काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार दिउँसो भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हरायो ।
जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५.५ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटियो । काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाउँदा सुमित महर्जनले १४, भिम सार्की र जेरार्ड इरासमसले १०÷१० रन जोडे ।
काठमाडौँलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए भने अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक÷एक विकेट लिए ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर बिनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाए ।
बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिँदा साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक÷एक विकेट लिए ।
सुदूरुपश्चिमले यसअघि विराटनगर किंग्सलाई ९० रनले हराएको थियो । तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो ।
यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।





