सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भित्तोमा पाठ्यपुस्तक, रमाउँदै सिक्छन् बालबालिका

भित्तोमा पाठ्यपुस्तक, रमाउँदै सिक्छन् बालबालिका


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८१, शनिबार

बागलुङ/बिहिबार बिहान सवा १० बज्दै थियो । काठेखोला गाउँपालिका–८ लेखानीको कादेश आधारभूत विद्यालयको प्राङ्गणको प्रार्थना सकेर स–साना बालबालिका कक्षा कोठामा पसे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारी प्राङ्गणमै थिए । शिक्षक कर्मचारी भने शैक्षिक सामग्री बोकेर उनीहरुकै पछि पछि कक्षा कोठा पुगे ।
विद्यालयमा रहेका पाँच भवनमध्ये बीचको भवनमा सञ्चालनमा छ कक्षा तीन । त्यही कक्षामा पढ्दैछिन् सानिया छन्त्याल । कक्षा कोठामा पसेपछि सानियाले सरासर भित्तामा लेखिएका पठन सामग्री पढ्न थालिन् । उनी बस्ने टेबलमा कपी, किताब र कलम थिए । तर सानियाले न त शिक्षकलाई कुरिन् न किताब र गृहकार्यको कुनै चटारो । भित्तामा देखिएका चित्र सहितका पठन सामग्रीले उनको मन तान्यो । उनी त्यहीँ केहीबेर भुलिन् ।
भित्तामा सामाजिक, विज्ञान, गणित र अन्य विषयसँग सम्बन्धित पढ्न र बुझ्न सकिने सामग्रीहरु कोरिएको छ । कक्षा कोठा पस्ने बित्तिकै कोठामा रहेको वातावरणले सानिया र उनका साथीहरुलाई हरेक दिन ध्यान तान्ने गरेको छ ।
कक्षा कोठा पसेकी शिक्षक सिमा श्रीस पुनले पाठ्यक्रम अनुसार कक्षा सञ्चालनको प्रयत्न गर्दै थिईन् । सानिया र उनका साथीहरु भित्तामा पढ्दै थिए । शिक्षक पुनले उनीहरुलाई आफ्नै ध्यानमा पढ्न छोडिन् । अरु विद्यार्थीलाई किताब हेर्न लगाईन र भित्तामा लेखेको पढ्न थालेकालाई सघाउन थालिन् । ‘किताबको पढाउँदा र गृहकार्य दिएर घोकाउँदा भन्दा उनीहरुकै रोजाइमा पढाउँदा बुझाउन निकै सजिलो हुँदो रहेछ,’ अनुभव सुनाउँदै पुनले भनिन् ‘भित्ते लेखन आकर्षक, चित्रसहितको हुँदा केटाकेटी खुब रमाउँछन् ।’
कादेश आधारभुत विद्यालयको जस्तै दृष्य लेखानीकै काशिराम छन्त्याल प्राथमिक विद्यालयमा पनि देखियो । बालविकास केन्द्रदेखि कक्षा पाँचसम्मका सबै कक्षा कोठामा कोरिएका चित्र तथा पाठ्यसामग्री विद्यार्थीका उपयोगी सामग्री बन्न थालेका छन् ।
‘सिकाई पहिले जस्तो छैन्, किताब, कपी र कलमले पढाउन सकिन्छ तर सिकाउन सकिँदैन्’ कादेश आधारभुत विद्यालयका प्राधानाध्यापक हिराबहादुर छन्त्यालले भने, ‘भित्ते लेखनले कक्षाकोठा सुन्दर बनेको छ, विद्यार्थीका लागि खुराक, शिक्षकका लागि सहयोगी सामग्री ।’
बिवाईसी बागलुङले जिल्लाका जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा सञ्चालन गरिरहेको सिकाई परियोजनाले भित्ते लेखनमा सघाएको थियो । विद्यार्थी संख्याको आधारमा परियोजनाले ५५ विद्यालयमा शिक्षण सिकाईमा सहयोग पुग्नेगरी भित्तेलेखन गरेको छ ।
लेखानीको कादेश आधारभुतमा परियोजनाले सघाएपछि काशिराम छन्त्यालले सिको गरेर आँफ्नै स्रोत साधनको उपयोग गरेर भित्ते लेखन गरेको छ । दुईवटा पालिकाका १ सय २६ विद्यालयमा सञ्चालनमा रहेको परियोजनाले शिक्षण सिकाई र शिक्षक कर्मचारीको क्षमता विकासमा सहयोग गरिरहेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->