पोखरा/ सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं हुँदै बिरगन्ज पुराइएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनलाई वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ । लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार दिउँसो सिमरा हुँदै बिरगन्ज पुराइएको हो ।
यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिसकिएको छ । लामिछानेसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । आइतबारमात्रै लामिछानेबिरुद्ध कास्की जिल्ला अदालतले ४ दिन म्याद थपेको थियो । उनलाई गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएको थियो ।





