
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री कृष्ण प्रसाद पाठकज्यूको १०० दिनका मुख्य उपलब्धिहरू
पदभार ग्रहणः २०८१ भाद्र १७ गते ।
पृष्ठभूमि
संघीय शासन प्रणाली अनुरुप स्वास्थ्य सेवाको संचालन तथा व्यवस्थापनको जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहमा निहित छ । प्रदेशमा रहेका सिमित श्रोत, साधन र अवसरहरूको अधिकतम उपयोग गर्दै गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ को दीर्घकालीन सोच “समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागरिक” एवं “सामाजिक न्याय, सुशासन र जवाफदेहितामा आधारित स्वास्थ्य प्रणालिको विकासका माध्यमबाट स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच र उपभोग सुनिश्चित गर्दै स्वास्थ्यलाई समग्र विकासको एक प्रमुख आधार स्तम्भको रुपमा स्थापित गर्ने” लक्ष्य हासिल गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ । संविधानले मौलिक हकका रूपमा व्याख्या गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवालाई प्रदेशमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट आम नागरिकको पहुँचमा पुर्याउँदै प्रदेशमा विशेषज्ञ र विशिष्टिकृत सेवा विस्तार गर्न मन्त्रालय निरन्तर क्रियाशिल रहेको छ । साथै स्वास्थ्य क्षेत्रका उपलब्धिहरू हासिल गर्न संघ सरकार, स्थानीय तह र सरोकारवालहरु बीच समन्वय र सहकार्य बढाउन स्वास्थ्य मन्त्रालय निरन्तर लागि परेको छ ।
स्वास्थ्य क्षेत्रमा सुशासन र नविनतम प्रविधिको प्रयोगलाई आत्मसात गर्दै स्वास्थ्य मन्त्रालयले आफ्ना गतिविधी सञ्चालन गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा विद्यमान समस्या तथा चुनौतीहरु पहिचान गरी त्यसको समाधान गरेर समग्र स्वास्थ्य प्रणालीको सबलीकरण र आम प्रदेशबासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेसँगै घोषणा गरेका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्य योजना बमोजिम यस अवधि (१०० दिन) मा प्राप्त गरेका मुख्य मुख्य उपलब्धिहरु यहाँहरु मार्फत गण्डकी प्रदेश वासी दाजुभाई तथा दिदि बहिनी समक्ष प्रस्तुत गर्दछु ।
मन्त्रालयबाट तय भएका अल्पकालीन, मध्यकालीन तथा दिर्घकालिन योजना र सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गरेको बाह्र बुँदे प्रस्ताव अनुसूचीमा संलग्न गरेको छु ।
- नीतिगत तथा कानूनी सुधार
- गण्डकी आयुर्वेद औषधालय,कास्की र धौलागिरी आयुर्वेद औषधालय,बागलुङलाई स्तरोन्नति गरी गण्डकी आयुर्वेद अस्पताल र धौलागिरी आयुर्वेद अस्पताल कायम गरेर संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न सैद्धान्तिक सहमति समेत प्राप्त भई कार्य अगाडी बढाइएको छ ।
- आँपपिपल अस्पताल, गोरखा र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, बागलुङलाई गण्डकी प्रदेश सरकारको निर्णयबाट स्तरोन्नति गरी आँपपिपल अस्पताल र बुर्तिबाङ अस्पताल कायम गरेर बजेट तथा कार्यक्रम सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था हुनुका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न सैद्धान्तिक सहमति समेत प्राप्त भई कार्य अगाडी बढाइएको छ ।
- गण्डकी प्रदेश निजामती सेवा ऐन र नियमावलीलाई स्वास्थ्य क्षेत्र मैत्री हुने गरी संशोधन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष सिफारिस गरिएको छ ।
- नेपाल सरकारबाट छात्रवृत्ती प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पदस्थापन र सरुवा सम्बन्धी मापदण्ड, २०८१ तयार गरी लागू गरिएको छ ।
- संघीय सरकारबाट जारी भएका निर्देशिका, कार्यविधि बमोजिमका समिति गठन गर्ने क्रममा प्रादेशिक एक स्वास्थ्य (One Heath) निर्देशक समिति, एक स्वास्थ्य प्राविधिक समन्वय समिति, नसर्ने रोगको रोगथाम तथा नियन्त्रण प्रादेशिक समन्वय समिति गठन भएको छ ।
- प्रदेश मातहतका सबै अस्पतालको फार्मेसीहरुको सुदृढीकरणको लागि अस्पतालको परिसरमा अस्पतालको आफ्नै फार्मेसी मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ ।
- आयुर्वेद स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेशको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पेश गर्नका लागि प्रकृया अगाडी बढाइएको छ ।
- चिकित्सक एवं स्वास्थ्यकर्मी प्रोत्साहन सम्बन्धी कार्यविधि, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन कार्यविधि, अन्तर अस्पताल विशेषज्ञ चिकित्सक परिचालन सम्बन्धी कार्यविधि, निजि स्वास्थ्य संस्थाको दर्ता, नविकरण र अनुगमन सम्बन्धि कार्यविधि, अस्पतालको आर्थिक व्यवस्थापन सम्बन्धी मापदण्ड, क्यान्सर उपचार सहायता सम्बन्धी कार्यविधि जस्ता विभिन्न कानूनी दस्तावेजहरुको मस्यौदा तयार गरिएको छ ।
- गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहतका ३९ निकायहरुको नाम कार्य प्रकृतिको आधारमा संशोधन गर्नको लागि मन्त्रिपरिषदको बैठकमा प्रस्ताव पेश गरिएको छ ।
- सुशासन
- मन्त्रालयका मा. मन्त्रीज्यू र सचिव बीच एवं मन्त्रालयका सचिव र प्रादेशिक निकायका महानिर्देशकहरु बीच कार्यसम्पादनमा आधारित कार्यसम्पादन सम्झौता गरिएको छ ।
- चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम समयमै सम्पन्न गर्न मातहतका सबै निकायहरुको मासिक कार्ययोजना बनाई कार्यान्वयनमा लगिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा प्रदेश समानिकरण तर्फ ९.६८ प्रतिशत र संघ सशर्त तर्फ ९.९३ प्रतिशत गरी समग्रमा ९.७४ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ ।
- मन्त्रालय र मातहतका निकायहरुको त्रैमासिक रुपमा प्रगति तथा खर्च विवरण वेबसाइटमा राखी सार्वजनिकीकरण गर्नुका साथै मासिक प्रगति समीक्षा भर्चुअल विधिबाट सुरु गरिएको छ ।
- मन्त्रालयमा आन्तरिक नियन्त्रण समिति गठन गरी मातहतका विभिन्न निकायहरुबाट १८.८७% बेरुजु यस अवधिमा फर्छ्यौट गरिनुका साथै तदारुकताका साथ बेरुजु फर्छ्यौट गर्न निर्देशन दिइएको छ ।
- सेवा प्रवाह तथा संस्थागत क्षमता विकास
- मातृशिशु मितेरी अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ सेवा सुरुवात गरिएको छ ।
- संक्रामक तथा सरुवा रोग अस्पतालमा बीमा मार्फत जनरल सेवा विस्तार गर्नको लागि थप विशेषज्ञ जनशक्ति (कन्सल्टेन्ट मेडिकल जनरलिस्ट १ जना, कन्सल्टेन्ट स्त्री रोग विशेषज्ञ १ जना, कन्सल्टेन्ट बाल रोग विशेषज्ञ १ जना र कन्सल्टेन्ट हाड जोर्नी विशेषज्ञ १ जना) को दरवन्दीको व्यवस्था गरिएको छ ।
- प्रदेश सरकार मातहतका अस्पतालहरु (मनाङ अस्पताल बाहेक) मा आँखा, दाँत र फिजियोथेरापी सेवा विस्तार गरिएको छ ।
- मुस्ताङ अस्पतालमा एम.डी.जि.पि. चिकित्सकको व्यवस्था गरी विगतमा प्रभावित भएको आकस्मिक प्रसुति तथा नवजात शिशु सेवालाई निरन्तरता दिइएको छ ।
- लमजुङ अस्पतालमा सघन उपचार कक्ष (ICU) सेवा सञ्चालन गरिएको छ ।
- क्षयरोगका बिरामीहरुको पहिचान गरी उपचारको दायरामा ल्याउन समुदाय स्तरमा Artificial Intelligence जडित एक्सरे प्रयोग गरी जोखिम समूहका ४८९२ जनाको स्क्रिनिङ गरी ६९ जना नयाँ क्षयरोगका बिरामी पत्ता लगाइएको छ । सोही अवधिमा थप १५ जना औषधी प्रतिरोधी क्षयरोगका बिरामी समेतको पहिचान गरिएको छ ।
| क्रं .स. | पालिका | मिति | स्क्रिनिङ गरिएको संख्या | पत्ता लागेको बिरामीको संख्या |
| १ | देवचुली-७ र १६ | २०८१/०६/२ र ३ गते | ११०९ | २६ |
| २ | बारपाक-१ र ४ | २०८१/०७/ ११ र १२ गते | ५४५ | १० |
| ३ | बन्दिपुर-२ | २०८१/०७/ २६ र २७ गते | ४०३ | ५ |
| ४ | गलकोट-२ र ११ | २०८१/०८/ ११ र १२ गते | ७०९ | १० |
| ५ | पोखरा -२७ | २०८१/०८/ १३ र १४ गते | ४८१ | ३ |
| ६ | भिरकोट-१ | २०८१/०८/ १९ गते | ४३४ | १३ |
| ७ | वालिङ-१ | २०८१/०८/ २० गते | ६९३ | ५ |
| ८ | हुप्सेकोट १ र २ | २०८१/०८/ २२ र २३ गते | ५१८ | १० |
| जम्मा सेवाग्राही संख्या : | ४८९२ | ६९ | ||
- उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी स्क्रिनिङ कार्यक्रम संचालन गरिएको छ । स्याङजाको पुतलिबजार नगरपालिका वडा नं ३ मा २२६ जनामा गरिएको स्क्रिनिङमा १०६ उच्च रक्तचाप र २० जनामा मधुमेहको समस्या देखिएको छ ।
- क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारबाट थप रू. एक लाख रकम उपलब्ध गराउने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं, बि. पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौंसँग सम्झौता गरी कार्यक्रमको विस्तार गरिएको छ । चालु आर्थिक वर्षको श्रावण देखि कात्तिक २३ गतेसम्म गण्डकी प्रदेशका जना ५२४ क्यान्सरका बिरामिहरुले १,६९,२८,९३५/- बराबरको उपचार सहायता प्राप्त गरेका छन् ।
- स्वीकृत कार्यविधि बमोजिम रेडक्रससँगको समन्वयमा १४४४६ पिन्ट रगत तथा रगतजन्य सेवा बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइएको छ ।
- प्रदेश सरकार मातहतका १२ अस्पतालमा सेवाग्राहीको चाप अनुसार जनशक्ति व्यवस्थापन र थप सेवा प्रवाहका गर्न २६४ जना प्राविधिक जनशक्ति थप गरिएको छ ।
- धौलागिरी आयुर्वेद अस्पताल, बागलुङ र गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा अन्तरंग सेवा सञ्चालन गर्न तत्कालको लागि सेवा करारमा २० जना र प्रादेशिक निकाय तथा स्वास्थ्य कार्यालयहरुमा थप १५ जना प्राविधिक जनशक्तिको व्यवस्था गरिएको छ ।
- धौलागिरी आयुर्वेद अस्पताल, बागलुङ र गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा अकुपञ्चर, क्षारसूत्र, मर्मचिकित्सा, अग्निकर्म सेवा प्रवाह गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा क्षारसूत्र स्वयं निर्माण गरी सेवा प्रदान गरिएको छ ।
- मनाङ अस्पतालमा फार्मेसी सेवा सञ्चालनमा ल्याइनुका साथै प्रदेश मातहतका अस्पतालहरुको फार्मेसी सुदृढीकरणका लागि २१ जना फार्मेसी सहायक सेवा करारमा राखिएको छ ।
- गण्डकी प्रदेश भित्र सरकारी ९ वटा र निजी ६ वटा गरी जम्मा १५ वटा स्वास्थ्य संस्थाबाट ७७५ जना बिरामीहरुले डायलायसिस सेवा प्राप्त गरिरहेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १०,२६९ पटक डायलाइसिस सेवा प्रवाह भएको छ जसबाट बिरामीहरुको ८ करोड २१ लाख ५२ हजार बचत भई स्वास्थ्यमा हुने व्यक्तिगत खर्च घटेको छ । यसैगरी संक्रामक तथा सरूवा रोग अस्पताल, कास्कीमा आवश्यक जनशक्ति, औजार उपकरण र भौतिक पूर्वाधारको व्यवस्थापन गरी २५ शैय्या क्षमताको डायलाइसिस केन्द्र संचालन कार्यलाई थप व्यवस्थित गरिएको छ ।
- छात्रवृत्ति करार कार्यक्रम अन्तर्गत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत सहितका कुल ३७ जना स्वास्थ्यकर्मीहरूलाई यस अवधिमा मातहतका कार्यालयहरूमा कामकाजमा खटाइएको छ ।
- धौलागिरी, गोरखा, बेनी, लमजुङ, मध्यविन्दु र दमौली अस्पतालमा मनोसामाजिक विमर्शकर्ताको व्यवस्था गरी मनोसामाजिक विमर्श सेवा प्रदान गरिएको छ ।
- मनाङ र मुस्ताङ अस्पतालमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म विस्तारित OPD सेवाको सुरुवात गरिएको छ साथै बेनी, पर्वत, लमजुङ, स्याङ्जा, दमौली, गोरखा, र मध्यविन्दु अस्पतालमा विस्तारित सेवाको कार्यक्रमलाई निरन्तरता दिनुको साथै प्रदेश सरकारले अस्पतालहरुमा जनशक्तिको थप व्यवस्था गरे सँगै सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । जस्तै चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा अस्पतालहरुबाट गत वर्षको सोहि अवधिको भन्दा थप ४१,३९५जना बिरामीले सेवा लिएका छन् ।
- अस्पतालहरुको सर्जरी सेवालाई थप विस्तार र व्यवस्थित गरिएको छ । हालसम्म गोरखा अस्पतालमा १८ जनाको र धौलागिरी अस्पतालमा १४ जना ल्याप्रोस्कोपिक सर्जरी (पित्त थैलीको पत्थरीको) भएको छ भने लमजुङ, तनहुँ, धौलागिरी र मध्यविन्दु अस्पतालमा गरी जम्मा २६ जना आङ खसेका महिलाहरुको नि:शुल्क शल्यक्रिया गरिएको छ ।
- दमौली अस्पताल, तनहुँमा सञ्चालित हेमोडायलाइसिस सेवालाई व्यास न.पा.-१०, दुम्सी बजार स्थित व्यास नगर अस्पतालमा स्थानान्तरण गरी दमौली अस्पतालकै व्यवस्थापनमा सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
- प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवालाई प्रदेशको रणनैतिक स्थानहरुमा विस्तार गर्न नक्साङ्कन (Laboratory Mapping) गरिएको छ ।
- मनाङ, मुस्ताङ, पर्वत र मध्यविन्दु अस्पतालको निर्माणाधीन भवन चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी सेवा प्रवाहमा प्रयोग गर्ने गरी निर्माण कार्यलाई तिव्रता दिन समन्वय गरिएको छ ।
- दमौली अस्पतालको लागि थप जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । दमौली अस्पताल, स्याङ्जा अस्पताल, लमजुङ अस्पताल र गण्डकी आयुर्वेद अस्पताल, कास्कीको नयाँ भवन निर्माणको लागि डिपिआरको प्रक्रिया अघि बढाइएको छ .

- आपूर्ति व्यवस्थापन
- गण्डकी प्रदेशका सबै स्वास्थ्य संस्थाहरुबाट नियमित खोप सेवा अटुट रुपमा संचालनका लागि आपूर्ति व्यवस्थापन भइरहेको छ ।
- प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नसर्ने र मानसिक रोगको २२ प्रकारका, नवजात शिशु एवं बाल रोगको ११ प्रकारका, आधारभूत र आकस्मिक उपचारका लागि ४५ प्रकारका, आयुर्वेदको २३ प्रकारका औषधीहरु खरिदका लागि टेण्डर आव्हान भई सम्झौताको चरणमा पुगेको छ ।
- USG Machine (७ वटा) खरिदको लागि प्राविधिक मुल्यांकन सम्पन्न भई आर्थिक प्रस्ताव खोल्न सूचना प्रकाशन गरिएको छ भने अन्य बायोमेडिकल उपकरणहरु (Pool therapy, Interventional radiology, Phaco machine) को प्राविधिक स्पेसिफिकेसन तथा लागत तयार गरी सूचना प्रकाशनको चरणमा रहेको छ ।
- औषधि तथा औषधिजन्य सामग्रीहरुको परिमाण निर्धारण तथा प्रक्षेपण सम्बन्धी गण्डकी प्रदेशका ११ जिल्लाका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरी स्थानीय तहका स्वास्थ्यकर्मीलाई समेत उक्त तालिम प्रदान गरिएको छ ।
- मातृ, नवजात तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण
- गण्डकी प्रदेशका सबै स्थानीय तहबाट हेली उद्धार गर्न सकिने गरी “जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि, २०८०” बमोजिम जटिलतामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकप्टर मार्फत Air Lifting गर्ने कार्य निरन्तरता दिइएको छ र यस अवधिमा मन्त्रालयको समन्वयमा संघीय सरकारबाट थप २ जना समेत गरी जम्मा ६७ जनाको हेली उद्धार गरिएको छ ।
- सम्पूर्ण गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थाबाट वा समुदायमै मोबाइलमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत हालसम्म ६५४७ गर्भवती दर्ता गरी आमा र शिशुको स्वास्थ्य अवस्था अनुगमन गर्ने विद्युतीय प्रणाली संचालनमा ल्याइएको छ ।
- सुरक्षित प्रसुतिका लागि २० जना स्वास्थ्यकर्मीहरुलाई दक्ष प्रसुतिकर्मी (SBA) तालिम प्रदान गरिएको छ भने थप २७ जना स्वास्थ्यकर्मीहरुले हाल तालिम लिइरहनुभएको छ ।
- गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउन्ड सेवालाई स्थानीय तहको समन्वयमा थप ५ वटा स्वास्थ्य संस्था (अर्मन स्वास्थ्य चौकी, म्याग्दि, रेश स्वास्थ्य चौकी, बागलुङ, भुकताङ्गले स्वास्थ्य चौकी, पर्वत, मग्याम चिसापानी स्वास्थ्य चौकी, स्याङ्जा, मुस्चोक स्वास्थ्य चौकी, गोरखा र गौडा प्राथमिक स्वास्थ्य केन्द्र, लमजुङ) मा विस्तार गरिएको छ ।
- गण्डकी प्रदेशको आकस्मिक प्रसुति तथा नवजात शिशु सेवाहरुको हालको अवस्थाको विश्लेषण गरी भौगोलिक दुरी र पहुँचको आधारमा रणनैतिक ठाउँहरुमा सो सेवालाई सुदृढ गर्ने कार्य अघि बढाइएको छ ।
- गण्डकी प्रदेश सरकारको सहयोग, समन्वय र सहजीकरणमा बागलुङको गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा (CEONC) को सुरुवात गरिएको छ ।
- गुणस्तरीय जनस्वास्थ्य सेवा प्रवाह
- विज्ञसहित सम्बन्धित सरोकारवाला बीच प्रतिजैविक प्रतिरोधका सम्बन्धमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट भएको अनुसन्धानको नतिजा सार्वजनिक गर्नुका साथै सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । यसका साथै स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश भित्रका सबै अस्पतालहरुमा antibiotic prescription गर्नु अघि antibiotic sensitivity analysis गर्ने व्यवस्थाका लागि परिपत्र गरिएको छ ।
- लमजुङ, पर्वत, बागलुङ, तनहुँ र मनाङमा आत्महत्या रोकथाम सचेतना अभियान तथा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिएको छ ।
- कास्की, लमजुङ, पर्वत, तनहुँ, गोरखा र म्याग्दीको प्रसुति तथा नवजात शिशु सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ७६ पटक सम्बन्धित संस्थामा तालिम प्राप्त प्रशिक्षक मार्फत प्रयोगात्मक सुपरिवेक्षण र सहयोग (MNH Onsite Coaching and Mentoring) कार्यक्रम सम्पन्न गरिएको छ ।
- लमजुङ, पर्वत, बाग्लुङ, नवलपरासी (ब सु पू) मा पोष्टपार्टम डिप्रेसन सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको छ ।
- स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि कास्की, पर्वत, लमजुङ र नवलपरासी जिल्लामा(ब सु पू) CPHE (Continuing Pubic Health Education) कार्यक्रम संचालन भएको छ ।
- सूचना व्यवस्थापन तथा अनुसन्धान
- अस्पतालहरुमा संचालित इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लगायत डिजिटल हेल्थ सम्बन्धी सबै प्रणालीहरूलाई थप व्यवस्थित गर्ने गरी १० जना सूचना प्रविधि अधिकृत सहित डिजिटल हेल्थ इम्प्लिमेण्टेशन युनिट (Digital Health Implementation Unit) को स्थापना गरिएको छ ।
- गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको प्रमुख आतिथ्यतामा मातहत निकायका प्रमुख एवं अन्य सरोकारवालाहरुको सहभागितामा “आ.व. २०८०/८१ मा मातहतका कार्यालयबाट सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रम” सञ्चालन गरी आगामी कार्यदिशा तय गरिएको छ । साथै चालु आर्थिक वर्षको मातहतका सबै कार्यालयहरुको पहिलो त्रैमासिक समीक्षा सम्पन्न गरिएको छ ।
- ६६ स्थानीय तहका ६६० वटा स्वास्थ्य संस्थाबाट Real Time प्रतिवेदन हुने गरी विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (Electronic Health Management Information System: e-HMIS) कार्यान्वयनमा ल्याइएको छ । हाल स्थानीय तहका ३००४ स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेको यस प्रणाली मार्फत दैनिक औषतमा ६००० जना बिरामीको विवरण प्राप्त हुने गरेको छ ।
- सबै अस्पतालहरूमा Centralized Electronic Medical Record-EMR System लागू गरिएको छ । यसलाई थप प्रभावकारी बनाउनको लागि ९ वटा अस्पतालहरुमा आइ.टी. सहायकको व्यवस्था गरिएको छ ।
- स्थानीय तहसँगको समन्वयमा ७० स्थानीय तहमा Family Health Profile तयार गरिएको छ । हालसम्म ३,२२,७७४ परिवारका १२,२१,५७१ सदस्यहरुको विवरण अद्यावधिक गरी व्यक्तिगत स्वास्थ्य संकेत नम्बर प्रदान गरिएको छ ।
- विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली (Electronic Logistics Management Information System: e-LMIS) लाई ८८२ स्वास्थ्य संस्थामा विस्तार गरिएको छ । हाल ९७ प्रतिशत स्वास्थ्य संस्थाहरुले Real Time रिपोर्टिङ गरिरहेका छन् जसले गर्दा e-LMIS को समग्र रिपोर्टिङ दर ९८ प्रतिशत (राष्ट्रिय औषत दर ९५ प्रतिशत ) पुगेको छ ।
- स्वास्थ्य निर्देशनालयबाट गण्डकी प्रदेशको प्राथमिकता अनुरुप स्वास्थ्य क्षेत्रमा खोज तथा अनुसन्धानका कार्यक्रमहरु प्राज्ञिक संस्था, विकास साझेदार एवं सरोकारवालासँगको समन्वय, सहकार्य र साझेदारीमा गर्न प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्ताव छनौटको कार्य भइरहेको छ ।
- स्वास्थ्य क्षेत्रमा भएका अध्ययन अनुसन्धानका नतिजाको सारांश प्रस्तुतिकरणका लागि गण्डकी विश्वविद्यालय र स्वास्थ्य निर्देशनालयबिच सम्झौता गरी मिति २०८१/०९/१९ देखि २१ गते सम्म अन्तराष्ट्रिय सम्मेलन कार्यक्रम तय भएको छ ।
- जनस्वास्थ्य विपद विरुद्धको तयारी र प्रतिकार्य
- गण्डकी प्रदेशका विभिन्न जिल्लामा देखा परेको डेंगु रोगको प्रकोप नियन्त्रण एवं व्यवस्थापनको लागि आपतकालीन प्रतिकार्य टिम,स्वास्थ्य प्राविधिक टोलीका साथै जनप्रतिनिधी र सरोकारवालाहरु समेत खटिई लामखुट्टेको बासस्थान “खोज र नष्ट गर” अभियानलाई समुदायस्तरमा संचालन गरिएको छ । यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट स्वास्थ्य संस्थाहरुमा १६,१६२ किट उपलब्ध गराइनुका साथै प्रदेश मातहतका अस्पतालहरुमा डेंगु रोगको नि:शुल्क परिक्षण र उपचारको व्यवस्था मिलाइको छ । स्वास्थ्य मन्त्रालयबाट डेंगु सम्वन्धी जनचेतनामूलक सचेतना सामग्री (१५,००० प्रति) तयार गरी वितरण गरिएको छ ।
- प्रदेशभर महामारी निगरानी तथा प्रतिकार्य गर्न प्रकोपको शिघ्र सूचना प्रवाहका लागि सर्भिलेन्स आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एण्ड एनालाइसिस प्रणाली (SORMAS) लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइएको छ ।
- समन्वय तथा सहकार्य
- गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुको समाधान र भावी योजनाको कार्यान्वयनको लागि सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूसमक्ष १२ प्रस्तावहरु पेश गरिएको छ ।
- गण्डकी डिजिटल हेल्थको सम्बन्धमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू र माननीय सूचना तथा सञ्चार मन्त्रीज्यू समक्ष प्रस्तुतिकरण गरी सो को कानूनी व्यवस्था एवं कन्द्रीय मापदण्ड र गण्डकी प्रदेशमा थप सहयोगको लागि पैरवी गरिएको छ ।
- मध्यविन्दु जिल्ला अस्पतालको भवन निर्माण कार्य ढिलाई भएकोमा सहयोगी संस्थासँग समन्वय गरी निर्माण कार्यलाई निरन्तरता गर्ने कार्य अगाडी बढेको छ ।
- WHO, GIZ, USAIDS, World Bank, UNFPA, UNICEF, NSI, One Heart International लगायतका साझेदार संस्थाहरुसँग छलफल गरी गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा थप सहयोगको लागि पहल गरिएको छ ।
यसका साथै मैले मन्त्रालय मातहतका प्रादेशिक निकाय एवं जिल्लास्थित अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्रका साथै स्थानीय तह मातहत सञ्चालित स्वास्थ्य संस्थाहरुको स्थलगत अवलोकन भ्रमण गरी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिने र समस्याहरुको पहिचान गरी समाधानको लागि सहजिकरण गर्ने कार्य निरन्तर गरिरहेको छु ।





