पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसि छिनेडाँडा पोखरामा पर्यटनसम्बन्धी अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
पोखराका विभिन्न १७ वटा कलेजका विद्यार्थीहरु बीच भएको ‘किन किशोरकिशोरीहरु विदेश भ्रमण जानु अघि स्थानीय पर्यटन अन्वेषण गर्नुपर्छ’ विषयक प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलकी समता थापा प्रथम भएकी छन् । एनटिएचएमसिकी मेलिना पाठक दोश्रो हुन सफल भएकी छन् भने डायमण्ड बोर्डिङ स्कुलका ऋतिक गुरुङ तेश्रो हुन सफल भए ।
विद्यार्थीहरुलाई अंग्रेजी र नेपालीमध्ये कुनै एक भाषामा बोल्न दिइएकोमा उनीहरु केहिले नेपाली र केहिले अंग्रेजीमा आफ्नो प्रस्तुति दिएका थिए । १७ कलेजका ५१ विद्यार्थीका साथमा उनीहरुका शिक्षक पनि कार्यक्रममा सहभागि भएका कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।
विजयी विद्यार्थीहरुलाई निर्णायक संयोजक बसन्त गौतम, कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले मायाको चिनो तथा प्रमाणपत्र दिएका थिए ।
एनटिएचएमसिमा पुष ६ गते फुड फेष्टिबल हुने
यसैबीच, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडामा आउदो पुषको ६ गते फुड फेष्टिबल आयोजना गरिने भएको छ । बीएचएम छैटौं सेमेस्टरका विद्यार्थीले आयोजना गर्ने फुड फेष्टिबलमा विभिन्न खानाका परिकारका साथ मनोरञ्जनात्मक कार्यक्रम हुने बताईएको छ ।
उक्त फेष्टिबलमा सरिक हुनका लागि वक्तृत्वकलामा विजयी भएका विद्यार्थीहरूलाई दुई दुईवटाको दरले फ्रि इन्ट्रि टिकेट उपलव्ध गराईएको छ ।





