पोखरा/ इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परिक्षण र पाठेघरको मुखको क्यान्सर परिक्षण शिविरबाट झण्डै एक सय जना लाभान्वित भएका छन् । कार्यक्रमका लागि अमेरिका निवासी देवीरमण सापकोटाले सहयोग गरेका थिए । ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा चुममाया पुनले सहजिकरण गरेकी थिइन् । शिविर उद्घाटन गर्दै मादी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिलबहादुर क्षेत्रीले सामाजिक संघ संस्थासँग समन्वय गरी अघि बढ्न तयार रहेको उल्लेख गरे । त्यसअवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल र पोखरा महानगपालिका वडा नं १३ की वडा सदस्य रजनी परियारले सरकार र संघसंस्था मिलेर काम गर्दा उपलब्धि हुने बताए । इनर व्हिल क्लव अफ पोखराका अध्यक्ष रेष्मा बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवको संस्थापक अध्यक्ष सोनु सिग्देल, तप्राङ् स्वास्थ्य चौकी इञ्चार्ज शोभाकान्त पौडेल र महारुद्र्र माविका प्रधानाध्यापक डिल्लीराम देवकोटाले आफ्नो धारणा राखेका थिए ।





