पोखरा/सूर्यदर्शन सहकारी संस्थाको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ मंगलबार पोखरामा पक्राउ परेकी छन । उनी केही समयदेखि फरार रहेकी थिइन् ।
कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले गुरुङ आजै पक्राउ परेको बताए । पक्राउ भए पनि सबै विवरण नआईसकेको उनको भनाई छ । गुरुङले २०६५ देखि २०६८ सम्म उक्त सहकारीको संचालक समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी थिइन् ।
उनीविरुद्ध अदालतमा आईतवार मुद्दा दर्ता भईसकेको छ । उनको कार्यकालमा २ पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार अभियोग–पत्र दर्ता गरेका ४४ जनामध्ये पूर्व प्रदेश सभा सदस्य गुरुङ पनि एक हुन् । उनी एमालेबाट गण्डकी प्रदेश सभामा समानुतिक तर्फको सदस्य थिईन् ।
सूर्यदर्शन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, सहकारीका सञ्चालक जिबी राई लगायत ६३ जना विरूद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ। उनीहरूबाट १ अर्ब ५१ करोड रूपैयाँ असुल्न पनि माग गरिएको छ।
एमालेको मजदुर संगठनमा लामो समय काम गरेकी पोखरा–१२, रानीपौवानिवासी ६३ वर्षीया गुरुङले ०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी हुन । ०७९ को निर्वाचनमा भने उनी प्रत्यक्षतर्फ कास्की–२ ख बाट पराजित भएकी थिइन् ।





