पोखरा/ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिका आधारमा संविधान संसोधन गरिने बताएका छन् । संविधान संसोधन मुख्यगरी कानूनसंग सम्बन्धित रहने उनले जनाए ।
कास्कीको माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै गुरुङले यस्तो बताएका हुन् । ‘सरकारमा रहेका प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ,’ उनले भने, ‘संयन्त्रले संविधान संशोधनका लागि प्रक्रियागत कामलाई पहिलो प्राथमिकतामा राखेर गर्नेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।’ संविधानको मुल मर्म भन्दा पनि संविधान र संघीयता कार्यान्वयनमा देखिएका अवरोध हटाउने कानूमा केन्द्रीत रहेर संविधा संसोधन गरिने उनले बताए । संयन्त्रले संविधान कार्यान्वयनमा देखिएका कानूनी अवरोधको पनि अध्ययन गर्नेछ ।

सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जनाए । उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हुनु सकारात्मक रहेको भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । ‘ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ’, मन्त्री गुरुङले भने, ‘सरकार सुशासन कायम गर्न पनि लागिपरेको छ ।’ उनले सहकारी ठगीमा संलग्न कोही पनि नउम्किने दावी गरे ।
त्यस अवसरमा स्वीट्जरल्याण्डको किसानहरुको संस्था एहमान स्टिफटुङको ५ करोड आर्थिक सहयोगमा निर्माण भएको दिवा सेवाकेन्द्र भवन स्थानीय आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङ र उनका दाजुभाइले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए । उक्त जग्गामा ४ भवन बनेका छन् । केन्द्र ३ महिनापछि संचालनमा आउनेछ ।





