पोखरा/ चितवनको कालिका नगरपालिका ११ सैपाममा रहेको शुभ शान्ति राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेण्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लवले आइतबार एक समारोहका बिच बिद्यालयमै पुगेर एक सय भन्दा बढी छात्र÷छात्रालाई न्यानो (पोलर ज्याकेट) वितरण गरेको क्लवका अध्यक्ष धर्मराज थापाले जानकारी दिए ।
चेपाङ समुदायका बिद्यार्थीलाई यसवर्षको जाडोबाट केही हदसम्म भए पनि बचाउन क्लव र फोन नेपालले न्यानो कपडा वितरण गरेको उनले बताए । आर्थिक अबस्था निकै कमजोर भएका चेपाङ समुदायका बिद्यालयमा १ सय जना बिद्यार्थीहरु भए पनि स्थानिय केही बालबालिका सहित १ सय १० थान न्यानो कपडा वितरण गरिएको अध्यक्ष थापाले बताए । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा रिजन चियर पर्सन एवं कार्यक्रम संयोजक नवराज अधिकारीले दुई वर्षअघि पनि उक्त स्थानमा न्यानो कपडा वितरण गरिएको उल्लेख गर्दै हरेक बर्ष विभिन्न दाताको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा यसरी विभिन्न सामाजिक कार्य गर्दै आएको जनाए । विगत ८ बर्ष देखि बर्षेनी चेपाङ समुदायका बिद्यार्थीहरुलाई चितनका विभिन्न क्षेत्रमा न्यानो कपडा वितरण गर्दै आएको संयोजक अधिकारीको भनाई थियो ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शुन्दर प्रजाले बिद्यालयको आर्थिक अबस्था कमजोर भएको अबस्थामा बिद्यार्थीको लागि जाडोको मौसममा न्यानो कपडा वितरणले स्थानियलाई धेरै राहत भएको बताए । बिद्यालयका प्रध्यानाध्यापक झलक भट्टले आर्थिक अबस्था कमजोर भएका चेपाङ समुदायका बिद्यार्थीको लागि बिद्यालय पोशाक तथा स्टेश्नरी सामाग्रि अति नै आवश्यक हुने बताए । न्यानो कपडा दुई बर्ष पछि पनि पुनः वितरण गर्न आउनु भएकोमा क्लवको टोलीलाई धन्यवादसमेत उनले दिए ।
क्लवका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष इन्द्रमान चौहान, तृतीय उपाध्यक्ष श्याम थापा, सचिव कमल भुजेल, सदस्य राम ढकाल लगायत सहभागिता रहेको थियो । चितवनको मुख्य सडकबाट उत्तरी भेगको १० किलोमिटर टाडाको दुरीमा उक्त बिद्यालय पर्दछ ।





