पोखरा/पोखरा–२९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए ।
उनका अनुसार माघ १९ गते भव्य कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाईने छ । रजत जयन्तीमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध साँस्कृति कार्यक्रम गरिने छ ।
‘यसवर्ष हामी विद्यलयको रजत जयन्तीको वर्षमा छौं’ न्यौपानेले भने, ‘यो वर्ष शैक्षिक पाटोसँगै विद्यालयले सामाजिक सेवाका गतिविधि पनि सक्रियताका साथ काम गर्ने छौ ।’ रजत जयन्तीकै अवसरमा यसअघि खुइले डाँडामा फलफुलका बिरुवा रोपिएको थियो ।
रजत जयन्तीमा विद्यालयले सोमबार जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियिोगिता सम्पन्न गरेको छ । स्थापनाको २५ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगितामा २४ विद्यालयका ४७ जना तथा विद्यालयको आन्तरिकतर्फ ४६ जनाको सहभागिता थियो ।
प्रतियोगितामा लक्ष्मी आदर्श माविकी रोशनी सुनार प्रथम, सोहि विद्यालयकी विद्या परियार द्धितीय, रिलायन्स पब्लिक माविकी सृष्टी नेपाली तृतीय तथा युनिभर्स माविका आयान रायमाझी, विएमजी माविका अर्पन राई र शिशु कल्याण माविकी सुमी गुरुङ सान्त्वना भए ।
त्यसैगरी विद्यालयको आन्तरिकतर्फ सौगात सुनार प्रथम, प्रदिप मगर द्धितीय, दियस पुन तृतीय तथा श्रेया गुरुङ, सविन सुनार र सुभम शुनार सान्त्वना भए । विजयी विद्यार्थीलाई माघ १९ गतेको कार्यक्रममा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।
प्रतियोगिताको संयोजक नगेन आर्ट एकेडेमीका निर्देशक नगेन सिंह ठकुरी थिए । विजयी विद्यार्थीलाई नगेन आर्ट एकेडेमीमा कक्षा लिन आउनेलाई २५ देखि ७५ प्रतिशतसम्म छुट दिने ठकुरीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले स्वागत र कार्यक्रम संयोजक जनक जमरकट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए ।





