पोखरा/विन्ध्यवासिनी माध्यमिक विद्यालय वाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मानसहित विदाई गरिएको छ ।
करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्घ अधिकारीले अनिवार्य अवकास पाउनुभन्दा एक वर्ष अघिनै स्वेच्छिक अवकास लिएका हुन् । विद्यालयले बिहिबार एक कार्यक्रमका बिच माध्यमिक तह प्रथम श्रेणी, अँग्रेजी विभागका प्रमुख अधिकारीलाई सम्मानसहित विदाइ गरेको हो ।
सो विद्यालयमा लामो समय अध्यापन गराएका पोखरा १६ निवासी अधिकारीलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, पुर्व अध्यक्ष नरनाथ भट्टराई, गोविन्द बहादुर बस्नेत, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले मायाको चिनोसहित दोशल्ला ओढाएर सम्मानसहित विदाई गरेका थिए ।
कार्यक्रममा बोल्दै समितिका जेष्ठ सदस्य भट्टराइले अवकास पछिको जीवन पनि शिक्षा क्षेत्रमै लगाउन आग्रह गरे । प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्षिक विकासमा अधिकारीले पुर्याएको योगदानको प्रशंसा गर्दे आगामी दिनमा विद्यालयको शैक्षिक विकासमा पनि रचनात्मक सहयोग र सुझावको अपेक्षा राखेको बताए । विद्याथीले पञ्चेबाजा बजाउँदै आफ्ना प्रिय गुरुलाई निवाससम्मै पुर्याएका थिए ।
२०४४ सालमा घाचोकको हालको शुक्लागण्डकी माविबाट शिक्षण पेशामा प्रवेश गरेका अधिकारीले २०४६ देखि २०४८ सम्म विन्ध्यवासिनी मावि, २०४९ देखि २०५२ सम्म राष्ट्रिय मावि र त्यसपछि फेरी निरन्तर रुपमा विन्ध्यवासिनीमा अध्यापन गराएका थिए । २०६८ मा विद्यालयको प्रधानाध्यापक समेत बनेका अधिकारीले २०७६ मा काज मिलाएर केही समय कोशी प्रदेशका प्रदेश प्रमुखको स्वकीय सचिव समेत बने । उनले शिक्षण सिकाई र टे«नरका रुपमा कोरिया, जापान, अष्ट्रेलिया लगायतका विभिन्न देशको भ्रमण गरी शैक्षिक अनुभव आदानप्रदान गरेका छन् ।






