पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ । गत आइतबार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
मुद्धा दायर गरिएकामध्ये नेपाल प्रहरीका पूर्वडिआइजी एवं गोरखा मिडियाका तत्कालिन संचालक छविलाल जोशीसंग अदालतले बयान लिइसकेको थियो । मंगलबार जोशीको बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाइसंग बयान लिन थालिएको थियो । बुधवा सार्वजनिक बिदा भएपछि उनको बाँकी बयान विहीबार लिएर सकिएको अदालतले जनाएको छ । पछाईको सकिएपछि पूर्वगृहमन्त्री रविको विहीबारबाटै बयान लिन थालिएको अदालतका शाखा अधिकृत ख्यामनारायण लामिछानेले बताए । रविको बयान सकिएपछि थुनछेक बहस सु्रु हुने उनको भनाइ छ । बहस सकिएपछि अदालतले पुर्पक्षकालागि थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश गर्नेछ ।
विहीबार लामिछानेसहित ७ जनालाई कास्की अदालत उपस्थित गराइएको थियो । लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी एमालेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको हो ।





