पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम आइतबार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने बताए । राजनीतिक अस्थिरताले नीतिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रोसंग काम गर्न नसक्ने उनको भनाई थियो । मन्त्री गुरुङले आमसंचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवालासंग छलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने बताउदै यस्लाई प्रभावकारी बनाउन सबैको सुझाब आवश्यक रहेको बताए ।
नेपाली कांगे्रस कास्कीका सभापति किशोरदत्त बरालले पत्रकारको स्वाभिमान कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताउदै लोकतन्त्र बलियो हुन पत्रकार स्वाभिमानी हुनुपर्ने बताए । माओवादी केन्द्र कास्कीका इन्चार्ज विश्वप्रकाश लामिछानेले सुशासन र सामाजिक न्यायका लागि पत्रकारिताले कलम चलाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवम गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सक्रिय आफ्नो नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिदै नँया कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना दिइन । अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीले वर्तमान कार्यसमितिको सहि निर्णयमा साथ र सर्मथन र गलत निर्णयमा खबरदारी गर्ने बताए ।
पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष माधव बरालले अग्रज र सल्लाहकारको साथमा महासंघलाई सबै पत्रकारको साझा संस्था बनाइ महासंघको गरिमा उच्च बनाउन आफु नेतृत्वको कार्यसमिति प्रतिबद्घ भएर काम गर्ने जनाए । निवार्चन समितिका संयोजक पुण्य पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवार्चन समितिका सदस्य रविन्द्र बास्तोला र संचालन अधिवक्ता गोविन्द पौडेलले गरेका थिए ।
मंसिर २८ गते सम्पन्न भएको निवार्चनमा अध्यक्षमा माधव बराल, उपाध्यक्ष माधव रेग्मी, उपाध्यक्ष महिला कञ्चन थापा, सचिब भुपाल गुरुङ, सहसचिव मधु अधिकारी, सहसचिव समाबेशी धनबहादुर गुरुङ (सुमन), कोषाध्यक्ष राजाराम पौडेल, कार्यसमिति सदस्य अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल (तारा), सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी, पुष्पराज दाहाल, महिला सदस्यमा कविता घर्तिमगर, दलित सदस्यमा सुरेश सुनार, आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निवाचित भएका हुन । निर्वाचित कार्यसमितिले पहिलो वैठक बसी निवार्चन कमिटिसहित निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन, यसअघि महासंघको सदस्यता प्राप्त गर्नका लागि सिफरिस भएका १८ जना पत्रकारहरुलाई महासंघको सदस्यताका लागि गण्डकी प्रदेश समिति समक्ष पुनः सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।





