पोखरा/ गण्डकी प्रदेश सभाको रिक्त सांसद पदमा स्याङ्जा चापाकोटकी सुनीता थापाको प्रवेश भएको छ । थापालाई शुक्रबार सभामुख कृष्णप्रसाद धितालले पद तथा गोपनियताको सपथ खुवाए भने प्रदेश सांसदको लोगो हस्तान्तरण पनि गरे । सांकेतिक भाषाको दोभासेमार्फत उनले सपथ लिएकी थिइन् ।
नेपाली कांग्रेसबाट समानुपातिक तर्फको सांसद बनेकी म्याग्दीकी बिमला गौचनको गत कात्तिक २८ मा निधन भएपछि उक्त पद रिक्त हुन पुगेको थियो । रिक्त पदमा बन्दसूचीमा रहेका नामबाट क्रम अनुसार नेपाली कांग्रेसले सिफारिश गरेपछि सुनीता सांसद बनेकी हुन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी÷जनजाति महिलामा गौचनको नाम १ नम्बरमा, त्यसपछि क्रमशः पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ र सुनीताको नाम थियो । ४ जना प्रदेश सांसद बन्दा सुनीता भने छुटेकी थिइन । यही मंसिर २५ मा निर्वाचन आयोगले सुनीतालाई समानुपातिक तर्फको सांसदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।

सुनीता प्रदेश सभा सदस्यमा पहिलोपटक अपांगता भएका व्यक्तिको रुपमा पनि प्रवेश गरेकी छन । साथै २०४९ सालमा स्याङ्जाको चापाकोट नगरपालिका( ९ सुन्तलीटारमा जन्मिएकी उनी ६० सदस्यीय प्रदेशसभामा कान्छी सांसदसमेत बन्न पुगेकी छन् । ६ कक्षा पढ्ने बेला ११ वर्षको उमेरमा टाइफाइडको बिरामी भएपछि उनले सुन्ने शक्ति गुमाएकी थिइन् । बोलेको नसुने पनि उनी बोल्न भने सक्छिन । शिक्षा बिषयमा स्नातक उत्तीर्ण हुन् । २०६५ मा एसएलसी उत्तीर्ण भएपछि पोखराको लेखनाथस्थित सिर्जना बहिरा माविमा कक्षा ११ र १२ पढिन् । महेन्द्ररत्न क्याम्पस काठमाडौंबाट स्नातक उत्तीर्ण गरेकी हुन । सुनीता पढाईमा अब्बल रहेको सिर्जना माविका प्रधानाध्यापक सुनीले भण्डारीले बताए । ‘उनले कानमात्र नसुन्ने हुन’ भण्डारीले भने, ‘अरु सबै काममा पोख्त छन् ।’
नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील उनी अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि लामो समयदेखि लाग्दै आएकी पनि छन । साथै अपांगता भएका व्यक्तिहरुको हकअधिकारमा पनि काम गर्दैं आएकी छन । अहिले कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि छन् । सुनीताले जापान पुगेर १० महिने क्षमता अभिबृद्धि तालिम लिएकी छन् । युएनको सहयोगमा विभिन्न देश पुगेर नेतृत्व विकास कार्यक्रममा सहभागी भएकी छन् । राष्ट्रिय बहिरा महासंघ गण्डकीको अध्यक्ष, स्याङजा बहिरा संघको अध्यक्ष, राष्ट्रिय अपांग महासंग गण्डकीको कोषाध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ केन्द्रीय सदस्य भइसकेकी छन् । पछिल्लो समय भने अपांगता भएका व्यक्तिको हकअधिकार स्थापित गर्ने काममा पैरवी गर्दै आएकी थिइन ।

अपांगता भएका व्यक्ति र आवाजविहीनहरुको लागि नीति नियम बनाउन लाग्नेछु– थापा
सपथपछि पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै सांसद थापाले अपांगता भएका व्यक्ति र आवाजविहीनहरुको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताईन । ‘अपांगता क्षेत्रमा कार्यक्रम बनाउने पुलको भूमिका पनि खेल्नेछु’ उनले भनिन्, ‘संविधानमा भएका अधिकार प्रयोग भएका छैनन । ती अधिकार प्रयोग गर्ने कोशीष गर्नेछु । सबैको साथसहयोगको अपेक्षा राख्दछु ।’ उनले बिमला गौचन दिदीको मृत्यप्रति निकै दुख लागेको बताइन । आफुहरु दुखमै रहेको भन्दै त्यो दुखलाई शक्तीमा परिवर्तन गर्ने साहसको कोशिष गरिरहेको उनको भनाई थियो ।
सपथ कार्यक्रममा थापाकी हजुरआमा तिलकुमारी र आमा मैना थापाको पनि उपस्थिति थियो । साथै उर्जामन्त्री फणिन्द्र देवकोटा, उपसभामुख बिनाकुमारी थापा र केही कांग्रेसका सांसदहरुको पनि सहभागिता थियो । गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङले प्रदेशमा पहिलोपटक अपांगता भएको व्यक्ति सांसद भएकाले अव अपांगता क्षेत्रको अधिकार, बहिराको आवस्यकताको पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अव सांकेतिक भाषालाई राष्ट्रिय मान्यता र अपांगता भएका व्यक्तिहरुलाई सवारी चालक अनुमति पत्रको व्यवस्थामा पनि सुनीताले पहल गर्ने जनाए ।

सांकेतिक भाषाको दोभासे राख्नुपर्ने
यसैबीच प्रदेश सभामा बहिरा सांसदको प्रवेशसंगै गण्डकी प्रदेश सभा सचिवालयले सांकेतिक भाषाको दोभासे राख्नुपर्ने अवस्था आएको छ । यसअघि पनि प्रदेश सभाका विभिन्न बैठकमा कुरा उठे पनि व्यवस्था हुन सकेको थिएन । अव भने अनिवार्यजस्तै भएको कांग्रेस सांसद सरस्वती गुरुङले बताइन् । प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले दोभासे राख्नका लागि स्रोत सुनिश्चितता गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बजेटको माग गरिने बताए । ‘अहिलेलाई सांसद थापाकै सहयोगीबाट सहयोग लिने र पछि स्रोत सुनिश्चित भएपछि दोभासे नियुक्ती गरिनेछ,’ उनले भने ।













