पोखरा/ बागलुङ समाज पोखराको २४ औ वार्षिक साधारण सभा तथा समाज र बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको रमाइलो वनभोज कार्यक्रम बुधवार सम्पन्न भएको छ । सभामा समाजका सचिव गंगबहादुर पुनले आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका गतिविधि र चालु वर्षको मंसिर मसान्तसम्मको प्रगति र भावी कार्यक्रमसहित प्रस्तुत प्रतिवेदन पारित भएको थियो ।
२०८१ को भित्तोपात्रो प्रकाशन, आगोलागीपीडित, बिरामीलाई आर्थिक सहयोग, बागलुङ जिल्लाबाट कास्की तथा गण्डकी प्रदेशको बिभिन्न सार्वजनिक उच्च ओहोदामा पुग्ने बिशिष्ट व्यक्तित्वलाई शुभकामना तथा बधाई दिने कार्यमा समाज सक्रिय रहँदै आएको सचिवको प्रतिवेदनमा छ । यसैगरी बागलुङ जिल्लाबाट उपचारको लागी पोखरा आउने बिरामीलाई मणिपाल शिक्षण अस्पताल र बागलुङ समाज पोखरा बिच बिभिन्न शिर्षकमा १० देखि २५ प्रतिशत सम्म छुटको व्यवस्था हुनेगरी दुई पक्षबीच सम्झौता गरेको, रक्तदान, अन्य संघ संस्थाद्वारा आयोजित कार्यक्रम र सामाजिक भेटघाटमा सहभागिता जनाइएको समाजले जनाएको छ । बागलुङ जिल्लाबाट पोखरामा आई बिभिन्न पेशा, व्यवसाय,गरि स्थायी वा अस्थायी रूपमा बसोवास गर्दै आएकाको संस्था समाज हो । कुनै धर्म, बर्ण, लिङ्ग, जात, समुदाय, तथा राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरिकन एकताको सूत्रमा आबद्ध गरि पारस्परिक रुपमा सामाजिक सदभाव र सहयोग गर्दै बिभिन्न कार्यक्रमको माध्यमबाट सामाजिक, आर्थिक, साँस्कृतिक तथा बौद्धिक क्षेत्रमा योगदान पुर्याउने लक्ष्य लिई २०५७ मा समाज गठन भएको पुनले बताए ।
यसअघि दुवै कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशमा स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सहकार्य समन्वय र भाइचारको नमुनाको रुपमा बागलुङ समाज र सहकारी रहेको उल्लेख गर्दै अझ उदाहरणीय कार्य गर्नका लागि शुभकामना दिएका थिए । साथै प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू सार्वजनिक गरेर काम गरेको बताएका थिए । समाजका पूर्वअध्यक्ष एवम सल्लाहकार कुलचन्द्र शर्माले बागलुङ समाजको हितका लागि एकता, आपसी सहयोग, र साझा प्रयासको खाँचो औल्याउँदै समाजलाई बलियो बनाउन सबै सदस्यको योगदान अपरिहार्य रहेको बताए । सहकारी पनि यसैको उपज भएको उनको भनाइ थियो ।
समाजका अध्यक्ष ठाकुर प्रसाद सापकोटाले सदस्यहरुबीच जमघट छलफल र आत्मियताबाट मात्रै सिर्जनशिल र नविनतम सोचको विकास हुने भएकाले वनभोज, साधारण सभालाई सबैले अपनत्व लिनुपर्ने बताए । अध्यक्ष सापकोटाले आफ्नो कार्यकालमा समाजको कोषमा बृद्धि गर्ने, सामाजिक गतिविधिमा निरन्तर क्रियाशील रहने र बागलुङबाट पोखरा आई बस्नेहरुको अन्य समाज (आंगिक) संग समन्वय गरि अघि बढ्ने योजना सुनाए । कार्यक्रममा एसइइमा उत्कृष्ट अंक ल्याउने समाजका आजीवन सदस्यका छोराछोरीमध्ये छात्रतर्फ रोहन रेग्मी र छात्रातर्फ अनुसा केसीलाइ समाजद्वारा संचालित स्व.प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कार २०८१ प्रदान गरिएको थियो । जनही ५ हजार नगद र प्रमाणपत्रसहितको पुरस्कार स्वर्गीय सापकोटाकी श्रीमती एवं पुरस्कारका संरक्षक रीता सापकोटाले हस्तान्तरण गरेकी थिइन् । सहकारीका सचिव महेन्द्र ढकाल, समाजका उपाध्यक्ष नरेश सुवेदी र पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले पनि आफ्नो भनाई राखेका थिए । समाजजमा ८१५ जना आजीवन सदस्य रहेका छन्





