बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्य र शिक्षामा परदेशबाटै लगानी

स्वास्थ्य र शिक्षामा परदेशबाटै लगानी


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८१, बिहिबार

नगर अस्पताल बनाउने अभियानमा गलकोटे युवाले ५० लाख बढी सहयोग पठाए ।

बागलुङ/गलकोट नगरपालिका–८ को स्वास्थ्य चौकीमा आफ्नै एम्बुलेन्स छ । कोही बिरामीको तत्काल रिफर गर्नुपरेमा बिरामीले गाडी खोज्ने समस्या हटेको छ । यसअघि बिरामी रिफर गर्नुपरेमा बोकेर मध्यपहाडी लोकमार्ग लगेपछि ट्याक्सी खोज्नुपर्ने बाध्यता थियो । अहिले त आफ्नै एम्बुलेन्स भएकोले तत्काल पठाउन सहज भएको स्वास्थ्य चौकीकी अनमी ज्ञानु काउचाले बताइन् ।
नरेठाँटी स्वास्थ्य चौकी, गलकोट नगर अस्पताल लगायतका स्वास्थ्य संस्थामा पनि एम्बुलेन्सको व्यवस्था छ । जसको कारण स्थानीयले सहजै सेवा पाउन सकेका छन् । ती सबै एम्बुलेन्समा जापानमा बस्ने गलकोटेको सहयोग छ । जापानमा काम गरेका युवाले पठाएको रकमबाट स्वास्थ्य संस्थामा रहने गरी एम्बुलेन्स भित्राइएको हो ।
गलकोटबाट धेरै युवा विदेशमा छन् । विदेशमा भएकै कारण समयमा उनीहरु घर आउन पाएका छैनन् । तर गाउँमा बाबुआमा र बालबालिका बिरामी पर्दा समयमा उपचार गर्न स्वास्थ्य संस्था लैजान पनि नसक्ने परिस्थिति आउन नदिन उनीहरुले लगानी गरेका हुन् । एम्बुलेन्स खरिदका लागि गलकोट समाज जापानले लाखौं रकम सहयोग गरेको छ ।
युवाहरुले झण्डै एक करोड रकम पठाएपछि गलकोट नगरपालिका वडा नं. ५ मा आँखा उपचार केन्द्र र थिरबम स्मृति पुस्तकालय पनि बनेको छ । गलकोटमा हुने खेलकुद प्रतियोगिता संचालन गर्नुपरे युवाहरुले लाखौं रकम सहयोग गर्छन् । कोही बिरामी भयो भने उपचार खर्च समेत जापानबाट आइपुग्छ । छात्रवृत्तिदेखि पूर्वाधार विकासमा पनि गलकोट समाज जापानको ठूलो सहयोग छ ।
अघिल्लो वर्ष त लडेर घाइते भएका एक बिरामीको उपचारमा समेत जापानबाट ६ लाख रकम आयो । त्यहीं पैसाले उनले उपचार गरे । मानसिक रोगले ग्रसित हटियाकै नेत्रबहादुर पुनको उपचारमा युवाहरुले ८ लाख सहयोग गरे । नगर अस्पताल बनाउने अभियानमा गलकोटे युवाले ५० लाख बढी सहयोग पठाए । रोजगारीको लागि गएका युवाले २० टोलका उपसमिति समेत बनाएर निरन्तर गाउँमा सहयोग गरेका छन् । उनीहरुले गलकोटमा मात्रै करोडौंको लगानी र सहयोग गरेको तथ्यांक छ । एक दशकमा २० करोड बढीको सहयोग भित्रिएको गलकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष फमबहादुर खत्रीले बताए ।
उनीहरुले बिरामी उपचार खर्च, अस्पताल निर्माण, सडक तथा अन्य पूर्वाधार निर्माण, विद्यालयमा अक्षयकोष, छात्रवृत्ति र असहायलाई सहयोगमा लगानी गरेका छन् । ‘विद्यालयमा पढ्ने बालबालिकालाई न्यानो कपडा, जुत्ता, झोला र कापीकलमका लागि समेत जापानबाट सहयोग जुटेको छ,’ उनले भने, ‘यो गलकोटेको एकता र सहयोगको प्रतिफल हो ।’ सामान्य समस्याको उपचार गर्नु पर्दा गलकोटबासीले ५० किमी परको सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । अहिले उपचार स्थानीय रुपमै पाउने व्यवस्था पनि भएको छ ।
वडा नं. ५ को हरिचौरमा बनेको १५ शैयाको नगर अस्पतालमा ल्याब स्थापना र एक्सरे सेवाका लागि मात्रै गलकोट समाज जापानले ३० लाख सहयोग गरेको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए । ‘नगर अस्पतालमा एक जना चिकित्सक राख्नका लागि पनि गलकोटे युवाले सहयोग गरेका छन्’ भण्डारीले भने, ‘अस्पताल संचालनका लागि मात्रै गलकोट समाज जापानको वार्षिक ३० लाख लगानी भैरहेको छ ।’ उक्त रकमले एक चिकित्सक, एक रेडियोग्राफरको समेत व्यवस्थापन भएको उनले बताए ।
गलकोट समाजका पदाधिकारीमध्ये एकदुइ जना पालैपालो वर्षेनी गलकोट आउने गर्छन् । गाउँको वास्तविकता बुझेर फर्कने, कतिपय कामको अनुगमन गर्ने समेत उनीहरुले गरेको स्थानीय दिपेश केसीले बताए । ‘खेल मैदान बनाउने कामदेखि एम्बुलेन्स किनेर हस्तान्तरण गर्ने काममा पनि समाजका सदस्य कोही न कोही आउने गरेका छन्,’उनले भने, ‘विभिन्न पूर्वाधारको काम समितिका पदाधिकारीले पनि अनुगमन गर्छन् ।’
सन् २०१० बाट क्रियाशिल भएको गलकोट समाजले १४ वर्षमा गलकोट क्षेत्रमा मात्रै २० करोड रुपैयाँ भन्दा धेरै रकम सहयोग जुटाइसकेको छ । यसअघि कतिपय सहयोगको तथ्यांक नराख्दा अलमल भएको भन्दै सबै लागत संकलनको काम गरिरहेको खत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->