पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण मुद्धा दायर गरिएकामध्ये नेपाल प्रहरीका पूर्वडिआइजी एवं गोरखा मिडियाका तत्कालिन संचालक छविलाल जोशीसंग अदालतले बयान लिएर सकेको छ । मंगलबार जोशीको बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाइसंग बयान लिने काम भएको अदालतले जनाएको छ । पछाईको सकिएपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिने तयारीमा अदालत छ । बुधवार सार्वजनिक बिदा परेकाले अदालत बन्द हुने भएकाले विहीबारबाटमात्रै रविको बयान लिन लागिएको हो ।
लामिछाने, जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङबिरुद्ध आइतबारमात्रै मुद्धा दायर गरिएको र सोमबारदेखि अदालतले बयान लिन थालेको हो । उनीहरुसंग बयान लिएपछि थुनछेकको बहस हुनेछ । बहस सकिएपछि अदालतले पुर्पक्षकालागि थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश गर्नेछ ।





