पोखरा/ कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ । नेपाल विद्यार्थी संघ कास्कीले विहीबारदेखि सदस्यता वितरण अभियान शुरु गरेको हो । पोखराको वन विज्ञान अध्ययन संस्थानमा आयोजित कार्यक्रम बीच नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले सदस्यता वितरण अभियान शुभारम्भ गरे ।
नेपाल विद्यार्थी संघ कास्कीका पूर्वसभापति समेत रहेका सिग्देलले नेपाल विद्यार्थी संघको सदस्यताले विद्यार्थीको सान र मान बढ्ने बताए । निरंकुशता विरुद्व खरो उत्रेको नेपाल विद्यार्थी संघल अब राजनैतिक विकृतिका विरुद्व उत्रने बेला आएको उल्लेख गरे । सदस्यता वितरण अभियानका केन्द्रीय प्रतिनिधि दिनेश शाही र विश्वनाथ मिश्रले विद्यार्थीले राजनीति बुझ्नै पर्ने विषय भएको बताए । नेपाल विद्यार्थी संघ कास्कीका सभापति गौरब बरालले कास्कीमा १० हजार विद्यार्थीलाई सदस्यता वितरण गर्ने लक्ष्य रहेको जनाए । कार्यक्रममा विद्यार्थी नेताहरु सुस्मिता चौधरी, डिफान भुजेल, प्रदिप श्रेष्ठ र विश्वराज पौडेल लगायतले बोलेका थिए ।





