पोखरा/ काठले छापिएको भुइँ । खाटमा एकजना सिरक ओढेर सुतिरहेका छन् । संगैको टेबलमा केही पुस्तकहरु छन् । सिरानीतर्फ पानीको बोतल पनि छ । भुइँमा एकजोर चप्पल पनि देखिन्छ ।
सामाजिक संजालमा सकरात्मक र नकरात्मक टिप्पणीसहित यतिबेला ‘भाइरल’ बनेको फोटो हो यो । फोटो कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हो भनेर भनिएको छ । लामिछाने हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुुद्धिकरणको आरोपमा पक्राउ परेर हिरासतमा छन् । यो फोटो रास्वपाकै नेता एवं लामिछानेका विश्वासपात्र दीपक बोहोराले सबै भन्दा पहिला सार्वजनिक गरेका थिए । उनले कहाँबाट यो फोटो सार्वजनिक भयो भनेर बोहोराले नै सामाजिक संजाल फेसबुकमा राखेका थिए । त्यसपछि यो भाइरल बन्न पुगेको हो ।
कास्की प्रहरीले भने यस विषयमा अहिल्यै ठ्याक्कै केही भन्न सक्ने अवस्था नरहेको जनाएको छ । ‘यो तस्बिर लामिछानेको होकी जस्तो पनि लाग्छ, हैनकी जस्तो पनि लाग्छ’, कास्की प्रहरीका डिएसपी एवं प्रवक्ता बसन्तकुमार शर्माले भने, ‘हामी पनि कन्फ्युज भएका छौ । यसलाई हेर्दैछौ खोज्दैछौ ।’





