काठमाडौं / सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्याएको छ । जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले आज खारेज गरेको हो ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।
एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए । सोही तर्ककै आधारमा दिने र लिने सहमत भएको विषयमा अन्यथा सरकारी जग्गा वा विवाद नभएको अवस्थामा अदालत प्रवेश गर्न नमिल्ने ठहर भएको बहसमा सहभागी अधिवक्ता राजाराज घिमिरेले बताए । संयुक्त इजलासले रिट खारेज गरेसँगै अब एमालेलाई उक्त जग्गा पास तथा भवन निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।





