पोखरा/नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजकसहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रवक्ता समेत रहेका सिग्देलका अनुसार, अभियानका क्रममा गर्नुपर्ने कामका बारेमा सोमबार कार्यक्रम गरी अभिमुखीकरण गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं अभियानका कास्की प्रतिनिधि गोविन्द भट्टराईले पार्टी विचार र सिद्वान्तले चल्नुपर्ने बताए । काँग्रेसले मात्र देश र जनताको हितमा काम गर्ने उनको भनाइ थियो ।
कास्की काँग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर, पालिका र गाउँपालिका सभापतिहरुको संयुक्त बैठक बसेर सुझाव संकलन गरी प्रतिनिधि खटाएको हो । वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले बताऐ । ‘अभियान प्रभावकारी रुपमा संचालन हुन्छ’, सभापति बरालले भने, ‘अभियानले पार्टी शशक्त बनाउन ठूलो सहयोग गर्ने छ ।’





