पोखरा/२०२२ सालमासुुरु भइ २०३० सालमा सम्पन्न पृथ्वी राजमार्गले पोखरालाई काठमाडौंसँगमात्र जोडेन, चिनियाँहरुसँग परिचित पनि गरायो । त्यसो त, सडकसँगै पोखरा–बागलुङ राजमार्ग एवं पोखराको सेती जलविद्युत तथा सिंचाइ योजना पनि चिनियाँ सहयोगबाटै बने । राजमार्ग र नहर बन्ने बेला पोखरेलीहरुले चिनियाँहरुलाई नजिकबाट देखे । उनीहरुको परिश्रमी स्वभावको मुक्तकण्ठले प्रशंसा पनि गरियो । पछिल्लो समयमा चाहिँ पोखरा एयरपोर्ट निर्माणमा भएको सहयोगका कारण चीन पोखरामा चर्चित बन्यो । एयरपोर्ट बन्नुअघि नै चीनका विभिन्न सहरहरुले पोखरा महानगरसँग भगिनी सम्बध गाँस्न सुरु गरिसकेका थिए । चीनका कुनमिङ,छेन्दु, ग्वान्जाओ,निनाङलगायतका नगरसँग पोखराको भगिनी सबन्ध रहेको छ । यही सम्बन्धमा टेकेर पोखराका जनप्रतिनिधि, कर्मचारी, कलाकार लगायतले पटक–पटक चीन भ्रमण गर्दै आएका छन् । चीनको पोखराप्रतिको चासोको कथा भने करिब ६३ वर्ष पुरानो छ ।
‘…मैले बोलाउँदा जब चू एन लाइ अतिथि भएर आएका थिए, मैले उनलाई पोखरा लगेको थिएँ । पोखरामा सिमेन्टको बाँध बन्दै थियो । त्यो हेरेर चू एन लाइले के भन्यो भने, ‘तपाईंहरूलाई सिमेन्ट बाहिरबाट मगाउनुपर्छ, यत्रो खर्च गरेर प्लेनबाट ल्याउनुपर्छ । ढुवानी गर्ने बाटो छैन। यसो गरेर किन बनाउनु हुन्छ । माटोले नै किन बनाउनुहुन्न । त्यसले बढता समात्छ । पहाडमा माटोको बाँध बनाउँदा पहाडको माटोसँग मिल्ने किसिमको हुँदा त्यसको पकड ज्यादा हुन्छ । सिमेन्टको भयो भने ठूलो बाढी आयो भने टुट्छ ।’त्यो त प्रमाणित नै भयो ठूलो बाढी आयो र बाँध टुट्यो । यसको कुराले मलाई प्रभावित ग¥यो, सिमेन्टको औचित्य कायम रहन सकेन ।’
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेको प्रसंग हो, यो । र, यहाँ बीपी चून एन लाई भनेर संवोधन गरिएका व्यक्ति चिनियाँ प्रधानमन्त्री चाउ एन लाइ हुन् । जसले बिपी कोइराला प्र्रधानमन्त्री भएको बेला २०१७ साल वैशाख १४ देखि १७ गतेसम्म नेपालको राजकीय भ्रमण गरेका थिए र सोही उपक्रममा पोखरा आएर बीपीसँगै डुंगामा बसेर फेवातालको सयर गरेका थिए ।
त्यसो त, चाउले यसअघि नै २०१३ साल माघ १२ देखि १६ गतेसम्म नेपालको भ्रमण गरिसकेका थिए । २०१६ सालको फागुन २३ गते नेपालबाट चीनको भ्रमणमा निस्केका तथा बर्मा हुँदै २७ गते चीन झरेका बीपी र चाउबीच बेइजिङमै आत्मिय सम्बन्ध गाँसिएको थियो । चैत १३ गतेसम्मको चीन बसाइमा चाउले बीपी र धर्मपत्नी सुशीलासँग लामो समय बिताएका थिए । नेपाल र चीनबी दौत्य सम्बन्ध स्थापनापछि चीनले नेपाललाई आर्थिक सहयोग दिने भयो । बीपी प्रधानमन्त्रीको रुपमा भारत जाँदा १८ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो । चीनले भने १० करोडमात्रै दियो । बीपीका अनुसार चिनियाँ राष्ट्रपति माओ नेपाल चीनभन्दा भारतसँग नजिक होस् भन्ने चाहन्थे रे । भारत नचिढियोस् भनेर नै उनीहरुले माग्दा पनि कम रकम सहयो गरेका रे !
यही पुसको पहिलो साता पोखरामा आयोजना भएको ‘फेवा डायलग’ बारे जानकारी दिने क्रममा सिचुआन युनिभर्सिटीअन्तर्गतको नेपाल अध्ययन केन्द्रका उप निर्देशक काओ लियाङले बीपी र चाउ एन लाइको त्यो मित्रताको स्मरण गरेका थिए । फेवातालमा आफ्नो देशका प्रधानमन्त्रीले धेरै अगाडि डुंगा सयर गरेकाले पनि फेवातालप्रति चिनियाँहरुको चासो र प्रेम रहेको उनको भनाइ थियो ।
पोखराप्रति चिनियाँको यति साह्रो चासोको गुह्य कारण चाहिँ यहाँ रहेका तिब्बती शरणार्थी र आफ्नो सुरक्षा चासो नै हो । त्यसैले उनीहरु यो वा त्यो बहानामा पोखरा केन्द्रीत गतिविधिहरु संचालन गरिरहेका भारतको जेपी जिन्दल ग्लोबल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनरत आरोग्यमोहन काफ्ले बताउँछन् । पछिल्ला दिनमा चीन खासगरी खेलकुदमार्फत् पोखरासँग जोडिने अभियानमा रहेको उसका गतिविधिहरुले देखाएका छन् । २०८० सालको असारको पहिलो साता फेवातालमा पहिलो पटक नेपाल–चाइना ड्रागन बोट फेस्टिभलको आयोजना भयो । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको बोट रेस फेस्टिभलमा नेपालसहित चीन, सिंगापुरका गरी आठ टिमले भाग लिएका थिए । प्रतियोगिता भर्न चिनियाँ खेलाडीहरु चार्टर्ड विमानबाट पोखरा झरेका थिए । अजिङ्गरको टाउका (ड्रागन) हालिएको डुंगा पनि उनीहरुले चीनबाटै ल्याएका थिए ।
चिनियाँ लुनार क्यालेण्डरको पाचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिभलको आयोजना गरिन्छ ।चिनियाँहरु पात्रोको पाँचौं महिनालाई प्रेत÷पिशाच महिना मान्छन् । चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यो चाड मनाइन्छ । ‘डुआन्वु जी’ को बेला सार्वजनि बिदा दिइन्छ । युनेस्कोले सन् २००९ देखि यो पर्वलाई अमूर्त सांस्कृतिक सम्पदामा दर्ज गरेको छ । युनेस्कोको आधिकारिक वेवसाइटका अनुसार यो पर्वको इतिहास कवि छु युआनको आत्महत्यासँग जोडिएको छ ।
पुुस चिनियाँ पात्रोको पाँचौँ महिना त हैन तर चीनले यसपटक अंग्रजी वर्षको बिदाइको बेला नै ड्रागन बोट फेस्टिभलको आयोजना गर्ने निर्णय ग¥यो ।गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आइतबार सुरु भएको दौडको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ,पोखराका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीलगायतले मन्तव्य राखेका थिए । बोट रेसको तयारीबारे चिनियाँ राजदूत चेन सोङले नै विशेष चासो राखेका थिए ।सहभागी हुने चिनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १२९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको चार्टर्ड विमान पोखरा आएको थियो । दुई दिन चल्ने प्रतियोगितामा नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी छन् । २०० मिटर र ५०० मिटर दूरीमा हुने प्रतिस्पर्धामा विजेता समूहले समान ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेताले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गर्नेछन् । सहभागी समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ । प्रतियोगिताको सोमबार समापन हुनेछ ।
मंसिरमा चीनले यहाँ अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री दौडको आयोजना गरेको थियो । चिनियाँ दूताबास मुख्य आयोजक रहेको यो प्रतियोगितामा चिनियाँ खेलाडीहरु जहाज चार्टर्ड गरेर पोखरा झरे त्यसयता लगातार दुईपटक पोखरामा क्रस कन्ट्री दौडको आयोजना भइसकेको छ । फेवा डाइलग पनि चिनियाँ चासोकै एक रुप भएको चीन पछिल्लो समय जनस्तरमा सम्बन्ध बिस्तारमा अग्रसर भएको रुपमा यी कार्यक्रमहरुलाई बुझ्नुपर्ने अन्तर्राष्ट्रिय आर्थिक र भूराजनीतिक सम्बन्धका जानकार तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको भनाइ छ ।
२०८० सालको असोजमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच प्रचण्डको चीन भ्रमणको क्रममा भएको आठ बुँदे सहमतिमा नै दुई देशबीच जनस्तरमा सम्बन्ध बिस्तार गर्ने बाटो खुलेको थियो । सोही भ्रमणको क्रममा भएको सहमति अनुसार चीनले पोखरामा पनि चिनियाँ भाषा शिक्षकहरु पठाउन थालेको छ ।
चिनियाँहरुले पोखरामा आएर खेतिपातीदेखि विभिन्न व्यवसाय गरिरहेका छन् । चीनसँग सम्बन्ध बिस्तारको लागि पोखराका मेयर धनराज आचार्य नै बढी क्रियाशिल देखिएका छन् । चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भ जोड्दै उनी यस्ता कार्यक्रमलाई चिनियाँ सदाशयता भएको बताउँछन् । यस्ता कार्यक्रमले चिनियाँ पर्यटक बढ्ने मेयर आचार्यको जिकिर छ । यहाँका पर्यटन व्यवसायी पनि चिनियाँ पर्यटक बढे राम्रै हुने धारणा राख्छन् ।
अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी आरोग्यमोहन काफ्ले चाहिँ पोखरा र नेपालप्रति देखिएको चिनियाँ चासो सुरक्षा र भू–मार्गबाट दक्षिण एसियाली राष्ट्रसँग व्यापारको चाहनाले परिलक्षित भएको ठान्छन् । ‘हालै प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पनि त्यो चासो व्यक्त भएको छ । शक्तिराष्ट्रहरु आफ्नै स्वार्थबाट निर्देशित हुन्छन्,जहाँसम्म पोखराको कुरा छ,सम्बन्धहरु आफ्नो हितमा हुनुपर्छ । घुम्नकै लागि भगिनी सम्बन्ध स्थापना गर्ने र विदेशीलाई उनीहरुले भने अनुसारकै वातावरण मिलाउँदा भविष्यमा के हुन्छ भन्ने भुल्नुहुँदैन, ’उनी भन्छन्, ‘आज चीन आयो, भोलि अमेरिका वा भारत आउँछ । परराष्ट्र सम्बन्धहरु समानखाले र आफ्नो हित अनुकूल हुनुपर्छ ।’





