पोखरा/ पोखरा महानगरपालिका– १६ स्थित कुरचिन्ने खर्क सामुदायिक वन उपभोक्ता समुहको ३० औं साधारण सभा एवम् चौधौ अधिवेशन उद्घाटन समारोहमा एकसय चार वर्षकी भिमाकुमारी बास्तोलालाई सम्मान गरिएको छ ।
प्रत्येक वर्ष साधारण सभामा वन समुहभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा बास्तोलालगायत ८५ वर्षिया ढाटी बस्नेत र ८१ वर्षका मिनबहादुर बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै वन समुहले वन तथा वातावरणको संरक्षणसंगै समाजको आर्थिक एवम् सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । वन कार्ययोजना र विधानको पूर्णरुपमा पालना गर्ने हो भने वनपैदावार उपयोगमा कुनै पनि समस्या नपर्ने बताउँदै उनले मुलुकको वन क्षेत्रलाई समृद्धिसंग जोड्ने खालका उद्यम सञ्चालन गर्न सरकारको ध्यान जानुपर्ने आवश्यकता औल्याए ।

महासंघ गण्डकी प्रदेशका सदस्य एवम् समुहका सल्लाहकार जितबहादुर बस्नेतले सहरको नजिक रहेको हुँदा चोरीशिकारीबाट वन तथा वन्यजन्तुको संरक्षणमा चुनौती बढ्दै गएको उल्लेख गरे । समुहका अध्यक्ष रमेश वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मिनु वस्नेत, कोषाध्यक्ष झलकबहादुर बस्नेत, निलबहादुर बस्नेत, रमेशबहादुर वस्नेत लगायतले संरक्षण गरेको वनलाई उपयोग गर्ने नीतिको खाँचो औल्याए । कार्यक्रममा लुकीछिपी दाउरा चोरी गर्ने स्थानीय ६ जनालाई आगामी दिन प्रवेश नगर्ने सर्तमा जफत गरिएका हसिया फिर्ता गरिएको थियो ।





