
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्लाकी न्यायाधीवक्ता कमला काफ्लेले जनाएकी छन् । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा (२७) बमोजिम लामिछानेको सांसद स्वतः निलम्बन हुने भएको हो ।
‘ऐनमा प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने उल्लेख छ ।
२८ करोड बिगो दाबी
यसैबीच लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दावीसहित मुद्धा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुुसार गोरखा मिडियाका पूर्वसंचालक एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीबिरुद्ध ७४ करोड ३४ लाख ७१ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा र ३१ जनाविरुद्ध सहकारी ठगीमा आइतबार मुद्दा दायर गरिएको छ । सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।





