बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रधानन्यायाधीश राउतको प्रश्न न्यायलयलाई केन्द्रमा राखेर वकालत भइरहेको छ त ?

प्रधानन्यायाधीश राउतको प्रश्न न्यायलयलाई केन्द्रमा राखेर वकालत भइरहेको छ त ?


  • लालप्रसाद शर्मा
  • मंसिर २५ २०८१, मंगलबार

पोखरा/ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानून व्यवसायीले न्यायलयलाई केन्द्रमा राखेर वकालत भएमा मात्र न्यायलयको सुधार संभव रहेको बताएका छन् । अहिले वकालत कसरी भइरहेको छ ? के न्यायलयलाई सेन्टरमा राखेर भइरहेको छ या आफुलाई सेन्टरमा राखेर भइरहेको छ ? वा यदाकदा मुद्धा जिताइदिउला भन्ने जिम्मा लिएर भएको छ या छैन ? अथवा पक्षको मुद्धा हो हारजीत मतलव छैन तर म पक्षको तर्फबाट सशक्त प्रतिनिधित्व गर्दछु भनेर भइरहेको छ ? उनले प्रश्न गरेका छन् ।

नेपाल बार एसोसियशनको मानव अधिकार सम्बन्धी गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै प्रधानन्यायाधीश राउतले आफुलाई सेन्टरमा राखेर वकालत गर्ने कुरा कानून व्यवसायीलाई स्मरण गराउनै नपर्ने बताए । ‘तर न्यायलयलाई सेन्टरमा राखेर वकालत भइरहेको छ की छैन ?’ कानून व्यवसायीसंग प्रश्न गर्दै उनले भने, ‘मेरो बुझाईमा न्यायलयलाई केन्द्रमा राखेर वकालत नगर्ने हो भने न्यायलयको सुधार असंभव छ ।’
राउतले बोल्ने अधिकार सबैलाई भए पनि बोल्दा संययता अपनाउनु पर्ने बताए । कानून व्यवसायीले धेरै प्रश्न र जिज्ञासा राखेको प्रसंग निकाल्दै उनले प्रधानन्यायाधीशबाटै प्रश्न गरेर मेरो निष्ठा, क्षमता, सदासयता, भूमिकालाई परीक्षण गर्न आग्रह गरे । त्यसका लागि आफु जतिखेर पनि तयार रहेको उनले बताए । लोकतन्त्र, बहुलवाद र खुला समाजमा प्रश्न गर्न पाइन्छ । तर प्रश्न गर्न पाइन्छ भन्ने नाममा नाजायज, अनुचित, आग्रह, पुर्वाग्रह र प्रतिशोध राखेर प्रश्न गर्न नपाइने र त्यो क्षम्य हुन नसक्ने र छलफलको बिषय पनि बन्न नसक्ने उनको भनाई थियो । नाजायत, आग्रह, पूर्वाग्रह वा प्रतिशोधको उद्देश्यले प्रश्न राख्न थालियो भने त्यस्तो प्रश्नले आफ्नो साख, ओज र जीवन्तता गुमाउने र प्रश्न तेतैतिर फर्केर प्रत्युत्पादक बन्न पुग्ने उनले बताए । नेपाल बारले न्यायलय सुधारका विषयमा उठाउँदै आएका विभिन्न विषयप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
बोल्ने अधिकार सबैलाई भए पनि के बोल्न पाइन्छ, के बोल्न हुन्छ, कहाँ संययता अपनाउनु पर्छ भन्नेतर्फ सोच्नु पर्ने उनले बताए । सबैको आआफ्नो सीमा र लक्ष्मणरेखा कहाँसम्म हुन्छ र कतिसम्म मैले सम्बोधन गर्नुपर्ने हो भन्नेतर्फ सबैले बिचार पुराउनु पर्ने उनको भनाई थियो ।

न्यायको बढो लोकप्रिय कथन रहेको उनले बताए । जहाँ अधिकार हुन्छ त्यहाँ उपचार हुने भन्दै उनले उपचार विनाको अधिकारको तागत र हैसियत कति होला भन्ने प्रश्न पनि उनको थियो । मानव अधिकारको विश्वव्यापी मान्यताले यसलाई नैसर्गिक अधिकारको उद्घोष गरेको र मानव अधिकारलाई, यसको सन्दर्भ वा विषयलाई कुनैपनि भूगोल र सिमानाले सिमिति राख्न र रोक्न नसक्ने उनले बताए । ‘आजको विश्व र संसारलाई सबैले नियालेर हेरौन कस्तो देखिन्छ, कस्तो देखिरहेका छौ । बम बारुदले मानव सभ्यता चाँही लज्जित भएको बेलामा आज हामी मानव अधिकारको प्रसंगमा आफ्ना दृष्टिकोण सम्प्रषेण गर्न गइरहेका छौ,’ उनले भने, ‘मलाई लाग्दछकी मानव अधिकारको जो कुरा उठिरहेको छ, यसको संरक्षण बढो दुरुह देख्दछु ।’ मानव अधिकारको संरक्षणमा कति उत्तम अभ्यासहरु भएका छन भन्दै उनले मानव अधिकारको अधिकतम उत्तम अभ्यास गर्न पाउने सर्वाधिक अवसर र सुयोग विद्धान कानुन व्यवसायीलाई प्रचुर रुपमा मिल्ने बताए । यो बहुमुल्य अवसरलाई तपाईहरुले कसरी उपयोग गरिरहनु भएको छ, यसमा कति सफलता मिलिरहेको छ, या मानव अधिकारको कार्यक्रम गर्नुपर्छ, मनाउनु पर्छ भन्ने औपचारिकताको बाध्यताले मात्र हामीलाई कतै गाजेको त छैन भन्दै उनले बारप्रति प्रश्न तेर्साएका थिए ।

वैयक्तिक स्वतन्त्रता मुटुको धमनी रहेको र यो मानव अधिकारसंग प्रत्यक्ष जोडिने उनले बताए । ‘फिजिकल्ली त मानिस एकपटक मर्ने होनी । तर बाँच्ने आधारहरु दुष्कर भए भने, रोजगार गर्ने अवसरहरु निमिट्यान्न भए भने, ह्यान्ड टु माउथको कारणले जीवन मरणको कहालीलाग्दो अवस्थाको सामाना गर्नुपरो भने मानिस दिनमा १० पटक मर्छ नी’ उनले भने, ‘बाँच्ने अधिकारको सशक्त वकालत कसले गर्नुपर्छ । यो अहं जिम्मेवारी कसको हो ।’ कानून व्यवसायीलाई देखाउँदै उनले तपाईहरु विद्धान, प्रवुद्ध मात्रै नभई सामाजिक अभियन्ता पनि भएकाले मानवअधिकारको रक्षाका लागि सिभिल सोसाइटीको अगुवाको रुपमा स्थापित गर्न आग्रह गरे ।

वकालत भन्ने कुरा आफुलाई सानदार लाग्थ्यो, लाग्छ र पछिसम्म पनि लागिरहने उनले बताए । वकालतको ब्युटी भनेको गुड प्राक्टीस रहेको र यस्तो प्राक्टीक्समा नाम, दाम, पहिचान, सम्मान, सोसल स्टाटसलगायत प्रचुर हुने उनको भनाई थियो । सही ढंगको वकालतले तपाईहाम्रा चेतनाका सबे अवयवहरुलाई खुलाईदिने र न्यायमूर्तिका पनि नखुलेका चेत खुल्ने उनले बताए । ‘जव तपाई लिवर्टी र फ्रिडममा गुड प्राक्टीस गर्नुहुन्छ, त्यसको मजा अर्कै छ’ उनले भने, ‘साच्चिकै ढंगको वकालतले मानव अधिकारको संरक्षण हुन्छ ।’ उनले कानून व्यवसायीलाई विद्धताको पनि सानदार प्राक्टिस गर्न पाउने, बेजोड प्रस्तुति गर्नसके लेखकदेखि नेतासम्म बन्न पाइने बताएका थिए । वकालत पेशाको चमात्कारिक शक्ति रहेको र त्यस्तो शक्तिलाई प्रकाश राउतले नजर अन्दाज नगर्ने उनले बताए । ‘न्यायिक अक्षुण्ण र न्यायिक स्वतन्त्रताको यो पेशा आधार स्तम्भ हो’ उनले भने, ‘तपाइहरुको पेशागत शक्तिको सार्थक योगदानबाट न्यायलय ‘रिफर्म’ हुन्छ भन्ने मेरो अन्तिम ठम्माई र विश्वास छ ।’ आजको चुनैतिपूर्ण समयमा हामी जोकोहीले परम्परागत भूमीकाबाट छलाङ मार्नुपर्ने देखिएको भन्दै अव अतितको सन्दर्भलाई मात्र बोकेर आजको चुनौतिलाई सामना गर्न नसकिने तर अतितबाट पाठ भने सिक्नुपर्ने बताए ।

व्यावसाियकताले ओतप्रोत कानून व्यवसायीले मात्र न्यायापालिकाको गरिमा र मर्यादा बचाउन, जोगाउन र अभिबृद्धि गर्न सक्ने उनको भनाई थियो । कानुन व्यवसायीले व्यवसाय गरेर मात्र न्यायापालिकाको जनआस्था र गरिमा नबढ्ने भन्दै उनले व्यवसायिकता ठूलो र सर्वााधिक महत्पूर्ण रहको, व्यवसायिकताले कति सफलता हात लागेको छ भन्ने कुराको अध्ययन, अनुसन्धान, अन्वेषण नभएको जिम्मा कसले लिने हो भन्ने प्रश्न पनि गरे । उनले बारसंगको सहकार्यले मात्र न्यायपालिकाको पवित्र उद्देश्य प्राप्त गर्न सकिने बताए । सहकार्यले आइडियाल, रिजनेवल, र्याश्नल, बोल्ड, स्ट्रोग, जस्ट र फियर पार्टनर खोज्ने तर धेरै आग्रह राखेर सहकार्य गर्न खोज्यो भने त्यो कुरा ठिक ठाउमा नपरेको मान्न सकिने भन्दै उनले बारसंग सहकार्य गरेर न्यायपालिकाको गरिमा र मर्यादा अभिबृद्धि गर्न सिंचित गर्न चाहेको बताए ।
न्यायलय सुधार सम्बन्धी हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन हुन थालेको उनले बताए । प्रतिवेदनमा नेपाल बारलाई १० वटा जिम्मेवारी दिए पनि त्यो कार्यान्वयन हुन नसकेको गुनासो गर्दै प्रधानन्यायाधीश राउतले पहिला आफुले गरेर पछि अदालतलाई किन गरिनस भन्नुपर्ने भन्दै सुझाव दिए । ‘बारले यसलाई सधै लिस्नो हाल्न हुदैन’ उनले भने, ‘म आएपछि प्रतिवेदनलाई फुलकोर्टमा राखेर छलफल चलिरहकेो छ । थुप्रै काम भइरहेका छन । पंचवर्षीय योजना बनाएर धेरै कुरा समेटिएको छ ।’ मुद्धा व्यवस्थापन, बहस व्यवस्थापन, फैसला कार्यान्वयन लगायतको काम भइरहेको बताउँदै उनले रिजल्ट आउन समय लाग्ने बताए ।

बारले जेसुकै भनेपनि, जेसुकै निर्णय गरे पनि सहकार्य गर्न तयार रहेको उनले बताए । न्यायालयको सुधारमा लाग्दा पद छाड्न पनि तयार रहेको उनको भनाई थियो ।बारले उठाएका विषयलाई जिम्मेवारीको बोध गर्ने र मर्यादा र सीमाभित्र रहेर सम्बोधन गर्न तयार रहेको उनले बताए ।
महान्यायाधिवक्ता रमेश वडालले नेतृत्वले कुशलतापूर्वक काम गरेमा जुनसुकै समस्याको समाधान हुने बताए । यतिबेला बार र बेन्चबीच साइकोलोजी दरार छताछुल्ल भएको भन्दै यसको केही समयपछि परिणाम आउँने विश्वास व्यक्त गरे । आफ्नो पक्षले मुद्धा हारेमा कानुन व्यवसायीले सामाजिक संजालमा बिरोध गरेमा अव बार काउन्सिलले स्पष्टीकरण सोध्ने लगायत काम गर्ने उनको भनाई थियो ।
गण्डकी प्रदेशका उजार्, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले बार र बेन्चको समुधर सम्बन्ध हुनुपर्नेमा जोड दिए । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले मानवअधिकार उलंघनका विषयमा भेदभाव नगरी आवा उठाइरहने प्रतिवद्धता जनाए । संविधानको कार्यान्वयनका विषयमा झकझकाइरहेको उनले बताए । अहिले न्याय परिषद् नियमावली संसोधनको खारेज गर्न भनिएको विषयलाई लिएर बार र बेन्चको बिचमा टकराव भनिएको उल्लेख गर्दै उनले यो टकराव नभएको बताए । नियमावली संसोधन गैरसंवैधानिक छ भनेर खारेज गर्न भनेको तर नटेरेकाले बाहिर निस्किएका उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->