पोखरा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा मंसिर २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेनल मार्फत जानकारी दिइएको हो ।
कास्की जिल्ला कमिटीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । महोत्सवमा शैक्षिक कार्यक्रमदेखि विविध सांगीतिक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै अनुसन्धान र विकासमा विश्वविद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ । यस्तै दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुनेछ । यसैगरी कविता प्रतियोगिता, चित्रकला, अन्तरसंवाद कार्यक्रम (स्थानीय सरकार), सांस्कृतिक नृत्य प्रतियोगिता, पुरस्कार वितरण तथा लाइभ कन्सर्ट हुनेछ ।
लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुती रहनेछ भने, रचना रिमाल र टुकीको पनि प्रस्तुती रहनेछ । महोत्सव पिएन क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीले जनाएको छ ।





