पोखरा/१३ औं संस्करणको पोखरा महोत्सवको तयारीस्वरुप महोत्सवका विभिन्न उपसमिति तथा सल्लाहकारहरुको बैठक सम्पन्न भएको छ ।
आगामी पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमिति र सल्लाहकारहरुको बैठक सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै महोत्सवका सल्लाहकार तथा पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले पोखरा महोत्सव सफल बनाउनका लागि वडाले योजनामा नै समेटेर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
महोत्सवका सल्लाहकार दीपक थापाले पोखरा महोत्सव स्थल अमरसिंह चोक आसपास सडक निर्माणको काम भइरहेकाले महोत्सव आयोजना गर्दा त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै सल्लाहकार श्यामकृष्ण श्रेष्ठले महोत्सजमा हाँस्यव्यङ्ग्य कार्यक्रमलाई जोड्नसके दर्शक भित्रयाउन सहयोग पुग्ने वताए ।
सल्लाहकार प्रेम प्रसाद गौतमले पोखरा महोत्सवको आयोजना गरेर समाज सेवा गर्नु आफंैमा महत्वपूर्ण भएकाले पोखरा महोत्सवलाई भव्य र सभ्य बनाउन सबैको सहकार्य आवश्यक रहेको वताए ।
सल्लाहकार तथा समाज कल्याण समितिका अध्यक्ष राजेन्द्रबहादुर कार्कीले समाजकल्याण परिषद्को तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । सल्लाहकार अनिल थापाले पोखरा महानगरपालिका वडा नं ६ र आफ्नो ब्याक्तिगत तर्फबाट समेत सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।
सल्लाहकार बलराम ढुंगानाले अहिले पृथ्वीराजमार्ग निर्माणको क्रममा रहेकाले विभिन्न समस्याहरु उत्पन्न हुने भएकाले त्यस्ता समस्या समाधानका लागि समेत महोत्सव आयोजक तयारी अवस्थामा बस्नुपर्ने बताए ।
नागरिक अगुवा तथा महोत्सवका सल्लाहकार रामबहादुर पौडेलले महोत्सवको पूर्वसन्ध्यामा आयोजना हुने सरसफाइ कार्यक्रमलाई जागरणको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा वोल्दै युनाइटेड क्लबका निवर्तमान अध्यक्ष तथा १३ औं पोखरा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले सल्लाहकार तथा उपसमिति संयोजकहरुको सल्लाहलाई मनन गर्दै १३ औं संस्करणको पोखरा महोत्सवलाई भव्य र सभ्य बनाउन लाग्ने प्रतिवद्धता ब्यक्त गरे । उक्त अवसरमा महोत्सव सल्लाहकारहरु तेजबहादुर गुरुङ, गुप्तबहादुर कार्की, मूल्यांकन व्यवस्थापन उपसमिति संयोजक सुशीलराज पराजुलीलगायतले आ आफ्नो धारणा राखेका थिए ।
युनाइटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोज समितिका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्यसहित बैठकको एजेन्डा प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिए ।





