पोखरा/सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको भ्रमण गर्दा पोखराको समेत भ्रमण गरे । पोखरा भ्रमणपछि फेवातालको चीनमा चर्चा सुरु भयो । त्यसको २६ वर्षपछि अर्थात २०२० मा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आए । चीनले नेपालमा आफ्नो प्रभाव जमाउदै जाँदा २०७३ सालमा चीनको एक्जिम बैंकले २२ अर्ब सहुलियतपूर्ण ऋण पोखरा अन्र्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग ग¥यो । चिनियाँ कम्पनीले नै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ग¥यो । विमानस्थल निर्माणसँगै चीनले पोखरामा आफ्नो गतिविधि बढाउन थालेको छ । गत वर्ष चीनले पोखरामा आफ्नो संस्कृतिसँग जोडिएको खेल ड्रागन बोट रेसको आयोजना ग¥यो । त्यसले यो वर्ष समेत निरन्तरता पाएको छ । केहि महिना अघि मात्रै पोखरामा नेपाल–चीन क्रस कन्ट्री दौडको समेत आयोजना भयो । यी दुई ठूला प्रतियोगिता प्रतियोगितामा मात्रै सिमित छैनन् । यी दुई प्रतियोगितासहित अन्य दुई प्रतियोगितालाई चीनले नेपाल–चीन मित्रताको प्रतिकको रुपमा लिएको छ । यो बाहेक चीनको सिचुआन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरामा आज र भोलि फेवा संवाद हुन लागेको छ । मंगलबार मात्रै पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेसको बारेमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
बुधबार ‘फेवा संवाद’ बारेमा पत्रकार सम्मेलनको आयोजना गरियो । यी दुवै पत्रकार सम्मेलनका एकै उद्देश्य देखिएका छन् । दुवै पत्रकार सम्मेलनमा चीनका पर्यटकलाई पोखरा ल्याउने । चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले आफूहरू पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवद्र्धनका लागि विभिन्न खाले कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको बताएका थिए । नेपाल चिन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै वाङले पर्यटन, संस्कृति र भौतिक विकासका सन्दर्भमा सहकार्य गर्दै जाने आफूहरूको चाहाना रहेको सुनाएका थिए । यस्तै फेवा संवादले कुनै औपचारिक प्रतिवेदन तयार गर्ने छैन तर, राजनैतिक व्यक्तिहरुमार्फत् चीनको सहयोगको भने पक्कै अपेक्षा हुनेछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सिचुआन विश्वविद्यालयका प्रोफेसर तथा नेपालका लागि विश्वविद्यालयको तर्फबाट उपाध्यक्ष गाओ लियाङले फेवातालको चर्चा चीनमा रहेको सुनाए । वि.सं. २०१६ सालमा जन–गणतन्त्र चीनका प्रधानमन्त्री चाउ एन लाइको निमन्त्रणमा प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा गएका थिए । बर्माको भ्रमण गरेर विपि कोइरालासहित नेपाली टोली हङकङ हुँदै विशेष विमानद्वारा पेकिङ (बेजिङ) पुगेको थियो । बेजिङ विमानस्थलमा चीनका प्रधानमन्त्री चाउ एन लाइ र उपप्रधान तथा विदेशमन्त्री मार्शल चेन यी एवं अरू वरिष्ठ नेताहरूले नेपालका प्रधानमन्त्रीको हार्दिक स्वागत गरेका थिए । सोही कुरा स्मरण गराउँदै लियाङले आफुहरुको उद्देश्य पोखरामा चीनिया पर्यटन ल्याउनु रहेको सुनाए । उनले बीपी कोइरालाको चीन भ्रमण र चीनको राष्ट्रपतिको नेपाल भ्रमणपछि फेवाताल चीनमा चर्चित भएको सुनाए । उनले आफ्नो विश्वविद्यालयले गत वर्ष पुनः त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेको सुनाए । त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबिचमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक सहकार्य हुँदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयले ८ वर्षमा सिचुआन विश्वविद्यालयमा करिब दुई सय विद्यार्थीलाई अध्ययनका लागि पठाएको छ । बिहीबार र शुक्रबार पोखरामा ‘फेवा संवाद’ नामक एक कार्यक्रम आयोजना हुँदैछ । चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा हुने सो कार्यक्रमको नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछन् ।
कार्यक्रममा सिचुआन विश्वविद्यालयअन्तर्गत रहेको दक्षिण एसियाली तथा नेपाल अध्ययन केन्द्रको पनि साझेदारी छ । साझेदार नेपाल अध्ययन केन्द्रका कार्यवाहक निर्देशक डा.गाओ लियाङ बुधबार आयोजित पत्रकार सम्मेलनमा उत्तर दिने ठाउँमा थिए । उनले प्रश्नअघि नै चाउ एनलाइको पोखरा भ्रमणको स्मरण गरे । चिनियाँमाझ पोखराको फेवातालप्रति असाध्यै आकर्षण रहेको र यहाँको पर्यटन प्रवद्र्धन एवं जनता–जनताबीच सम्बन्ध स्थापना गर्न यो सम्मेलन आयोजना गरिएको बताए ।
बोल्ने क्रममा उनले भने,‘ अर्को कारण यहाँ एयरपोर्ट छ । अर्को वर्ष हामी नेपाल भ्रमण वर्ष आयोजना गर्दैछौँ र हामी पोखरालाई थप प्रचार गर्न चाहन्छौँ ।’ त्यसो त यहाँ चीन–नेपाल क्रस कन्ट्री दौड तथा संस्कृतिसँग जोडिएको खेल ड्रागन बोट रेसको आयोजना हुँदै आएको छ । यही पुस १३ गतेदेखि फेवातालमो दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस हुँदैछ । डा. लियाङले त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीचमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक सहकार्य हुँदै आइरहेको र फेवा संवाद त्यही सहकार्यअन्तर्गत भएको पनि सुनाए ।
फेवा संवादमा के हुन्छ ?
सन् २०१५ मा त्रिभुवन र सिचुआन विश्वविद्यालयबीच विद्यार्थी आदान–प्रदान सम्झौता भएको छ । सोही सम्झौता अनुसार बितेका वर्षहरुमा त्रिभुवन विश्वविद्यालयका करिब २ सय जना विद्यार्थी त्यहाँ अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्न पुगेका छन् ।
फेवा संवादका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रो. डा. खड्ग केसीका अनुसार फेवा संवाद चाहिँ दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलकुहरुको सहकार्यलाई थप प्रगाढ बनाउन, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना हुँदैछ । संवादमा विषय विज्ञताको आदानप्रदान गर्दै भविष्यमा आर्थिक, सामाजिक र शैक्षिक सहकार्यमा केन्द्रीत गरिने पनि उनले सुनाए । उनका अनुसार सम्मेलन प्राज्ञिक नभएर विज्ञहरुसहितको हो ।
‘हिजो बेलायती उपनिवेशबाट स्वतन्त्र भएका दक्षिण–पूर्वी एसियाका राष्ट्रहरुले कसरी आर्थिक उन्नति गरे,उनीहरु हामीभन्दा कसरी अगाडि गए र सिंगापुर,चीन मलेसियाहरुले गरेको उन्नतिको पछाडि के कारण छ भन्नेबारे यहाँ चर्चा गरिनेछ,’उनले भने,‘ यो ज्ञान उत्पादन गर्ने खालको कार्यक्रम त हैन तर बौद्धिक बहसमार्फत् समाजको उन्नतिको लागि केही नयाँ प्रयास थालनी गरौँ भन्ने चाहिँ हो ।’ उनका अनुसार यो सम्मेलनमा भविष्यमा दक्षिण र दक्षिणपूर्वी मुलुकहरुको सहकार्य एवं अन्तर आवद्धता बढाउने, एसियाली साझेदारी वृद्धिको सम्भावना खोज्ने प्रयास पनि गर्नेछ ।
सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत सोङ छङ पनि सहभागी हुनेछन् । सम्मेलनमा चीनबाट ३०,नेपालबाट २०, भारत, श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेशबाट ३÷३ जनाको सहभागिता रहने छ । सिंगापुरबाट त्यहाँका पूर्वमन्त्री आउनेछन् भने मलेसिया र इण्डोनेसियाबाट पनि विज्ञहरुको सहभागिता रहने छ ।
नेपालको तर्फबाट सम्मेलनमा पूर्वमन्त्रीहरु कमल थापा,डा.युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा.प्रकाशशरण महतलगायतको सहभागिता रहने छ । राजनीतिक नेतृत्व, योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. दीपेन्द्रबहादुर क्षेत्री, डा.विश्व पौडेल, प्रा.डा. गोविन्दराज पोखरेल, पूर्वराजदूतहरुको सहभागिता रहने छ ।
‘सम्मेलन भू–राजनीतिक विषयसँग जोडिएको छैन । यो पवित्र मनले दक्षिणपूर्वी र दक्षिण एसियाली राष्ट्रहरुबीच सम्बन्ध प्रगाढ बनाउन र नयाँ सम्भावना खोजीको लागि समर्पित छ । त्यहाँभन्दा पर सोचेका छैनौँ,’अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिका ज्ञाता प्रा.डा.केसीले भने,‘ज्ञान पनि शक्तिको स्रोत हो । यहाँ कुर्सीमा बसेपछि ज्ञान चाहिँदैन भन्ने सोच छ । समाजको चरित्रसँग व्यक्ति जोडिन्छ नै । हामीले नीति निर्माता तथा राजनीतिज्ञहरुलाई एकै ठाउँमा राखेर विकासका निम्ति साझेदारी र अपाउने रणनीतिबारे सुनाउँदै छौँ ।’





