरा महानगरको विशेष नगरसभा २३ गते सम्मकालागि स्थगित


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८१, बिहिबार

पोखरा/ करारका कर्मचारी, शिक्षक र सामाजिक परिचालक हटाउने निर्णयबिरुद्ध आन्दोलित एमालेबाट निर्वाचित वडाध्यक्षको माग अनुसार विहीबारलाई आव्हान गरिएको पोखरा महानगरपालिकाको विशेष नगरसभा मंसिर २३ गतेसम्मका लागि स्थगीत भएको छ । विहीवार सभा सुरु भएर उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरेलगत्तै मेयर धनराज आचार्यले थप छलफल गर्नुपर्ने भन्दै सभा आगामी आइतबारसम्मका लागि स्थगित भएको जानकारी गराए ।

गत कात्तिक १४ गते बसेको नगर कार्यपालिका बैठकले करारका २८ कर्मचारीसहित केही शिक्षक र सामाजिक परिचालकलाई हटाउने निर्णय गरेपछि एमालेका जनप्रतिनिधि आन्दोलित भएका थिए । यही विषयमा एमालेले ५ बुँदे प्रस्ताव पेश गर्दै विशेष नगर सभा माग गरेको थियो । नगर सभामा बहुमत रहेको एमालेले ३७ औं कार्यपालिकाको निर्णय खारेज गर्ने लगायतका प्रस्ताव मेयर आचार्यसँग गरेको छ ।  स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी पदपूर्ति नभएसम्म हाल करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको करार सम्झौता नवीकरणबारे विशेष नगर सभामा छलफल गर्ने एमालेको प्रस्ताव छ । साथै, एमालेले कार्यपालिकाको २५ औं बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निर्णय पूर्ण कार्यान्वयन गर्न प्रस्ताव गरेको थियो ।

महानगरपालिकाको स्वीकृत दरबन्दी संरचनामा नपरेका कर्मचारीलाई उनीहरुको पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने लगायतका माग पनि एमालेले राखेको छ । यसरी अन्य पालिकामा स्थायी नियुक्ति लिई पोखरा महानगरमा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा, सुविधाको दायित्व महानगरले लिन नहुने एमालेको भनाई छ ।

विशेष नगर सभामा पोखरा सभागृह भवन निर्माण, महानगरको प्रशासकीय भवन निर्माण, पोखरा बसपार्क निर्माण, फेवातालको मापदण्ड कार्यान्वयन र फोहोरमैला व्यवस्थापनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माणबारे छलफल गरिनुपर्ने महानगरमा एमाले दलकी नेता राधिका शाहीले बताइन् ।

विशेष नगरसभाबारे स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेको छ । ‘सभाका एक तिहाइ सदस्यले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुख समक्ष विषय वा कारण खुलाई लिखित अनुरोध गरेमा १५ दिनभित्र अध्यक्ष वा प्रमुखले सभाको विशेष बैठक बोलाउनेछ,’ ऐनमा भनिएको छ । विशेष नगरसभाको औचित्य नभएको भन्दै कांग्रेसका वडाध्यक्ष एवं नगर सभा सदस्यहरुले विरोध गर्दै आएका थिए । कतिपय विषय अदालतमा विचाराधीन अवस्थामा रहेकाले अहिले विशेष सभाको औचित्य नभएको उनीहरुको भनाइ थियो । बिहीबार नगर सभा सुरु हुनु अगावै कांग्रेसका जनप्रतिनिधिले सभास्थल पोखरा सभागृहमा विरोध एवं नारावाजी समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->