पोखरा/ तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले विविध कार्यक्रम गरी आउदै गरेको सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार भव्यताका साथ मनाउने भएको छ । पोखरा–९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय कार्यालयमा शुक्रवार सम्पन्न तमु समाजहरुसहितको बृहत बैठकले पुसको १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरी तमु ल्होछार मनाउने तयारीमा जुटेको हो।
मुह्री ल्हो (गिद्ध वर्ग) को विदाईसँगै सप्ह्री ल्हो (सर्प वर्ग) आगमनको अवसरमा पुस १३ गते पोखरामा बिहान ल्होछार शुभकामना, सडक दौड प्रतियोगिता तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा आयोजना गर्ने निर्णय गरिएको हो । सडक दौडमा १० किमी खुल्ला र अन्तर तमु समाज टिम इभेन्ट साथै ५ किमी दुरीको दौड महिला, भेट्रान्स र रन फर फन इभेन्ट समावेश गरिएको छ। यसरी नै पुस १४ गते बिहान तमु धिं नेपाल केन्द्रिय आमा समितिको संयोजनमा शुभकामना आदानप्रदान र निःशुल्क स्वास्थ्य शिविर (पाठेघर परिक्षण) गर्ने, बेलुका ५ बजे पोखरा १७ पार्दी बिरौटास्थित तमु ह्युलचोकमा दिप प्रज्वलनसहित ल्होछार साँस्कृतिक साँझ आयोजना र उक्त कार्यक्रम पश्चात तमु धिं नेपालमा स्योकैं एवम विविध कार्यक्रमका लागि तमु धिं जुटेको छ।
यस्तै तमु ल्होछारको दिन पुस १५ गते बिहान ११ः३० बजे मानवअधिकारचोक, चिप्लेढुंगामा भेला भई ल्होछार शुभकामना र्याली २०८१ शुरु भई महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपालमा पुगी ल्होछार विशेष कार्यक्रम गर्ने बताइएकोछ। ल्होछार विशेष कार्यक्रम गण्डकी प्रदेस प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा हुने तमु धिं नेपालका कार्यबाहक अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले जानकारी दिए । तमु धिं नेपालमा आयोजना हुने ल्होछार विशेष कार्यक्रममा बिबिध सम्मान, पुरस्कार बितरण, बिशेष साँस्कृतिक प्रस्तुतिका साथै छेलो प्रतियोगिता आयोजना गरिएको काबा अध्यक्ष गुरुङको भनाई छ । तमु धिले पोखरामा पुस १५ गते आयोजित ल्होछार विशेष कार्यक्रममा सम्मानित पुरस्कृत हुनेहरुमा स्वर्गीय आदिकवी हर्कबहादुर गुरुङ स्मृती कोषबाट साहित्यतर्फ लेखक सुबेदार सुदर्शन गुरुङ घान्द्रुके, समाजसेवातर्फ लक्ष्मीदेवी गुरुङ सिक्लेस, साहित्य प्रवास सुर्ज गुरुङ युके, समाजसेवा प्रवास नानीकमला गुरुङ हङकङरहेका छन् । यसैगरी घनबहादुर गुरुङ स्मृती अक्षयकोषबाट अग्रज पत्रकार राजबहादुर गुरुङ, डा.हर्क–डा.चन्द्र–सन्त उच्चशिक्षा सम्मानबाट सम्राट गुरुङ, कर्णेल तिर्थकुमारी समाजसेवा सम्मान मरणोपरान्त स्व.कर्णेल रामकाजी गुरुङ, सन्तबहादुर गुरुङ स्मृती समाजसेवा सम्मान तमु धिं नेपालका कोषाध्यक्ष गमबहादुर गुरुङ, यसरी नै सुनिल गुरुङ स्मृती कोषबाट रुपा, मिरुवा र मिलिजुली बिजयपुरका तमु बिध्यार्थी र आकृती गुरुङ स्मृती अक्षयकोषबाट खिलाङ गुरुङ समाज, नौलो सम्झना तमु समाज र सुर्यमुखी तमु समाजका बिधार्थीलाई छात्रबृत्ती बितरन गरिने तमु धिं नेपालले जनाएको छ ।
यसरी नै परम्परागत छेलो प्रतियोगिताको बिजेताले २५ हजार र द्वितियले १० हजार रुपैयाबाट पुरस्कृत हुने भएको छ। छेलो बिजेतालाई प्रथम पुरस्कार विगतदेखी गण्डकी प्रदेशका पूर्वमन्त्री बेदबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् । यसअघि तमु धिं नेपालले ल्होछार आउदै गर्दा पुस ५ गते १० जना बिरामीलाई २ लाख ५० हजार रुपैया मेजर जयबहादुर–उदयचन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचारकोषबाट उपचार सहयोग हस्तान्तरण गरिएको थियो।





