पोखरा/बिहीबार र शुक्रबार लगातार दुई दिनमा २८ वटा प्रश्नोत्तरपछि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेसँगको अदालती बयान सकिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि तीनवटा कसूरमा ३१ करोडभन्दा बढी बिगो माग गर्दै हदैसम्मको सजाय मागिएको अभियोगपत्र गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय अदालतमा अभियोगपत्र दायर गरेको थियो । सोही अभियोगत्रपमा सरकारी वकिलको कार्यालयले कारवाही सुरु गर्न सिफारिस गरेको थियो ।लामिछानेको बयान भने बिहिबार र शुक्रबार न्यायधीयश नितिज राईको इजलासमा भएको थियो ।
जहाँ उनले अभियोगपत्रमा समेटिएको बयानलाई नै बल पुग्ने गरी इन्कारी बयान दिए । आफूमाथि आरोप लाग्दादेखि हिरासतमा आइपुग्दासम्म रवि आफ्नो बयानमा अडिग नै देखिएका छन् । भलै, अनुसन्धानका क्रममा उनको हस्ताक्षरसहितको चेक भेटिएपछि उनले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भनेर फरक अभिव्यक्ति दिएका थिए । त्यसअघि चाहिँ उनले आफ्नो कुनै संलग्नता नरहेको र राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएका थिए । उनको दाबी र उनीमाथि दायर अभियोगपत्र अदालतमा प्रवेश गरेको छ ।शुक्रबार लामिछानेले आफ्नो पुरानो अडानलाई दोहो¥याउन छाडेनन् ।
न्यायधीश राईले उनीमाथि लागेका तीन मुद्दामा आधारित रहेर प्रश्न राखे । रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो माग गरिएको छ ।
सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरिएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।
‘यसरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्रबाबुको खातामा रकमान्तर भएको सो रकममध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम पुनः गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा रकमान्तर तथा हस्तान्तरण गर्दै कम्पनीमा अवैध तवरबाट प्राप्त गरी निजले आफ्नो खातामा धारणसमेत गरी पुनः ट्रान्स्फर गरेबाट सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा निजको संलग्नता पुष्टि हुन आयो,’ अभियोगपत्रमा भनिएको छ ।
अभियोगपत्रमा सूर्यदर्शन सहकारीका बचतकर्ताको हानिनोक्सानी पु¥याएको हुँदा उक्त रकम भराइदिनसमेत भनिएको छ । न्यायधीशले उनको बैंक खातामा देखिएको करोडौँ कारोबारबारे प्रश्न गरेका थिए । त्यसका जवाफमा लामिछानेले एउटै रकम राख्ने र झिक्ने गर्दा कुल कारोबार बढि देखिन आएको जवाफ दिए ।
एक अधिवक्ताका अनुसार लामिछानेले अदालतमा भनेका थिए, ‘मेरो खातामा एउटै रकम आउनेजाने भएका कारण कारोबारको एकमुष्ट रकम बढि देखिएको हो । मेरो सार्वजनिक जीवन छ, लुकाउनुपर्ने केही छैन ।’
लामिछानेविरुद्धको अर्को मुद्दा हो, सहकारी ठगी ।
उनीविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर भएको छ । यसमा रविको मात्रै तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
सहकारी ठगीसम्बन्धी प्रश्नमा लामिछानेले कुनै संलग्नता नभएको जवाफ दिए । ती अधिवक्ता भन्छन, ‘उहाँले (लामिछाने) मेरो संलग्नता छैन भन्ने कुरा संसदीय छानविन समितिको प्रतिवेदनको पृष्ठ ४९९ ले पनि भनेको छ । भनेर भन्नुभयो ।’
सहकारीको ब्याज तिर्न काटिएको चेकबारेको प्रश्नमा लामिछानेले कर्मचारीले लगेर चेक जम्मा गरिदिएका हुनसक्ने बताए । कार्यालयमा तलबाट टिप्पणी उठेर आइसकेपछि आफूले चेक काटेर पठाउने बताए भने हस्ताक्षर गरिएका चेकको पनि दुरुपयोग भएको बताए ।
उनीविरुद्ध संगठित अपराधको पनि मुद्दा छ । संगठित अपराधको बारेमा लामिछानेले आफूले कसैसँग मिलेर कसुर नगरेको दाबी गरे ।
‘राजनीतिक प्रतिशोधका आधारमा निमोठ्ने काम भएको छ । कुनै संलग्नता छैन । खाए मासेको होइन । फर्म भरेको होइन, ऋण लिएको छैन,’ लामिछानेको भनाई उधृत गर्दै अधिवक्ताले भने,‘मैले कसैसँग मिलेमतो गरेर सहकारीको रकम ल्याउने, अपचलन गर्ने कार्यमा मेरो संलग्नता छैन । त्यसो नगरेका कारण संगठित अपराध हुन सक्दैन । त्यसकारण संगठित अपराधमा मागदाबी बमोजिमको सजाय हुनुपर्ने होइन । कसुर गरेको छैन ।’
अन्य प्रश्नमा पनि लामिछानेले अभियोगपत्रमा भएका कुरा दोहो¥याए भने कतिपय प्रश्नचाहिँ आफूलाई नभइ जिबी राईलाई सोधिनुपर्ने बताए ।
लामिछानेअघि उल्लेखित मुद्दामा छविलाल जोशी, लिला पछाईँको बयान सकिइसकेको छ । अब हिरासतमा रहेका कृष्णप्रसाद गुरुङ, मिना गुरुङ, आरती गुरुङ र रामबहादुर खनालको बयान बाँकी छ ।
सबैको बयान सकिइसकेपछि बल्ल थुनछेक बहस सुरु हुनेछ । बहस सकिएपछि अदालतले सामान्य तारेख, धरौटी, वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्नेछ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ । उनीहरु विरूद्ध १ अर्ब ५१ करोड रूपैयाँ बिगो माग गरिएको छ ।





