पोखरा / गत कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र कहाँको भन्ने अन्यौल भयो । तर पछि प्रहरी हेडक्वाटरले यो फोटो रवि लामिछानेकै भएको पुष्टि गर्यो ।
सामाजिक सन्जालमा फोटो भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बिहीबार बिहानै टेलिफोन गरी फोटोको वास्तविकताबारे सोधपुछ गरेका थिए । गृह स्रोतका अनुसार जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति रवि नै रहेको बताएका थिए । हिरासतको फोटो बाहिरिएपछि कास्की प्रहरीलाई यसबारे छानबिन गर्न भनेको पनि आईजी कुँवरले बताएको गृह स्रोत बताउँछ ।
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने निकोलस भुसालले उक्त तस्बिर आफूले खिचेको सामाजिक सञ्जाल फेसबुकमार्फत नै बताएका थिए । पछि फेसबुकमा लाइभमा आउँदै उनले उक्त तस्बिर आफूले सीसीटीभी फुटेजबाट लिइएको खुलाएका छन् ।
उनले भनेका छन्, ‘मैले यो फोटो सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हुँ । खास मैले नखिच्नुपर्ने थियो । तर खिचेछु । उहाँ (रवि)को प्रेसर बढेको भन्ने सुनेर म बुझ्न गएको थिएँ, हौसला दिउँ भनेर गएको थिएँ । त्यतिबेला मैले सीसी क्यामेराको फुटेजबाट फोटो लिएको हो । …प्रहरीलाई बद्नाम गराउने मेरो नियत पनि होइन ।’
भुसालले भनेजस्तै उक्त तस्बिर सीसीटीभी फुटेजबाट लिएको देखिएको पनि प्रहरीको आन्तरिक छानबिनले देखाएको छ । ‘हिरासत कक्षमा भेट्न जाने व्यक्तिहरुलाई मोबाइल लैजान नदिने गरेको र फोटोको अवस्था हेर्दा पनि उक्त तस्बिर सीसीटीभीको डेक्सटपमा देखिएको दृश्यबाट दिइएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ।
कास्की प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा ६ वटा हिरासत कक्ष छन् । ती हिरासत कक्षमा करिब २० वटा सीसीक्यामेरा जडान गरिएको छ । रविलाई भने कास्की प्रहरीको दोस्रो तलाको हिरासत कक्षमा राखिएको छ ।
उक्त सीसी क्यामेराको निगरानी कन्ट्रोल रुमबाट गरिएको हुन्छ । कास्की प्रहरीको कन्ट्रोल रुम अर्कै भवनमा गेट नजिक छ । कन्ट्रोल रुममा बरिष्ठ सई र सञ्चार शाखाको निगरानीमा हुन्छ । त्यहाँ २४ सैं घण्टा ‘अन ड्युटी’ हुन्छ । उक्त फोटो कन्ट्रोल रुममा गएर डेक्सटपबाट खिचिएको खुलेको छ ।
स्क्रिनको फोटोको समय हेर्दा उक्त फोटो डिसेम्बर १४ तारिख (मंसिर २९ गते) को दिन दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेण्डमा खिचेको पाइएको छ ।
प्रहरीको २४ सैं घण्टा निगरानीमा हुने उक्त कन्ट्रोल रुमसम्म पहुँच पुर्याएर हिरासतको फोटो खिच्नु र त्यो बाहिरिनुलाई अधिकारीहरु सुरक्षामा गम्भिर कमजोरी भएको बताउँछन् ।
गण्डकी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी भोलाबहादुर रावल भन्छन्, ‘फोटोको बारेमा छानबिन गरेर वास्तविकता पत्ता लगाउन भनेर लेखी पठाएका छौं । सम्बन्धित मान्छेले स्वीकारेको भन्ने कुरा पनि आएको छ । अब त्यतिबेला को-कसको ड्युटी थियो । घटना कसरी भयो भन्नेबारे छानबिनपछि मात्रै खुल्ला ।’ त्यसपछि कारबाहीको विषयमा निर्णय हुने उनी बताउँछन् ।
कास्की प्रहरीका प्रमुख तथा एसपी श्यामबाबु ओलियाले घटनाबारे छानबिन सुरु गरिएको बताए । फोटो के-कसरी खिचे, कसरी एक्सेस पुर्याए भन्नेबारे अहिले छानबिनकै क्रममा रहेकाले केही भन्ने सक्ने अवस्था नरहेको उनी बताउँछन् । खिच्नेलाई हुने कारबाहीबारे पनि अध्ययनपछि मात्रै भन्न सकिने उनले बताए ।
प्रहरीको सुरक्षा घेराभित्र रहेको र हिरासतजस्तो संवेदनशील ठाउँको फोटो बाहिरिनु सुरक्षाको दृष्टिकोणले राम्रो नभएको जानकारहरुको बुझाइ छ । यसमा व्यक्तिको गोपनीयताको कुरादेखि मानव अधिकारका कुराहरु पनि जोडिने र सुरक्षाको दृष्टिले पनि जोखिमपूर्ण मानिने जानकारहरु बताउँछन् ।
नेपाल प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारी भन्छन्, ‘यदि हिरासतकै फोटो बाहिरिएको हो भने सुरक्षाको दृष्टिले राम्रो होइन । फोटो सत्य हो भने यसमा सुरक्षा कमजोरी भएको देखिन्छ ।’





