बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता : मन्त्री थापा

संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता : मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८१, शुक्रबार

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ गर्दै उनले जीवनउपयोगी शिक्षाप्रति ध्यान दिनुपर्ने उल्लेख गरे ।
‘योजना बनाइरहँदा शिक्षामा सुधारलाई अपनाउदै नयाँ ढंगबाट योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी शिक्षाप्र्रति ध्यान दिनुपर्छ । नैतिक शिक्षाको खडेरी छ, त्यसतर्फ हाम्रा योजना अगाडि बढ्नुपर्छ ।’ उनले भने । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेकोले स्थानीय तहले पनि समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए ।
संस्कृति, रहनसहन, भाषा भेषभुषालाई आत्मसात गर्दै विद्यार्थीलाई संस्कारी बनाउने शिक्षामा जोड दिन उनको निर्देशन छ । प्राविधिक र जीविकोपार्जन गर्ने खालको शिक्षालाई जोड दिए नेपालमा नै सम्भावना अधिक रहेको तर्क उनको छ । मन्त्री थापाले प्रदेश सरकारले ल्याएको अभिभावक शिक्षा, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन र परम्परागत भन्दा नयाँ योजना तर्जुमा गर्न स्थानीय तहबाट आएका प्रतिनिधिलाई निर्देशन दिए ।
सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले योजना निर्माणमा पछाडि नपरियोस् भन्ने उद्देश्यस्वरुप कार्याशाला राखिएको जानकारी दिए । उनले यही जेनवरी भित्र नै स्थानीय तहको शिक्षा योजना निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारी स्वरुप नै उक्त कार्यक्रम गरिएको उल्लेख गरे ।
शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले प्रदेश सरकारले बनाएको शिक्षा नीति २०७८ लाई टेकेर शिक्षा योजना निर्माण गर्नुपर्ने बताए । उनी विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न उक्त शिक्षा योजना सहायक सिद्ध हुनेमा विश्वस्त छन् । समर्पित शिक्षक, जिज्ञासुु विधार्थी र सन्तुष्ट अभिभावक शिक्षा योजना आजको आवश्यकता रहेको भनाई उनको छ । कार्यक्रममा लमजुङ र पर्वतका शिक्षा अधिकृतहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->