पोखरा/पोखराको न्युरोडमा स्कोरपियोले स्कुटरलाइ ठक्कर दिँदा एकको मृत्यु भएको छ । पोखरा महानगरपालिकाको कार्यालयदेखी करिब ५० मिटर माथि सभागृहबाट महेन्द्रपुलतर्फ जाँदै गरेको बा १३ च २५७५ नम्बरको स्कोरपियोले गलत दिशातर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो ।
स्कोरपियो चालक स्याङजा पुतली बजार नगरपालिका ४ का ३९ वर्षिय भविन्द्र गौतम रहेका छन । ग १८ प ४९११ नम्बरको स्कुटरलाई चालक रुपा गाउँपालिका ४ माउडाडाँकी २० वर्षिय प्रतीक्षा सिंहको मृत्यु भएको हो । उनको अनुहार र टाउकोमा चोट लागेको थियो । यस्तै स्कुटरमा सवार रुपा गाउँपालिका ५ देउरालीकी १९ वर्षिय अस्मिता बसौला सामान्य घाइते भएकी थिइन् । करिब १० मिटरको दुरीमा रहेको पद्यमश्री हस्पिटलमा उपचारको लागि लगिएपनि अस्पतालले ७ बजेर १० मिनेटमा मृत घोषणा गरेको हो ।
दुर्घटनाका प्रत्यक्षदर्शी आले तामाङले स्कुटर गलत बाटोमा आएको बताए । न्युरोडमा महेन्द्रपुलबाट सभागृहसम्मको सडकको बिचमा डिभाइडर रहेको छ । उनका अनुसार मृतकलाई स्कोरपियो उचालेर निकालिएको थियो । ‘चलाउने त स्कोरपियोको मुनि थियो । स्कोरपियो उचालेर निकालेको हो’ उनले भने, ‘पछाडी बस्ने चाँही उछिटिएर डिभाइडरभन्दा उता पुग्यो र जोगियो ।’
यस्तै पैदलयात्री सन्दीप भट्टराइले पनि स्कुटरले गलत वे बाट हिडेको सुनाए । ‘यो साइडबाट तल जाने नै होइन । अलिकति घुम्दैमा के हुन्थ्यो र सायद यताबाट जाँदा छोटो दुरी पर्छ भनेर होला आखिर ज्यानै गयो ।’ स्कोरपियो समेत गतिमै रहेको थियो ।





